चुनाव जित्न ‘महिलाको भर’

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
|
४८ पटक हेरिएको
Shares
चुनाव जित्न ‘महिलाको भर’

सारांश

  • जुम्ला : कर्णालीका उम्मेदवारलाई यसपटक आफ्नो जित महिला मतदाताको भरमा देखिएको छ ।
  • यहाँका अधिकांश पुरुष मतदाता मजदुरीका लागि भारतको कालापहाड पसेपछि गाउँमा महिला मतदाता मात्र बाँकी छन् ।
  • यही कारण आइतबार हुने निर्वाचनमा उम्मेदवारहरूलाई जितका लागि महिला मतदाताको भर पर्नुपर्ने अवस्था आएको हो ।

जुम्ला : कर्णालीका उम्मेदवारलाई यसपटक आफ्नो जित महिला मतदाताको भरमा देखिएको छ । यहाँका अधिकांश पुरुष मतदाता मजदुरीका लागि भारतको कालापहाड पसेपछि गाउँमा महिला मतदाता मात्र बाँकी छन् । यही कारण आइतबार हुने निर्वाचनमा उम्मेदवारहरूलाई जितका लागि महिला मतदाताको भर पर्नुपर्ने अवस्था आएको हो ।

खेतीको काम सकेर अधिकांश पुरुष रोजगारीका लागि भारत पसेका छन्, जसका कारण पुरुष मतदाताभन्दा महिला मतदाताको संख्या बढी छ । महिला मत निर्णायक हुने भएपछि यहाँका उम्मेदवार महिलालाई रिझाउन अन्तिम कसरतमा देखिएका छन् । मौन अवधि भए पनि उम्मेदवारहरू भित्रभित्रै महिला मतदाता रिझाउन लागेका हुन् ।

जुम्लाको प्रदेशसभातर्फ क्षेत्र नम्बर १ मा स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार वाम गठबन्धन बलियो देखिएका छ । यो क्षेत्रमा एमाले र माओवादी केन्द्रका तर्फबाट नरेश भण्डारी र कांग्रेसबाट राजुसिंह कठायत उम्मेदवार छन् । कठायत आफ्नो जितका लागि महिला मतदातामाथि नै भर परेको देखिन्छ । उनले महिलाको मत तान्न पार्टीका महिला नेतालाई परिचालन गरेका छन् । उनले चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवाललाई अघि सारेका हुन् ।

‘यहाँ जितका लागि महिलाको मत निर्णायक छ’, मेयर सेजुवालले भनिन्, ‘महिलाको मन जित्न सके उम्मेदवारले जित्ने अवस्था छ, त्यसकारण पनि हामीले आमा समूह र महिला सञ्जालहरूमा फोकस दिएका छौं ।’

कर्णालीका अधिकांश पुरुष रोजगारीका लागि भारत पसेका छन्, जसका कारण पुरुषभन्दा महिला मतदाताको संख्या बढी छ ।

जुम्लामा मात्र होइन, कालिकोटमा पनि उम्मेदवारलाई जित्नका लागि महिलाकै भर पर्नुपर्ने अवस्था छ । गाउँमा अधिकांश पुरुष नभएको तथा महिलाको मतले हार–जितको फैसला गर्ने देखेपछि प्रदेशसभातर्फ क्षेत्र नम्बर १ का एमाले उम्मेदवार कुर्मराज शाही प्रचार अभियान सकेपछि महिला मतदाता फकाउन लागिपरे ।

कर्णालीका जुम्ला, हुम्ला, कालिकोट, मुगु र डोल्पाका पुरुष दसैं र तिहार मनाएर हिँउदको समयमा मजदुरीका लागि भारत जाने गर्छन् । यसपालि पनि यहाँका अधिकांश पुरुष भारत पसेपछि निर्वाचनमा सहभागी हुन नपाउने भएका हुन् ।

जुम्लाको सिंजा क्षेत्रकी महिला अगुवा लक्ष्मीकन्या बुढाले भनिन्, ‘गाउँमा महिला मात्र बाँकी छन्, यसपालि उनीहरूकै भरमा उम्मेदवारले जित्ने अवस्था छ । जसले महिलालाई रिझाउन सके, उसले जित्ने पक्का नै छ ।’

उनका अनुसार यति बेला उम्मेदवारले महिला मतदातालाई प्रभावित पार्न सक्ने महिला अगुवासँगको भेटघाटलाई बाक्लो बनाएका छन् । स्थानीय शिक्षिका र स्वयंसेविकाले महिला मतदातालाई बढी प्रभावित पार्ने देखिन्छ ।उम्मेदवारहरूले मतका लागि हारगुहार गर्न थालेपछि महिलाहरू शक्तिकेन्द्रका रूपमै देखिएका छन् ।

महिलाहरूले खानेपानी समस्या समाधानको एजेन्डालाई मुख्य प्राथमिकता दिएका छन् । महिलाहरू भान्सासँग जोडिएकाले आफूहरूले खानेपानीको समस्या झेल्नुपरेको सिंजा गाउँपालिका शनिगाउँकी गोरीकला बुढाले बताइन् । भनिन्, ‘पहिला त कसैले वास्ता गर्थेनन्, यसपालि त नेताहरू घरीघरी भोट माग्न आएका छन् । जसले खानेपानी ल्याउँछ यसपालिको भोट उसलाई नै दिने हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?