सभामुखमा कृष्णबहादुर महरा : यस्तो छ महराको चार दशक लामो राजनीतिक यात्रा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २५, २०७४
|
|
३५ पटक हेरिएको
Shares
सभामुखमा कृष्णबहादुर महरा : यस्तो छ महराको चार दशक लामो राजनीतिक यात्रा

सारांश

  • उदय जीएम काठमाडौं ।
  • नेपालको संविधान २०७२ जारी भएपछि संविधान कार्यान्वयनको महत्वपूर्ण खुडकिला बनेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछिको पहिलो सभामुखमा कृष्णबहादुर महरा हुने भएका छन् ।
  • वाम गठबन्धनको तर्फबाट दाङ– २ बाट उम्मेदवार बनेर ४० हजार ४२ मतका साथ १४ हजार १ सय ४५ को अग्रतामा विजयी महरा संविधान जारी भएपछिको पहिलो जननिर्वाचित संसदको पहिलो सभामुखमा बन्ने पक्कापक्की भएको हो ।

उदय जीएम

काठमाडौं । नेपालको संविधान २०७२ जारी भएपछि संविधान कार्यान्वयनको महत्वपूर्ण खुडकिला बनेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछिको पहिलो सभामुखमा कृष्णबहादुर महरा हुने भएका छन् । वाम गठबन्धनको तर्फबाट दाङ– २ बाट उम्मेदवार बनेर ४० हजार ४२ मतका साथ १४ हजार १ सय ४५ को अग्रतामा विजयी महरा संविधान जारी भएपछिको पहिलो जननिर्वाचित संसदको पहिलो सभामुखमा बन्ने पक्कापक्की भएको हो ।

चुनावपछि पार्टी एकता गर्ने उद्घोषका साथ घोषणा गरिएको वाम गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्रबीच पद बाँडफाँड हुँदा माओवादी केन्द्रको भागमा सभामुख परेको हो । माओवादी केन्द्रमै करीव आधा दर्जन नेताहरु सभामुख पदका लागि आकांक्षी भए तापनि अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” को चाहना महरालाई सभामुख बनाउने देखिएपछि माओवादी केन्द्रले महरालाई नै सभामुखमा पठाउने औपचारिक निर्णय शुक्रवार बिहान गरेको हो ।

तत्कालीन संयुक्त जनमोर्चा नेपालको तर्फबाट २०४८ सालमा रोल्पा क्षेत्र नं. २ बाट निर्वाचित भएका महराले कहिल्यै पछाडि फर्किनु परेन । उनले २०६४ मा भएको संविधानसभा निर्वाचनमा दाङ– ३ बाट अत्यधिक मतले जीत हात परेका थिए भने दोस्रोपटक भएको संविधानसभा निर्वाचनमा रोल्पा– २ बाट फेरि विजयी भए । प्रतिनिसभा तथा प्रदेशसभा निर्वाचनमा पुनः दाङ २ बाट उम्मेदवारी दिएका महरा भारी मतान्तरले विजयी भए । २०४८ सालमा उनीसँगै प्रतिनिधिसभामा विजयी हुने ९ जना सांसदमध्ये अहिलेसम्म निरन्तर जीत हात पार्ने नेता हुन् महरा । लामो समयसम्म संसदीय राजनीतिलाई नजिकबाट नियालेका महरा हरेक सम्वेदनशील राजनीतिक मोडहरुमा संयोजनकारी र समन्वयकारी भूमिकामा देखिन्छन् । विपक्षीलाई समेत समेटेर अगाडि बढ्ने स्वभाव भएका पाको र परिपक्व नेतालाई मुलुकले सभामुखमा प्राप्त गरेको छ ।

नजिकबाट सभामुख महरा
स्व. रविचन्द्र महरा र स्व.समुन्द्रदेवी महराको कोखमा २०१५ असार १५ गते रोल्पाको लिवाङ–७ धारापानीमा जन्मिएका हुन् महरा । बालकल्याण उच्च माध्यमिक विद्यालय रोल्पाबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका महराले महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट विज्ञान संकायमा प्रवीणता प्रमाणपत्र तह पूरा गरेका थिए । त्यसपछि त्रिभुवन विश्वविद्यालय पोखराबाट शिक्षाशास्त्रबाट स्नातक तह उत्तीर्ण गरेका थिए ।

