विश्वकप फुटबल: नेइमार माथी ब्राजिलको विश्वास‘
सारांश
- अस्बिन खड्का , २० जेठ ।
- सर्वाधिक ५ पटक विश्वकप जितेको ब्राजिल सबै विश्वकपमा सहभागी हुने एक्लो टिम हो।
- ब्राजिल विश्वकप फुटबल इतिहासमा सवैभन्दा सफल टिम हो।
अस्बिन खड्का , २० जेठ । सर्वाधिक ५ पटक विश्वकप जितेको ब्राजिल सबै विश्वकपमा सहभागी हुने एक्लो टिम हो।
ब्राजिल विश्वकप फुटबल इतिहासमा सवैभन्दा सफल टिम हो। त्यसैले ब्राजिललाई हरेक विश्वकपमा उपाधि दाबेदारको रुपमा हेरिने गरिन्छ। पछिल्लो पटक सन् २००२ मा उपाधि जितेको
ब्राजिलले त्यसपछी विश्वकप उपाधि जित्न सकेकाे छैेन। त्यस यताका तीन विश्वकपमा ब्राजिलले फाइनल यात्रा तय गर्न पनि सकेको छैन।
सन् २००६ र २०१० को विश्वकपमा ब्राजिल क्वार्टफाइनलबाटै घर फर्कन बाध्य भयो। सन् २०१४ मा घरेलु भूमीमा आयोजना भएको विश्वकपमा ब्राजिल सेमिफाइनलमा जर्मनीसँग ७–१ गोलले घरेलु दर्शकका अगाडि पराजित भएको ब्राजिलका लागि पीडादायी क्षण थियो । त्यो पिडा मेटाउन को लागी पनि ब्राजिलको एउटै लक्ष्य उपाधि जित्ने रहेको छ। यसपटक पनि जेठ ३१ देखि रसियामा हुने विश्वकपमा ब्राजिल समूह दुइ मा छ। समूहमा ब्राजिलसँगै स्विट्जरल्यान्ड, कोस्टारिका र सर्विया छन्। ब्राजिलले पहिलो खेल जुन १७ मा स्विट्जरल्यान्डसँग खेल्नेछ।
समूह चरणमा सजिलो ठानिएका प्रतिद्वन्द्वी पाएको ब्राजिलका लागि खुसीको खबर भनेको घाईते नेइमार टिममा फर्किएका छन्। फ्रेन्च क्लब पिएसजीमा आवद्ध नेइमारको खुट्टाको शल्यक्रिया पछि टिममा फर्किएका हुन्। तर अनुभवी खेलाडी डानी अल्भेस ले भने घाईते भएको कारण विश्वकप खेल्न पाउने छैनन् । तर पनि ब्राजिलियन टिममा सबैजसो विश्वमा प्रभाव जमाएका खेलाडी हरु छन्।
टीममा मार्सेलो, डानिलो, मिरान्डा जस्ता विश्व चर्चित डिफेन्डर ब्राजिलको टिममा छन्। विलियम, फर्डिनान्डो, कासेमिरो, काउटिन्हो लगायतले मिडफिल्ड सम्हाल्नेछन् भने यो विश्वकप मा सबैभन्दा राम्रो अंग्रपंक्तिमा लीईएको टीममेकर रहेको प्रतिभाशाली खेलाडीहरु नेइमार, गाब्रियल जेसस, रोबर्टो फिर्मिनो जस्ता धेरै उदयमान खेलाडीहरु छन्। तरपनी ब्राजिलको विश्वास नेइमार माथीनै रहेको छ ।
