साउन ९ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको ४७ दिन पूरा भइसकेको छ । आफू प्रधानमन्त्री भएको डेढ महिना बितिसक्दासमेत देउवाले सरकारलाई पूर्णता दिन सक्नुभएको छैन । शपथ ग्रहण गरेकै दिन जेठ २४ गते देउवाले कांग्रेस र माओवादीबाट तीन÷तीन जना र नेपाल फोरम लोकतान्त्रिकबाट एक जनालाई मन्त्री बनाउनुभएको थियो । देउवाले अझै पनि २२ वटा मन्त्रालयको जिम्मेवारी लिइरहनुभएको छ ।
सरकारलाई छिटो पूर्णता दिन सत्ता घटक माओवादी केन्द्र र कांग्रेसभित्रै पनि सभापति देउवामाथि दबाब परिरहेको छ । सरकार विस्तारबारे टुंगो लगाउन गठित कार्यदलले कांग्रेसले १३ र माओवादीले ९ मन्त्रालय लिने सहमति गरिसकेका छन् । तर सरकार विस्तारमा भने बिलम्ब हुँदै आएको छ ।
द्विपक्षीय भेटघाटका क्रममा प्रधानमन्त्री देउवाले आलटाल गरेको थाहा भएपछि आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी निर्णय सार्वजनकि गर्न आयोजित पत्रकार सम्मेलनमा ‘अब त लाजै भयो’ भन्दै देउवालाई सरकार विस्तार गर्न दबाब दिनुभएको थियो ।
आफ्नातर्फबाट मन्त्री बन्ने टुंगो माओवादीले यसअघि नै लगाइसकेको छ । देउवाले सोमबार (आज) बिहानसम्म सरकार विस्तार गर्ने आश्वासन दिएको प्रचवण्डले बताए पनि कम्तिमा मंगलबारसम्म सरकार विस्तार नहुने निश्चित भएको छ । शनिबारदेखि जारी केन्द्रीय कार्य समितिको बैठक नसकिएकाले सोमबार सरकार विस्तारको सम्भावना कम छ । पहिलो चरणको चुनाव र संविधान संशोधनका लागि दुई तिहाइ पुर्याउने कसरतका कारण सरकार विस्तारमा ढिलाइ भएको बताइएपनि कांग्रेसभित्रैको किचलोको कारण थप मन्त्री नियुक्त हुन नसकेको हो ।
मन्त्री बन्न कांग्रेसमा लर्को
प्रधानमन्त्री देउवाले सरकार विस्तार गर्न नसक्नुमा उहाँकै पार्टीभित्र मन्त्री बन्नेको आकांक्षी धेरै हुनु मुख्य कारण हो । आफूलाई मन्त्री÷राज्यमन्त्री बनाउन कांग्रेसका सांसदहरुको दैनिकजसो बालुवाटारदेखि सिंहदरबारसम्म लर्को नै लाग्ने गरेको छ । प्रधानमन्त्री देउवा र श्रीमती आरजु राणालाई भेटेर मन्त्री बन्नका लागि आग्रह गर्नेको संख्या ५० भन्दा बढी नाघिसकेको कांग्रेसका एक नेताले बताए । आफूलाई भेट्न आउने सबै नेतालाई देउवाले हुन्छ भन्दै पठाउने गर्नुभएको उहाँका एक विश्वासपात्र नेताले अनौपचारिक कुराकानीका क्रममा उज्यालो अनलाइनसँग बताए ।
पार्टीभित्र आफ्नै गुट व्यवस्थापन गर्न हम्मेहम्मे परेको अवस्थामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको दबाब पनि उत्तिकै छ । पौडेल पक्षले पाँच मन्त्रालय नदिने हो भने आफ्नो समूह सरकारमै सहभागी नहुने चेतावनी दिँदै आएको छ । काँग्रेसबाट बलबहादुर केसी, डा. नारायण खड्का, रामकृष्ण यादव, मीन विश्वकर्मा, भिष्मराज आङदेम्बे, मोहनबहादुर बस्नेत, भिमसेनदास प्रधान, सरिता प्रसाई, कमला पन्त, बद्री पाण्डे, जीवन परियार लगायतबाट मन्त्री बन्ने सम्भावना छ । तर पार्टीभित्र मन्त्री बन्न चाहनेको संख्या धेरै हुँदा कसले अवसर पाउँछ भन्ने यकिन छैन । ‘
माओवादीबाट गिरिराजमणि पोखरेल, टेकबहादुर बस्नेत, उमेश यादव, रेखा शर्मा लगायतबाट मन्त्री बन्ने निश्चित छ । राप्रपा अहिले सरकारमा जाने नजाने टुंगो नलागेकाले अहिले राप्रपालाई नपर्खिइने काँग्रेस नेता डाक्टर महतले जानकारी दिनुभयो ।
प्रतिक्रिया