सिने पर्दामा यस्ताे देखिन्छ पुरुष कलाकारकाे महिला बनेकाे रूप
सारांश
- काठमाडाै, २८ साउन ।
- एउटा कलाकारले आफ्नो जीवन कालमा अनेकौँ जीवन बाँच्नु र अनेकौँ जीवनको अनुभव गर्नुपर्छ।
- ‘कहिले ‘हिरो’ को जीवन त कहिले ‘भिलेन’ को जीवन।
काठमाडाै, २८ साउन । एउटा कलाकारले आफ्नो जीवन कालमा अनेकौँ जीवन बाँच्नु र अनेकौँ जीवनको अनुभव गर्नुपर्छ। ‘कहिले ‘हिरो’ को जीवन त कहिले ‘भिलेन’ को जीवन। कहिले संसारकै क्रुर प्राणीको भूमिका, अनि कहिले आफ्नै दिदी-बहिनी-आमालाई बलात्कार गरेको अभिनय’- एक कलाकार आफ्नो अनुभव सुनाउँछन्, ‘कलाकारले निर्वाह गर्नुपर्ने यस्तो भूमिका सम्झँदा कहिलेकाहीँ आफैप्रति टिठ लागेर आउँछ। तर के गर्नु, कलाकार भएपछि जस्तो परिआउँछ, त्यस्तै अभिनय गर्नुपर्छ।’
यो भनाईबाट थाहा पाउन सकिन्छ, एउटा कलाकारले भूमिकाको रुपमा कैयौँ जीवनहरु बाँच्नु पर्छ। त्यसमध्ये कुनै भूमिका रमाइलो होला, कुनै आफ्नो वास्तविक जीवन विपरित।
मदनकृष्ण श्रेष्ठसँग महिलाको भूमिकामा हरिबंश आचार्य
यसै मेसोमा हामी ती पुरुष कलाकारहरुको चर्चा गर्दैछौँ, जो पर्दामा महिलाको भूमिकामा देखिएका छन्। आफूलाई महिला पात्रमा ढालेर सबै भन्दा बढी चर्चा कमाउने अग्रणी कलाकार हुन्, बरिष्ठ हास्य कलाकार हरिवंश आचार्य। टेलिफिल्म, म्युजिक भिडियो, स्टेज तथा सिनेमामा उनले धेरै पटक महिलाको रुपधारण गरेका छन्, त्यो पनि बृद्धमहिलाको। सेतो कपाल, कुप्रो परेको ढाड, हातमा लौरी र टर्रो आवाज। यस्ती बृद्ध महिलाको भूमिका निर्वाह गर्दा हरिवंशले धेरै समस्या झेल्नु परेको छ। कुप्रिएर हिड्नु पर्ने भएकै कारण आचार्यमा ढाडको समस्या देखियो । यो कुरा उनले आफ्नो पुस्तक ‘चिना हराएको मान्छे’ मा पनि उल्लेख समेत गरेका छन्।
त्यसो त, अन्य केही हास्य कलाकारहरु पनि दर्शकलाई हसाउन महिलाको भूमिकामा देखिएका छन्। तर, यस्तो भूमिकामा सिनेमाका कलाकारहरु भने कमै देखिन्छन्।
आउनुस्, तिनै कलाकारहरुको बारेमा चर्चा गरौँ, जो पुरुष भएपनि पर्दामा चाहिँ महिलाको भूमिकामा देखिएका छन्:
राजेश हमाल
महानायक राजेश हमाल आफ्ना जीवनमा एक पटक महिला बनेर पर्दामा देखिए। राजेश हमाललाई महिला बनेर देखिएको सिनेमा थियो, ‘सकुन्तला’। दिनेश श्रेष्ठद्धारा निर्देशित ‘सकुन्तला’ मा राजेश साडी चोलो र चुरा पोतेमा सजिएर सिनेमामा प्रस्तुत भए। छायाङ्कनका क्रममा हमाल महिलाको भेषमा देखिएको कुरा भाइरल समेत भयो।
राजेश हमाल
