चितवनमा तीन लाख पर्यटक भित्र्याउने
सारांश
- चितवन, ५ जेठ ।
- चितवनमा तीन लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको उद्योग वाणिज्य संघ चितवन, पर्यटन समितिका संयोजक अशोक अधिकारीले बताएका छन् ।
- वाणिज्य संघ चितवनले पर्यटन प्रवद्र्धनका लगि सुरु गरेको अभियान कार्यक्रममा बोल्दै संयोजक अधिकारीले चितवनमा तीन लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको बताएका हुन् ।
चितवन, ५ जेठ । चितवनमा तीन लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको उद्योग वाणिज्य संघ चितवन, पर्यटन समितिका संयोजक अशोक अधिकारीले बताएका छन् ।
वाणिज्य संघ चितवनले पर्यटन प्रवद्र्धनका लगि सुरु गरेको अभियान कार्यक्रममा बोल्दै संयोजक अधिकारीले चितवनमा तीन लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको बताएका हुन् ।
चितवनमा हाल करीब दुई लाख पर्यटक आउँछन् । पहिलोचरणअन्तर्गत पर्यटकीय क्षेत्रको अभिलेख तयार पारी ‘गाइड बुक’ बनाउने प्रक्रिया थालिएको संयोजक अधिकारीले बताए।
सन् २०२० सम्म नेपालमा करीब १५ लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारको रहेकाले त्यसलाई साकार पार्न काम थालिएको उद्योग वाणिज्य संघ चितवन, पर्यटन समितिका संयोजक अशोक अधिकारीले जानकारी दिए ।
त्यस्तै चितवनको सबै पर्यटकीय क्षेत्रको पहिचान झल्कने गरी जिल्लाका सबै होटलमा पर्यटकीय क्षेत्रको तस्वीर राखिनेसमेत उहाँले जानकारी दिए ।
“यसले होटल आएका पर्यटकलाई गन्तव्यको पहिचान दिलाउँछ”, संयोजक अधिकारी भन्छन्, “जान चाहने पर्यटक, त्यो हेरेर बसाई लम्ब्याउन सक्छन् ।”
सोही अभियानअन्तर्गत शुक्रबार मात्रै संघको पर्यटन समितिको नेतृत्वमा चितवन पर्यटन विकास समिति र होटल व्यवसायी संघको सहकार्यमा इच्छाकामना गाउँपालिकाको पर्यटन प्रवद्र्धनकाबारेमा कुरिनटारमा छलफलसमेत भएको उनले बताए ।
छलफलमा इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङले पर्यटन गुरुयोजना बनाएर अघि बढ्न लागिएको बताउँदै यसका लागि उद्योग वाणिज्य संघ, चितवन पर्यटन विकास समिति तथा चितवन होटल व्यवसायी संघसँग सहकार्य गर्न तयार रहेको धारणा व्यक्त गरिन् ।
चितवनको इच्छाकामना ऐतिहासिक धार्मिक र पहाडी पर्यटनका हिसाबले महत्वपूर्ण छ । जिल्लाका ४० पर्यटकीय गन्तव्यमध्ये यस गाउँपालिकामा सिंराइचुली, उपरदाङगढी, जलविरे झरना, इच्छाकामना मुख्य पर्यटकीय क्षेत्र हुन् ।
जिल्लामा सौराहा मात्रै होइन, अन्य धेरै क्षेत्र पर्यटकीय दृष्टिले उत्तिकै महत्वपूर्ण छ भनेर प्रचार अभियान जरुरी रहेको संघका उपाध्यक्ष भोजराज कौडेलले बताए ।
“चितवनमा धेरै पर्यटकीय सम्भावना छन्, पूर्वाधार निर्माण र प्रचार हुन सकेका छैनन्, अब सामूहिकरुपमा प्रवद्र्धनात्मक कार्यक्रम गर्नु जरुरी छ”, पर्यटनविज्ञ विश्वराज सुवेदीले भने ।
चितवन पर्यटन विकास समितिका अध्यक्ष दिलीप मैनाली र चितवन होटल व्यवसायी संघका अध्यक्ष कमल शर्माले इच्छाकामना पर्यटनका लागि महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्दै यो अभियानमा आफूहरुले सहकार्य गर्ने बताए ।
चितवनमा मुख्यगरी सौराहा, मेघौली, जगतपुर, पटिहानी, देवघाट, सिंराइचुली, उपरदाङगढी, कुमरोज, कंकाली, शक्तिखोर, जलविरे झरना, चित्राम झरना, सिन्ती झरनालगायत उत्कृष्ट पर्यटकीय गन्तव्य छन् ।
(Tramadol)
प्रतिक्रिया