एटीएमबाट ननिस्किएको पैसा समेत खाताबाट गायब !

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २६, २०७५
|
|
२७ पटक हेरिएको
Shares
एटीएमबाट ननिस्किएको पैसा समेत खाताबाट गायब !

सारांश

  • काठमाडौं, २६ वैशाख ।
  • “हतारोमा एटीएम कार्ड चलाएको थिएँ ।
  • ‘टेक योर कार्ड एण्ड कलेक्ट योर क्यास’ भन्ने आदेश दियो मेसिनले, खर्‍याङ–खर्‍याङ गरेर ठूलो आवाजमा मेसिन करायो ।

काठमाडौं, २६ वैशाख । “हतारोमा एटीएम कार्ड चलाएको थिएँ । ‘टेक योर कार्ड एण्ड कलेक्ट योर क्यास’ भन्ने आदेश दियो मेसिनले, खर्‍याङ–खर्‍याङ गरेर ठूलो आवाजमा मेसिन करायो । लौ है अबचाहिँ पैसो निस्क्यो भनेर पैसो निस्किने प्वाल तिर हेरेँ, पैसो दिँदैन त ।

मोबाइलमा बैंकले एसएमएस पठाइसक्यो ‘तैंले फलानो ठाउँबाट यति पैसा झिकिस्’ भनेर । फेरि पुरक मेसेज आयो ‘तेरो पैसा फिर्ता भो भनेर । पैसा अति जरुरी थियो । फेरि कार्ड घुसाएँ र पूरा गर्नुपर्ने विधि सबै पुर्‍याएँ । फेरि उही आदेश अनि आवाज । पैसा निक्लिने प्वाल खुल्दै खुलेन । फेरि एसएमएसले उही कुरो दोहोर्‍यायो । यो सोमबारको कुरो हो ।

मंगलबार बिहान ब्यालेन्स चेक गरेँ, अकाउन्टबाट गायब । बैंकमा गएर बुझ्दा ४५ दिनमा मात्र पैसा फिर्ता हुन्छ, भन्ने जवाफ आयो । अनिकालको पैसा ४५ दिन बैंकले निर्ब्याजी चलाउने भयो । आफ्नो गोजी रित्तो छ । गल्ती तिनको, सास्ती मैले भोग्नु पर्ने यो के चाला हो रु बुझ्नै सकिनँ, यस्तै रहेछ बैंकको चलन ।”

यो गुनासो हिमालयन बैंकका एकजना ग्राहक चन्द्र तामाङको हो । उनले हिमालयन बैंकको एटीएम भिजा कार्ड ग्लोबल आईएमई बैंकको एटीएम मेसिनमा प्रयोग गर्दा यो समस्या देखिएको हो ।

यो एक प्रतिनिधिमूलक घटना मात्रै हो । यसरी एउटा बैंकको भिसा कार्ड आफ्नो बैंकभन्दा अर्को बैंकको एटीएम मेसिनमा प्रयोग गर्दा बैंक खाताबाट पैसा घट्ने, पछि फिर्ता भएको जानकारी आउने, तर समयमा खातामा पैसा फिर्ता नहुने समस्या पछिल्लो समय बढिरहेको छ ।

माथिको समस्याको विषयमा हिमालयन बैंकसँग बुझ्दा कहिलेकाँही यस्तो समस्या आउने, तर प्रक्रियामा जाँदा लामो समय लाग्ने जवाफ आयो । एटीएम शाखाका एक कर्मचारीका अनुसार बैंकको भिसा कार्ड अर्को बैंकको एटीएमममा प्रयोग गर्दा कहिले काँही पैसा दिँदैन, तर तत्काल खाताबाट पैसा घट्छ । कुनैबेला तत्काल पैसा फिर्ता हुन्छ, फिर्ता नभए सम्बन्धित बैंकलाई भन्नुपर्दा ढिलाइ हुन्छ।

छिटो छरितोका लागि हतारका बेला प्रयोग गर्ने एटीएमबाट यसरी पैसा कयौं दिन गायब हुँदा बैंकले समाधानका बारेमा भने सोच्दैन ।

निजी क्षेत्रका बैंकहरूको छाता संगठन नेपाल बैंकर्श एसोशिएनका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले यो प्राविधिक समस्या भएकाले बैंकहरूले भनेजति छिटो समाधान गर्न नसक्ने बताए ।

उनले भने, ‘यो प्राविधिक समस्या हो, कहिलेकाँही सबै बैंकहरूले यो समस्या बेहोर्नुपरेको हुन्छ, ग्राहकलाई मात्रै होइन यसले बैंकहरुलाई पनि झन्झटमा पारिरहेको हुन्छ ।’

लामो समयदेखि देखिइरहेको यो समस्याबारे बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकले चासो दिएको देखिँदैन । राष्ट्र बैंकले पनि यसलाई प्राविधिक समस्या भन्ने, तर समाधानका लागि चासो नदेखाउने गरेको छ ।
राष्ट्र बैंकका निर्देशक नारायण पौडेलले लामो समयदेखि देखिएको यस्तो समस्या देखिएको स्वीकार्दै यो त सम्बन्धित बैंककै समस्या हो भन्ने जवाफ दिए । ‘यो समस्या प्राविधिक हो, नीतिगत समस्या होइन, सम्बन्धित बैंकसँग बुझ्नुस् ।’

नेपाली बैंकिङ प्रणाली प्रविधिमा अझै पनि पूर्ण अभ्यस्त हुन नसक्दा समयमा यस्ता समस्या समाधान नहुने जानकारहरू बताउँछन् ।

यसका लागि नियामक निकायले चनाखो भई समाधानका लागि नीति बनाउनुपर्नेमा विज्ञहरूको जोड छ ।

(लोकान्तरमा  मनीषा अवस्थीले लेखेकि छन ।)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?