राजनीतिक यात्रा
सभामुख महरा २०३५÷०३६ सालको विद्यार्थी आन्दोलनमा संलग्न भई राजनीतिमा सक्रिय भएका हुन् । २०३६ सालदेखि २०३९ सालसम्म नेपाल राष्ट्रिय शिक्षक संगठन रोल्पाको सचिव र केन्द्रीय प्रतिनिधिको जिम्मेवारी निर्वाह गरेका महराले २०३७ मा तत्कालीन नेकपा चौथो महाधिवेशनको पार्टी सदस्यता प्राप्त गरेका थिए । सोही सालमै पार्टीको रोल्पा जिल्ला सदस्य बनेका महराले २०३९ देखि ४१ सालसम्म अनेरास्ववियूको आठौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य, केन्द्रीय उपाध्यक्ष, पृथ्वी नारायण क्याम्पस पोखराको स्ववियु कोषाध्यक्षको जिम्मेवारी समेत कुशलतापूर्वक निर्वाह गरेका थिए ।

सामाजिक काममा उत्तिकै सक्रिय रहने महरा २०४१ देखि २०४५ सालसम्म नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाको मन्त्रीको रुपमा समेत क्रियाशील रहे । २०३६ देखि २०४८ सम्म विज्ञान र गणित शिक्षकको रुपमा १० वर्ष शिक्षण पेशामा खर्चिएका महरा २०४८ सालदेखि नेकपा (मशाल) रोल्पा जिल्ला सेक्रेटरीको जिम्मेवारीमा रहे । २०४८ को आमनिर्वाचनमा तत्कालीन संयुक्त जनमोर्चा नेपालको तर्फबाट रोल्पा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । उनी २०५० मा संयुक्त जनमोर्चा नेपालको संसदीय दलको नेता समेत भएका थिए । महरा २०५० सालमा तत्कालीन नेकपा (एकता केन्द्र)को क्षेत्रीय संगठन समितिको सदस्यको जिम्मेवारी निर्वाह गरेका थिए । २०५१ मा तत्कालीन नेकपा (माओवादी)को पश्चिचमाञ्चल क्षेत्रीय ब्युरो सदस्य बनेका महरा जनयुद्धको प्रारम्भिककाल २०५३ असारमा माओवादीको केन्द्रीय सदस्य बन्न सफल भएका थिए । केन्द्रीय सदस्य भएको २ वर्षपछि २०५५ सालमै महरा पोलिटब्यूरो सदस्य बने ।

जनयुद्धले उचाई र सफलता प्राप्त गरिरह्यो भने महराको राजनीतिक यात्रा पनि उकालो लाग्दै गयो । २०५८ सालमा माओवादी र तत्कालीन सरकारसँग पहिलो वार्ता हुने भयो । सरकार–माओवादी वार्ताका क्रममा पहिलो वार्ता टोलीको नेतृत्व गर्दै संयोजक भएर सरकारसामु प्रस्तुत भए महरा । पहिलो वार्ता भाँडिएपछि दुबै पक्ष युद्धमा होमिए । समयक्रमसँगै पुनः २०६० सालमा तत्कालीन सरकारसँग वार्ता हुने भयो । २०६० मा दोस्रो वार्ता टोलीको सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ताका रुपमा सार्वजनिक भए महरा ।

भद्र र शालीन व्यक्तित्वका धनी महरा २०६२ सालमा माओवादीको स्थायी समिति सदस्य बने । २०६२ असोजमा माओवादीको सेक्रेटारियट सदस्य बनेका महराले २०६३ मा तत्कालीन सरकारसँग वार्ताको लागि गठित तेस्रो वार्ता टोलीको संयोजक भएर माओवादी पक्षको नेतृत्व गरे । नेपालको शान्तिप्रक्रिया, द्वन्द्व व्यवस्थापन, हतियार व्यवस्थापन, सेना समायोजन लगायतका काममा कुशलतापूर्वक भूमिका निर्वाह गरेका महरा २०६३ पुसमा अन्तरिम संविधान जारीपछि निर्मित अन्तरिम व्यवस्थापिका–संसदको सदस्य तथा माओवादी संसदीय दलको नेताको जिम्मेवारी बहन गरे । २०६३ चैतमा अन्तरिम सरकारको सूचना तथा सञ्चार मन्त्री र सरकारको प्रवक्ता बनेका महरा २०६४ चैतमा सम्पन्न संविधानसभा निर्वाचनमा दाङ क्षेत्र नं. ३ बाट भारी मतान्तरसहित संविधानसभा सदस्यमा निर्वाचित भए ।