सन् २०१० को २६ जुलाई, जतिबेला नेइमार अमेरिकाविरूद्ध पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दै थिए। त्यतिबेला उनको उमेर थियो, १८ वर्ष। ब्राजिलको ११ नम्बर जर्सीमा उत्रिएका नेइमारले खेलको २८ मिनेटमा गोल गर्दै सनसनी मच्चाए। त्यो खेल ब्राजिलले २–० ले जित्यो। र, नेइमार रातारात उदाए। नेइमार ब्राजिलका यस्ता प्रतिभाशाली खेलाडी हुन्, जसलाई पेलेको हाराहारीमा तुलना गर्ने गरिन्छ। उनले २० वर्षको उमेर मै क्लब फुटबलमा एक सय गोल पुरा गरिसकेका थिए।
नेइमारको जन्म ५ फेब्रअरी १९९२ मा साओ पाउलोमा भएको हो। उनका बुबा सिनियर नेइमार पनि व्यावसायिक फुटबल खेलाडी थिए। त्यसैले उनले छोरालाई फुटबल खेलाडी बनाउन कुनै कसर बाँकी राखेनन्।
२६ वर्ष टेकेका नेइमार हाल विश्व फुटबलकै सबैभन्दा महंगा खेलाडी हुन्। उनलाई गत सिजनमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी)क्लबले विश्व कीर्तिमानी २ सय २२ मिलियन युरोमा बार्सिलोना क्लबबाट किनेको थियो।
नेइमारका धेरै फ्यानहरू यस कुराबाट बेखबर हुन सक्छन्, उनलाई १४ वर्षको उमेरमा रियल म्याड्रिडले ट्रायलका लागि बोलाएको थियो। उनले ट्रायल दिएका पनि थिए। तर, उनको खेल कौशल र क्षमताबाट प्रभावित सान्तोष क्लबले फुच्चे नेइमारलाई म्याड्रिडमा बेच्न चाहेन। हो, यतिनै बेला सान्तोषमा उनको तलब ह्वात्त बढेको थियो। नेइमार सन् २००९ मा पहिलोपल्ट सान्तोषको सिनियर टोलीमा समावेश भएका थिए। उनी त्यही बर्ष ब्राजिलियन लिगको उत्कृष्ट युवा खेलाडी पनि घोषित भए। यसपछि उनको खेलको चारैतर्फ प्रशंसा भएको थियो।
सन् २०१० मा प्रिमियर लिग क्लब वेस्टह्याम युनाइटेडले फुच्चे नेइमारका लागि १ करोड २० लाख पाउन्डको अफर सान्तोष क्लबसमक्ष राखेको थियो। अझ, चेल्सीले त्यसभन्दा बढी रकम खर्च गर्ने इच्छा देखायो। यतिबेला पनि सान्तोषले दुवै इङ्लिस क्लबको प्रस्ताव ठाडैँ अस्वीकार गर्यो। नेइमारलाई अहिले ब्राजिलमा पेलैकै हाराहारीको खेलाडी मान्नेको कमी छैन। बलमाथि उनको नियन्त्रण, तीब्रता र छलाउने शैलीबाट पेले पनि कायल छन्। त्यसैले पेलेले पहिल्यै भविष्यवाणी गरेका थिए– नेइमार अबको केही वर्षमा संसारकै उत्कृष्ट खेलाडीको रूपमा उदाउँदैछन्।
सन् २०१२ को क्लब विश्वकपमा ब्राजिलको सान्तोष क्लब एक्कासी बार्सिलोनासँग ४–० ले पराजित भयो। यसपछि ब्राजिलियन फुटबल संघलाई लाग्यो, नेइमारको क्षमतालाई देशभित्रै बन्धक बनाउनु हुँदैन्,२०१४ मा आफ्नै देशमा आयोजना हुने विश्वकप जित्नु छ भने नेइमारलार्ई युरोपेली फुटबलको अनुभव दिलाउनु आवश्यक छ। फुटबल संघको दबाबपछि सान्तोष क्लब उनलाई युरोप पठाउन राजी भयो। नेइमार सन् २०१३ मा ५ करोड ६० लाख पाउन्डमा अर्जेन्टिनाका अर्का स्टार स्ट्राइकर लिओनल मेसीकै क्लब बार्सिलोनामा पाँच बर्षका लागि अनुबन्धित भएका थिए। उनलाई बार्सिलोनाले आफ्नो घरेलु मैदान क्याप नेउमा पहिलोपटक सार्वजनिक गर्दा ५७ हजार दर्शक उपस्थित थिए।
