किन काकाकुल बन्यो पूर्वपश्चिम राजमार्गको अमिलिया ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १६, २०७५
|
|
२२ पटक हेरिएको
Shares
किन काकाकुल बन्यो पूर्वपश्चिम राजमार्गको अमिलिया ?

सारांश

  • विष्णुकुमार देवकोटा दाङ, १६ बैशाख ।
  • गर्मीयामको वैंश चढेसँगै पूर्वपश्चिम राजमार्गको महत्वपूर्ण स्थान अमिलिया काकाकुल बनेको छ ।
  • बाँकेबाट दाङ छिर्ने नाकाको रुपमा रहेको सामरिकरुपमा महत्वपूर्ण अमिलिया सुदूरपश्चिमदेखि उत्तरमा राप्ती राजमार्ग एवं पूर्व मेचीसम्म पुग्ने महत्वपूर्ण नाका समेत हो ।

विष्णुकुमार देवकोटा

दाङ, १६ बैशाख । गर्मीयामको वैंश चढेसँगै पूर्वपश्चिम राजमार्गको महत्वपूर्ण स्थान अमिलिया काकाकुल बनेको छ । बाँकेबाट दाङ छिर्ने नाकाको रुपमा रहेको सामरिकरुपमा महत्वपूर्ण अमिलिया सुदूरपश्चिमदेखि उत्तरमा राप्ती राजमार्ग एवं पूर्व मेचीसम्म पुग्ने महत्वपूर्ण नाका समेत हो ।

साविकको सतवरिया गाविस अन्तर्गतको भूभाग पर्ने अमिलिया स्थानीय तह गठन भएसँगै लमही नगरपालिका वडा नं ९ मा पर्दछ । दैनिकजसो हजारौं सवारीसाधनहरु आवतजावत गर्ने पूर्वपश्चिम राजमार्गको महत्वपूर्ण मानिने अमिलियाको व्यथा भने बेग्लै छ । अमिलिया क्षेत्रमा बसोबास गर्ने करीब १८० घरपरिवारहरु गर्मी बढेसँगै शुद्ध पिउने पानीको अभावमा दैनिक कष्टकर जीवन व्यतीत गर्न अभिशप्त छन् ।

खानेपानीको लागि स्थानीयहरु नेपाल प्रहरी र अन्य घरको कुवामा भर पर्नु परेको स्थानीय लालु चौधरीले बताए । “हामीलाई बिहान र बेलुका निश्चित समयमा इलाका प्रहरी कार्यालय अमिलियाले खानेपानी उपलब्ध गराउँदै आएको छ”, स्थानीय कल्पना चौधरीले भनिन् । इलाका प्रहरी कार्यालय अमिलियाको वरिपरिका ५० घरपरिवारहरुलाई बिहान ७ बजेदेखि ८ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म पानी भर्न दिने गरेको प्रहरी निरीक्षक भरत सिंह राठोरले बताए ।

“यहाँको मुख्य समस्या खानेपानी र नेपाल टेलिकमको नेटवर्क हो”, राठोरले भने । स्थानीयवासीसँग मित्रवत् व्यवहार तथा जनता र प्रहरीको सुमधुर सम्बन्ध स्थापनाको सन्देश दिन स्थानीयवासीको खानेपानीको समस्या समाधानका लागि प्रहरीले खानेपानी उपलब्ध गराएको हो । खानेपानीको समस्या अमिलियामा बर्षौदेखिकै हो ।

हाल आएर नेपाल सरकारले खानेपानीको सम्भाव्यता अध्ययन गर्न भनेर ३ लाख रुपैयाँ विनियोजन गरेको वागेश्वरी वालुवा प्रशोधन उद्योगका प्रोप्राइटर पूर्णबहादुर बस्नेतले जानकारी दिए । स्थानीय, प्रदेश र संघको निर्वाचन भइसकेपछि खानेपानीको समस्या समाधान गर्छु भन्ने नेताहरु पुनः फर्किएर नआएको स्थानीय श्याम बस्नेतले आरोप लगाए ।

सबै क्षेत्रलाई जोड्ने संगमस्थल मानिए पनि यो क्षेत्र सधैं सबैको उपेक्षामा परेको स्थानीय कृष्ण चौधरीले दुखेसो पोखे । “आपतकालीन अवस्थामा फोन गर्दा नेपाल टेलिकमको नेटवर्क हुँदैन”, चौधरीले भने । दैनिक यात्रा गर्ने यात्रुहरुको सुविधाका लागि होटेलहरु सञ्चालनमा रहेका छन् तर पानीकै अभावका कारण सरसफाईमा समस्या उत्पन्न हुने गरेको गाडी चालक मनोज रजौरेले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?