२०६५ भदौमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” नेतृत्वको पहिलो निर्वाचित गणतान्त्रिक सरकारको सूचना तथा सञ्चार मन्त्री तथा सरकारको प्रवक्ताको जिम्मेवारी निर्वाह गरेका थिए महराले । २०६५ सालमा पार्टी एकता भएपछि एकीकृत नेकपा (माओवादी)को स्थायी समिति सदस्यका रुपमा क्रियाशील रहे । २०६६ सालमा एकीकृत नेकपा (माओवादी)को अन्तर्राष्ट्रिय ब्युरोको इन्चार्जको जिम्मेवारी पनि थपिएको थियो ।

२०६७ सालमा एकीकृत नेकपा (माओवादी)का तर्फबाट नेपाल सरकारको उप–प्रधानमन्त्री तथा गृहमन्त्री बनेका महरा २०६९ मा एकीकृत नेकपा (माओवादी) को सातौं राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य तथा केन्द्रीय संगठन विभाग प्रमुख बने । २०६९ को अन्तरिम चुनावी मन्त्रिपरिषद निर्माणका लागि राजनीतिक सहमति–पत्र तथा अन्तरिम संविधान बाधा अड्काउ फुकाउ आदेश मस्यौदा निर्माण कार्यदलका सदस्य रहेका महरा २०६९ सालमा एकीकृत नेकपा (माओवादी)को सातौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य तथा केन्द्रीय संगठन विभाग प्रमुख र मध्य ब्यूरो इञ्चार्जको भूमिका निर्वाह गरे । २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा रोल्पा क्षेत्र नं. १ बाट निर्वाचित भएका महरा २०७१ एकीकृत नेकपा (माओवादी)को महासचिव निर्वाचित भए । २०७३ सालमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री बनेका महराले फेरि २०७४ सालमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हाले । २०७३ देखि हालसम्म पार्टी केन्द्रीय कार्यालय सदस्यको भूमिकामा उनी क्रियाशील छन् ।

२०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चा नेपालबाट निर्वाचित ९ जना सांसदमध्ये उनीमात्र त्यस्ता एक्ला नेता हुन् जो जनयुद्धको प्रत्यक्ष नेतृत्व गर्दै पुनः शान्तिपूर्ण राजनीतिको मूलधारमा आएर पनि सरकार तथा पार्टीको नेतृत्वदायी भूमिकालाई कुशलतापूर्वक निर्वाह गरिरहेका छन् । पदका लागि मरिहत्ते नगर्ने तर पार्टीले दिएको जिम्मेवारीलाई दत्तचित्त भएर पूरा गर्ने भद्र तथा शालीन व्यक्तित्वका धनी महरा सधैं संयोजनकारी भूमिकामा आफूलाई प्रस्तुत गर्न रुचाउँछन् । जनयुद्धकालमा श्रीमती र ससाना २ छोरा र २ छोरीसहित भूमिगत भएका महराका दुबै छोराहरु निर्मल महरा “एटम” र राहुल महरा जनसेनाका विभिन्न पदहरुमा रहेर युद्ध लडेका थिए । दुई छोरीहरु उन्नति र प्रगतिले पनि पार्टीका विभिन्न मोर्चामा रहेर काम गरेका थिए र अहिले पनि पार्टी राजनीतिमै क्रियाशील छन् ।

यो पनि पढ्नुहोस

https://shikharkhabar.com/2018/03/09/55332/

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    Durga KC

    हैन माओवादी मा महरा भन्दा अरु नेता नै छैन भन्या

    Comment Author

    Biplav Hamal

    Congratulations uncle .

    Comment Author

    Biplav Hamal

    Congratulations uncle .

    Comment Author

    Biplav Hamal

    Congratulations uncle .

    Comment Author

    Biplav Hamal

    Congratulations uncle .

    Comment Author

    Sewakar Pandey

    MAOBADIMA RAMRA RA GATILA NETA MATRA KO KHADERI MATRA HO ,DHARMA RA SANSKRITI CHHADA JATTI PANI XAN,MAHARA TA JHAN EK NO.KO CHUDAMANI,EMALEKO BAMDEV WA KANGRESS KO RAMSHARAN JASTAI ;PARTI ANUSAR MILDO NAI TA XANEKO XA NI, HAI NA RA?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?