नेइमारसँग तीब्र गतिमा बल कुदाउने र अचानक दिशा परिवर्तन गर्न सक्ने अनौठो कला छ। उनी दुवै खुट्टा उत्तिकै चलाउँछन्।
सन् २०१२ को ओलम्पिकमा पनि नेइमार ब्राजिलको फुटबल टोलीमा थिए। त्यतिबेला ब्राजिलले स्वर्ण जित्न नसक्दा उनको ठूलो आलोचना भएको थियो। तर, उनले २०१६ को ओलम्पिकमा आफ्नो कप्तानीमा ब्राजिललाई स्वर्ण जिताउँदै आफ्नो देशलाई ठूलो गुण लगाए।विश्व कपमा ब्राजिलले ५ वटा उपाधि जितेपनि ओलम्पिकमा यो देश स्वर्णविहिन रहदै आएको थियो। त्यो ‘डेड लक’ लाई तोड्ने काम उनै नेइमारले गरे। त्यसैले अहिले ब्राजिललगायत विश्वमा छरिएर रहेका उनका समर्थक उनको कला र जादुमय खेल हेर्न चाहान्छन् र विश्वकपको ट्रफी उचालेको हेर्न चाहान्छन्।
किनकी यो पटकको विश्वकपमा पनि नेइमारमाथि नै ब्राजिलको विश्वास छ। तर चोटबाट भर्खर मुक्त भएका नेइमारले ब्राजिलको भोकलाई मेटाउन सक्लान वा नसक्लान् त्यो हेर्न भने जेठ ३१ पछिका खेल कुर्नु पर्ने हुन्छ। चार वर्षअघिको लज्जाजनक विश्वकप बिर्साउन र ब्राजिल फुटबल समर्थकलाई खुशी दिन नेइमारको आवश्यकता ठूलो छ ।ब्राजिल पहिलेको जस्तै डरलाग्दो टिमको रुपमा देखिएको छ । ब्राजिलियन फुटबलको पुरानो समय फर्काउन नेइमार एक मुख्य पिलर हुन् । घाइते हुनुअघि उनी आफ्नो करिअरकै उच्च फर्ममा पनि देखिएका थिए । उनी मैदानमा मात्रै होइन मैदान बाहिर पनि आफ्नो टिमका लागि हौसलाका पात्र हुन् ।
विश्वकप खेल्ने ब्राजिलियन टिम
गोलकिपर: एलिस्सन (रोमा), इडेर्सन (म्यानचेस्टर सिटी), कासियो (कोरिनथिएन्स)
फुल ब्याक: मार्सेलो (रियल म्याड्रिड), डानिलो (म्यानचेस्टर सिटी), फिलिप लुइस (एट्लेटिको म्याड्रिड), फाग्नेर (कोरिनथिएन्स)
सेन्टर ब्याक : मार्क्यूनोस (पिएसजी), थियागो सिल्भा (पिएसजी), मिरान्डा (इन्टर मिलान),
पेड्रो जेरोमेल, (ग्रिमियो)
मिडफिल्डर : विलियम (चेल्सी), फर्डिनान्डो(म्यानचेस्टर सिटी), पाउलिन्हो(बार्सिलोना), कासेमिरो (रियल म्याड्रिड), काउटिन्हो (बार्सिलोना), रेनाटो अगुस्टो(बेइजिङ गुअन), फ्रेड (शख्तर)
फरवार्ड :नेइमार (पिएसजी), गाब्रियल जेसस (म्यानचेस्टर सिटी), रोबर्टो फिर्मिनो (लिभरपुल), डाउलास कोस्ट (युभेन्टस), टाइसन (शख्तर)
प्रतिक्रिया