मञ्चका ‘मुनामदन’ !

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २४, २०७५
|
|
२३ पटक हेरिएको
Shares
मञ्चका ‘मुनामदन’ !

सारांश

  • काठमाडौँ, २४ भदौ ।
  • गोधुली साँझ, सिमसिम पानी र शिल्पिको व्यस्त आँगन ।
  • मानिसहरु आउने क्रम चलिरहन्छ ।

काठमाडौँ, २४ भदौ । गोधुली साँझ, सिमसिम पानी र शिल्पिको व्यस्त आँगन । मानिसहरु आउने क्रम चलिरहन्छ । आफ्नो सबै कामको चाँजो पाँजो मिलाएर नाटक ‘मुनामदन’ हेर्न आएका दर्शकमा उत्साह मिश्रित एउटा छटपटि देखिन्छ । निर्धारित समयमा घन्टि बज्छ, नाटक छिटै सुरु हुने संकेत गर्दै । दर्शक अनुशासित भएर लाइनमा भित्र पस्छन् । दर्शकको बाटो हेरेका कुर्सि एकाएक भरिन्छन् ।

प्रकाशका सबै स्रोत बन्द हुन्छन् । हल अन्धकारमय हुन्छ । त्यही कालो आकाशलाई चिर्दै प्रकाशका किरण एक पात्र माथि पोखिन्छ । नाटकको मुख्य पात्र, मदन । नाटक सुरु भएको थाहा पाएर सबै दर्शक सतर्क हुन्छन् । मञ्चमा मुनाको आगमन हुन्छ । काम गरिरहेको मदनको ध्यान मुनाको प्रवेशका कारण भंग हुन्छ । एकछिन् उनीहरुको प्रेमालाप देखाइन्छ । सानै देखि मुनामदनको कथा पढिरहेका दर्शकका लागि एउटा कुराको तिव्र प्रतिक्षा हुन्छ । त्यो हो ल्हासा ।

गाउँको एकजना युवा ल्हासा गएको र मनग्य पैसा कमाएर आएको संवादले ल्हासाको प्रसंग उप्किन्छ । दर्शकको अनुमान अनुरुप मदन सहित अरु दुईजना साथि पनि ल्हासा जान तयार हुन्छन् । त्यस बिच विभिन्न घरायसी समस्याको पनि उजागर हुन्छ । जस्तै मदनको सन्दर्भमा बुढि आमा र नवविवाहित श्रीमति छाडेर ल्हासा जानुपर्ने हुन्छ । साहूको ऋण र चुहिने घरको छानोले उसलाई सँधै विदेशको बाटो देखाईरहन्छ ।

मदनको विदाई भएको देखाईरहँदा दर्शकहरु निकै भावुक हुन्छन् । अँध्यारोमा आँसु देख्न सकिन्न तर उनीहरुको स्तब्दता राम्रोसँग सुनिइरहेको हुन्छ । मदन ल्हासा लागेपछि आमा र मुनालाई घर शुन्य लाग्छ । उता मदन लगातार यात्रा गरिरहेको हुन्छ , आफ्ना साथि गगन र ठूलेसँग । उनीहरुको कठिन यात्रालाई प्रतिकात्मक रुपमा देखाईएको हुन्छ । खोला नाला भिर पाखा तर्दै र नाघ्दै उनीहरु ल्हासा पुग्छन् ।

ल्हासा पुगेर धन कमाएर फर्किने क्रममा मदन निकै बिरामी हुन्छ । केही समय डो¥याएर, बोकेर साथै ल्याए पनि उनीहरुलाई बिरामी मदन भार हुन्छ । दुई साथि बिच मदनलाई सँगै लाने या त्यहीँ छोड्ने भन्ने कुरामा छलफल चल्छ । अन्ततः मदन एक्लै हुन्छ, अनकन्टार हिमाल ठाउँमा । मञ्चमा भोटेको उपस्थिति हुन्छ । भोटेलाई देख्नासाथ दर्शकलाई थाहा हुन्छ कि मदनको उद्दार यसैले गर्ने हो । र मनमनै कामना गर्न थाल्छन् । छिटो मदनसम्म पुराउन । भोटेले मदनलाई देख्छ र उठाएर आफ्नो घर लैजान्छ । औषधि मुलो गर्छ र निको पार्छ । तर मदन ठिक हुने बेलासम्म मञ्चको अर्को छेउमा मुना ढलिसकेकी हुन्छे ।

