मध्यपूर्वकी नेपाली मोडल चाँदनी

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २४, २०८०
|
|
२७ पटक हेरिएको
Shares
मध्यपूर्वकी नेपाली मोडल चाँदनी

सारांश

  • काठमाडौं ।
  •  मध्यपूर्वी देशहरू नेपालमा खासगरी नेपाली कामदार काम गर्न जाने गन्तव्यका रूपमा चिनिन्छन् ।
  • संयुक्त अरब इमिरेट्स (यूएई)को पहिचान पनि नेपालमा लगभग त्यही नै हो भन्दा हुन्छ ।

काठमाडौं । मध्यपूर्वी देशहरू नेपालमा खासगरी नेपाली कामदार काम गर्न जाने गन्तव्यका रूपमा चिनिन्छन् । संयुक्त अरब इमिरेट्स (यूएई)को पहिचान पनि नेपालमा लगभग त्यही नै हो भन्दा हुन्छ । यो देश पनि नेपाली श्रमिकको गन्तव्यस्थलका रूपमा बढी चिनिन्छ ।
हुन पनि प्रायः नेपाली यी देशमा कामकै सिलसिलामा त्यहाँ पुग्ने गरेका छन् । खाडी मुलुक भएकाले कडा नियमसँगै तडकभडकबिनाको जीवनशैली भन्ने पहिचान त छँदै छ । त्यसैले पनि यी देशमा मोडलिङको काम या व्यवसाय के होला भन्ने प्रश्न उब्जिनु स्वाभाविकै हो ।
तर, कामकै सिलसिलामा यूएई पुगेर पनि आफ्नो अर्कै पहिचान बनाएको नेपाली नाम हो, चाँदनी । कामका लागि त्यहाँ पुगेर पनि आफ्नो रुचिअनुसारकै काम गर्न र त्यसलाई व्यवसायमा ल्याउन उनी सफल भएकी छन् । बाल्यकालदेखि नै चलचित्रकी सौखिन चाँदनी पाठक दुबईकी यस्तै एक व्यावसायिक मोडल हुन् । अहिले उनले आफ्नो पहिचान नेपाली गन्तव्य मुलुककी एक सफल मोडलका रूपमा स्थापित गरिसकेकी छन् ।

सन् २००९ मा आयोजना भएको ‘मिस नेपाल’मा सहभागी भएपछि उनको मोडलिङको यात्रा सुरु भएको हो । अन्तिम पन्ध्रसम्मको यात्रा तय गरेपछि पाठक बाहिरिइन् । त्यसपछि उनले म्युजिक भिडियोमा अभिनय, नृत्य निर्देशनलाई निरन्तरता दिइन् । त्यसरी सुरु भएको उनको सोख अहिले व्यवसायमा परिणत भएको छ । अहिले यूएईकी एक सफल मोडलका रूपमा उनी यहाँका नेपालीमाँझ परिचित छिन् ।
‘मैले अभिनयसँगै नृत्य निर्देशनलाई पनि अगाडि बढाएँ । चार वर्षसम मोडलिङसँगै जोडिएको विधामा सक्रिय रहँदा नै कामकै सिलसिलामा दुबई पुगेकी हुँ’ मोडल पाठकले भनिन् ‘एक वर्षका लागि तय भएको गन्तव्य अहिले कर्मथलो बनेको छ । आफ्नै व्यापार छ । मोडलिङ पनि गरिरहेकी छु ।’ दुबई पुगेर उनले सातको हाराहारीमा भिडियोमा काम गरिरहेकी छन् । प्रायः नेपाली समाजले आयोजना गर्ने सांस्कृतिक कार्यक्रममा उनको सहभागिता हुने गर्दछ । यहाँको स्थानीय भाषामा बन्ने भिडियोमा अभिनय गर्ने तयारीसमेत भइरहेको उनले बताइन् ।

‘म दुबई पुगेपछि आफ्नै काममा केन्द्रित थिएँ तर, आफ्नो इच्छालाई धेरै समय दबाउन सकिनँ । मेरो तस्बिर देखेर नै मलाई स्थानीय मोडलिङ एजेन्सीले अफर गर्नुभएको हो’ पाठकले भनिन् । -याम्प सोका लागि खिचाएको तस्बिरले केही कार्यक्रममा सहभागी हुने मौका प्राप्त भएपछि उनी नेपाली समाजको प्रतिनिधिसमेत बनिन् ।

बाहिर चर्चा हुने गरेजस्तो अप्ठ्यारो र असहज अवस्था दुबईमा नभए पनि यूएईका अन्य सहरमा भने कानुन कडा रहेको उनले बताइन् । भूगोलको प्रभाव नगरी निरन्तर सक्रिय मोडल पाठकले नेपालभन्दा यूएईमा अवसर बढी भएको बताइन् । ‘आफ्नो काम र मोडलिङलाई सँगै अगाडि बढाइरहेकी छु । हाम्रो मेहनत र प्रयासले नै सफलता दिलाउँछ भन्ने उदाहरण म आफैं हुँ । मैले दुबईमा गरिरहेको कामले अन्यलाई समेत प्रोत्साहन मिलेको छ । हामीमा प्रतिभा छ भने हाम्रो लागि मनग्य अवसर छ,’ उनले भनिन् ।

म्युजिक भिडियो निर्देशनको तयारीमा रहेकी पाठकलाई चलचित्रमा अभिनय गर्ने रहर छ । यद्यपि, त्यसका लागि उनी सिकाइका लागि समेत तयार छिन् । बाल्यकालमा अभिनेता राजेश हमाल, अभिनेत्रीद्वय करिष्मा मानन्धर र जल शाहको अभिनयबाट प्रभावित पाठकले अवसर पाए सदुपयोग गर्ने योजना सुनाइन् ।

यतिखेर भने उहाँ इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा हाल यहाँ जारी ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’का प्रतियोगीसँग मोडलिङमै साक्षात्कार गर्न काठमाडौं आएकी छन् । संकर्षको समयमा साझा मञ्च नहुँदा भोग्ने परिस्थितिसँग अभ्यस्त भएकाले पनि विश्वभर रहेका नेपालीलाई एउटै सोमा देख्दा खुसी लागेको पाठकले बताइन् ।

‘यस किसिमको कार्यक्रमले विदेशमै हुर्किएका पुस्तालाई नेपाली संस्कृतिसँग सामीप्यता बढाउँछ । यसको प्रतिस्पर्धा नेपालमै हुनु झनै राम्रो हो,’ उनले भनिन् । विश्वका ५२ भन्दा बढी देशबाट प्रतियोगितामा सहभागीमध्ये छनोट भएका गायन र नृत्यका प्रतियोगीले यतिखेर काठमाडौंमा आफ्नो प्रस्तुति दिइरहेका छन् ।

नेपाल टेलिभिजनमा बुधबार र बिहीबार राति ‘मेरो भ्वाइस युनिभर्स’ र नेपाल टेलिभिजन प्लसमा शुक्रबार र शनिबार ‘मेरो डान्स युनिभर्स’को प्रसारण यसै साताबाट सुरु भएको छ । सो प्रतियोगिताका विजेतालाई १ करोड, द्वितीयलाई ३० लाख र तृतीयलाई २० लाख दिइने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?