‘सकुन्तता’ ले खासै राम्रो व्यापार गर्न नसकेपनि फिल्ममा महिलाको भूमिका निर्वाह गर्दा चाहिँ हमालले रमाइलो माने। ‘फिल्ममा नारी बन्दा पुरै ३ घण्टा सजिसजावट र मेकअपमा नै समय जाँदो रहेछ, यसबाट मैले नारीको मर्म बुझेँ’ हमालले भने, ‘महिलालाई पुरुषलाई जस्तो सजिलो हुँदो रहेनछ, घरबाट बाहिर निस्कँदा पुरुषहरु तुरुन्तै तयार हुने, तर निस्कने तयारी गर्दा महिलालाई कम्तिमा आधा घण्टा लाग्ने कारण यो पो रहेछ।’ महिला कलाकारको भूमिका निर्वाह गर्दाको थप अनुभव सुनाउँदै हमाल भन्छन्, ‘चुरा लगाएपछि हात आफै लल्याकलुलक हुने रहेछ। एककिसिमको कोमलता आफै आउने रहेछ।’
आफू महिला बन्दा राम्रो देखिएजस्तो लागेपनि पत्नी मधु भट्टराईलाई चाहिँ आफ्नो यो भूमिका मन नपरेको राजेशले सुनाए।
सुनिल थापा
‘राते काइँला’ उर्फ सुनिल थापा पनि अभिनयको यात्रामा जीवनमा दुई पटक महिलाको भूमिकामा देखिए। चलचित्र ‘साइनो’ र ‘बुहारी’ मा उनी महिलाको भूमिकामा प्रस्तुत भएका हुन्। ‘बुहारी’ मा स्व नायक श्रीकृष्ण श्रेष्ठका पिता बनेका थापा परिस्थितिबस महिलाको भूमिकामा पनि देखिनुपर्ने भयो। त्यसो त, सोही सिनेमामा नायक स्व श्रेष्ठ पनि भेष बदलेर युवतिको भूमिकामा देखिएका थिए।
सुनिल थापा
युवतिको भूमिकामा देखिँदाको अनुभव सुनाउँदै थापाले भने, ‘केटी बन्नुपर्ने काम त लास्टै झ्याउ लाग्दो हुँदो रै’छ। मेकअप गर्नै २-३ घण्टा लाग्ने, मेकअप गर्दागर्दै कहिले त सुटिङ नै ‘प्याक अप’ भइसक्ने हुँदो रहेछ।’ युवतिको भेषमा चाहिँ आफू राम्री देखिएको दावी गरे। ‘निकै राम्री देखिने रहेछु नि! श्री (कृष्ण) पनि सँगै थियो’ थापाले सुनाए, ‘श्रीलाई भन्दा मलाई राम्री देखिएको थियो। यो कुरा श्रीलेपनि मलाई भनेको थियो। उसको भनाई थियो, दाई तपाईको कपाल पनि कति राम्रो! मेरो त विङ्स नै राम्रो छैन भन्दै गुनासो गरेको थियो।’
थापाको भनाईमा, युवतिको भेष धारण गर्दा छातीमा स्याउको डल्लो राख्नु परेको थियो। ‘मेकअप आर्टिस्टले छाती ठूलो पार्न कपास हालिदिएका थिए, तर ‘टेक’ लिँदा पसिनाले भिजेर कपास सानो भइहाल्यो’ उनले भने, ‘त्यसपछि सुटिङ नै रोक्नुपर्ने परिस्थिति सिर्जना भयो। पछि स्याउ खोजेर ल्याएर छाती ठूलो बनाइयो।’
श्रीकृष्ण श्रेष्ठ
स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ नेपाली सिनेमा ‘बुहारी’ मा महिलाको भूमिकामा प्रस्तुत भएका थिए। किशोर ढकालको निर्देशन तथा युवराज लामा, लक्ष्मीप्रसाद ढकाल तथा राजेन्द्र शाहको संयुक्त निर्माणमा बनेको सिनेमा बुहारीमा श्रीकृष्ण महिलाको अवतारमा देखिएका हुन्।
श्रीकृष्ण श्रेष्ठ
रमेश उप्रेती
एक समयका चकलेटी नायक रमेश उप्रेती निकै व्यस्त मानिन्थे। ‘यो मायाले लौन सतायो’ चलचित्रबाट नेपाली रजतपटमा प्रवेश गरेका नायक उप्रेती तत्कालीन समयमा लुक्स र डान्सका कारण निकै चर्चित थिए।