मदनका साथिले मुनालाई मदनबारे नराम्रो खबर सुनाउनु नै मुनाको एकमात्र मृत्युको कारण बन्छ । मदनको मृत्युको खबर सुनेर मुना भक्कानिँदै भित्र पस्छे। दर्शक आफूलाई सम्हाल्न सक्दैनन् । सबैतिरबाट सुँक्कसँुक्क आवाज आउँछ ।  ठिक भएर घर फर्किने क्रममा भोटे उसका छोराछोरी र मदन सबै भावुक हुन्छन् । तर मदनलाई थाहा हुँदैन कि घरमा उसलाई अझ ठूलो दुःखद खबरले पर्खिरहेको छ । मदनलाई थाहा हुँदैन कि मुनाले धर्ति छाडेको र आमा मृत्युको अन्तिम घडिसँग लडिरहेको कुरा । झोलामा आमा र मुनाका लागि उपहार र केही जोडेको सम्पत्ती र मनभरी खुशी बोकेर घर पुगेको मदन सबै कुरा थाहा पाइसकेपछि भावविह्वल हुन्छ । नाटकको अन्तिम दृष्यले दर्शक पानी पानी हुन्छन् । फोटो खिच्न तम्सिएका हात लत्रिन्छन् । आँखा पग्लिरहन्छ । सबै तिरका बत्ति बालिसकेपछि मात्र उनीहरु नाटक हेरिरहेको चाल पाउँछन् । दर्शक ओसिला आँखा लिएर हलबाट बाहिर निस्कन्छन् । आफ्ना मदन दाई, बा, काका सम्झँदै ।

नाटक सन्दर्भ
महाकवि लक्ष्मि प्रसाद देवकोटाको कृति मुनामदनमा आधारित नाटक ‘मुनामदन’ यतिबेला काठमाडौँको बत्तिसपुतली स्थित शिल्पि नाटकघरम मञ्चन भैरहेको छ । यसअघि गीतिनाटकका रुपमा प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय नाच घरमा मञ्चन भइसकेको मुनामदन संवादमा भने यो पहिलो पटक हो । ‘मुनामदन’लाई नाट्य रुपान्तरण कट्वाल दिपकले गरेका हुन् भने निर्देशन सविन कट्टेलको हो । त्यस्तै नाट्य संयोजन कमल पोख्रेल हुन् । नाटकलाई बिमस्टेकको शिखर सम्मेलन र भारी वर्षाले केही असर पारे पनि पछिल्लाे समय यसले दर्शकको राम्रो साथ पाइरहेको छ । नाटकमा मुनाको भुमिकामा दिपा पोखरेल देखिएकि छन् भने मदनको भूमिका स्वयम निर्देशक सविन कट्टेलले निर्वाह गरेका छन् । त्यस्तै नाटकमा पवित्रा खड्का , शुष्मा निरौला, मानहाङ लावती, जिना राई, संजिव राई, लकेश राई, एन्जन पौडेल र सरिता ढुङ्गानाको भुमिका रहेको छ ।

के चुनौति? कति सफल?
सबैलाई थाहा भएको कथा फरक ढंगले प्रस्तुत गर्नु नाटक निर्माण पक्षको लागि आफैमा एउटा चुनौति थियो । फेरी मुनामदन जस्तो कृतिमा आम दर्शकले धेरै अपेक्षा राख्नु पनि स्वभाविक हो । यस्तोमा कथाको मर्म बचाउँदै दर्शकको अपेक्षा अनुरुप काम गर्नु चानेचुने कुरा होईन । मात्र सभा एक घण्टामा मुनामदनको कथा सक्दा केही छुटपुट हुनु त सामान्य हो । तर पनि नाटकले दर्शकलाई र मुना र मदनको वास्तविक कथालाई धेरै हद सम्म न्याय गरेको मान्न सकिन्छ ।

मुनामदन आज
देवकोटाले साढे सात दशक अघि लेखेको मुनामदन अहिले पनि उत्तिकै रुचाएर पढिन्छ र त्यतिबेला भन्दा सान्दर्भिक लाग्छ । नेपालबाट घरको छानो फेर्न र साहुको ऋण तिर्न विदेशीने मदनको संख्या अझै बढ्दो छ । कुनै मदन बाकसमा फर्किन्छन् कुनै मदन फर्किदा घर रहन्न । घर रहेपनि परिवार रहन्न । अनि उद्दारका लागि भोटे पनि पाउन गाह्रो छ आज भोलि । त्यस्ता लाखौँ कथाको प्रतिनिधित्व एउटै मुनामदनले गरेको छ ।

भाद्र १३ देखि मञ्चन सुरु भएको नाटक मुनामदन भदौ २६ सम्म चल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?