रमेश उप्रेती
धेरै युवायुवतीका फ्यान बनेका नायक उप्रेती ‘यो मायाको सागर’ मा समावेश गरिएको ‘लौ लौ आयो लिल्लिलाई देखेर लै लै’ बोलको गीतमा युवतीको भूमिकामा देखिन्छन्। स्मरण रहोस्, यस गीत र नृत्य तत्कालिन समयमा निकै लोकप्रिय बनेको थियो।
दीलिप रायमाझी
साइट डान्सर हुँदै ‘भानुभक्त’ बाट नेपाली रजतपटमा प्रवेश गरेका नायक दिलिप रायमाझी आफ्नो समयका ‘ट्रेन्ड सेटर’ पनि हुन्। उनको डान्स र कपालको डिजाइनको उतिबेला लाखौँ युवाले अनुशरण गरे। कमिक र डान्सका लागि निकै रुचाइएका दीलिपले कलाकारितामा लागेपछि पर्दामा २ पटक युवतिको भेषमा अभिनय गरे।
चलचित्र ‘बन्धकी’ र ‘पालेदाई’ को गीतमा उनी युवतिको भूमिकामा देखिएका छन्। ‘युवति बनेर प्रस्तुत हुँदा कस्तो लाग्यो?’ भन्ने प्रश्नमा दीलिप भन्छन्, ‘पुरुष पनि त्यही महिलाको कोखबाट हुर्केको हो। त्यसैले, एउटा पुरुष कलाकारले महिलाको भूमिकामा अभिनय गर्न पाउनु भाग्यको कुरा हो। मलाई त एकदमै खुशी लाग्यो, रमाइलो पनि।’
दीलिप रायमाझी
‘युवति बन्दा कत्तिको राम्री अनुभव गर्नुभयो?’ प्रश्न सुनेपछि निकैबेर हाँसेका दीलिप भन्छन्, ‘सुरुमा ऐना हेर्नै अप्ठ्यारो लाग्यो। तर धेरैले राम्री देखिनु भएको छ भने। ऐनामा आफैलाई हेर्दा साँच्चै राम्रीपनि देखेँ। ‘पालेदाई’ हेरेपछि मलाई आफन्तजनले ‘ठ्याक्कै मेरी ठूली दिदीजस्तो देखिनुभयो भन्नुभयो। केटी बन्दा म मेरी ठूली दिदी अन्जना जस्तै देखिँदो रहेछु।’
प्रदीप खड्का
एक पछि अर्को सफल सिनेमामा अभिनय गरेर महंगो अभिनेता बनिसकेका प्रदीप धेरै युवायुवतीको ढुकढुकी बनेका छन्। चलचित्र ‘प्रेमगीत’ बाट सफल यात्रा तय गरेका नायक प्रदीपले ‘प्रेमगीत-२’ मा महिला भूमिका निर्वाह गरे।
प्रदीप खड्का
खासमा प्रदीप आफ्ना बुबाको फेन्सी पसल सञ्चालन गर्न बस्ने क्रममा महिलाको भूमिकामा देखिन्छन्। उनी युवती बनेर फेन्सी पसल सञ्चालन गर्न बसेको दृष्य सो फिल्ममा निकै रोचक देखिन्छ।
पल शाह
युवा पुस्ताका ढुकढकी बनेका नायक पल शाहपनि अहिलेका सर्वाधिक ‘डिमाण्डेड’ र जबर्जस्त फ्यान बनाउन सफल कलाकार हुन्। विशेषत म्युजिक भिडियोमार्फत् नेपाली रजतपटमा प्रवेश गरेका शाह म्युजिक भिडियो र सिनेमामा महिलाको रुपमा देखिएका छन्।
पल शाह
महिलाको भूमिकामा उनी देखिएको पहिलो चलचित्र हो, सुदर्शन थापा निर्देशित ‘म यस्तो गीत गाउँछु’। फिल्मको सिनेमाको कथामा निकै अप्ठेरो परिस्थिति सिर्जना भएपछि त्यो बिपत्तिबाट बच्न उनी महिलाको रुप धारण गर्न पुग्छन्।
(नेपाल खबरमा प्रभात लामाले लेखेका छन्)
प्रतिक्रिया