अर्कैसँग लागेकी देउरानीद्वारा गर्भवती जेठानीको हत्या
सारांश
- धनुषा, १६ असाेज ।
- धनुषाको हंशपुर नगरपालिका वडा नम्बर ८मा अाफ्नै देउरानीले जेठानीकाे हतया गरेकाे खुलेकाे छ।
- झटियाहीस्थित रामनगरा टोलकि स्थानीय नथुनी मण्डलकी श्रीमती सञ्जु मण्डलको अाफ्नै देउरानी बिका मण्डलले हत्या गरेकाे खुलेकाे हाे ।
धनुषा, १६ असाेज । धनुषाको हंशपुर नगरपालिका वडा नम्बर ८मा अाफ्नै देउरानीले जेठानीकाे हतया गरेकाे खुलेकाे छ। झटियाहीस्थित रामनगरा टोलकि स्थानीय नथुनी मण्डलकी श्रीमती सञ्जु मण्डलको अाफ्नै देउरानी बिका मण्डलले हत्या गरेकाे खुलेकाे हाे । प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले हत्यामा संलग्नता रहेको भेटेको हाे।
आफूहरूको अनैतिक सम्बन्धको पोल खुल्ने डरले दुवै मिलेर सञ्जुको घाँटी थिची हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपेन्द्र शाहीले बताए । बाँकी कुरा थप अनुसन्धानपछि नै भन्न सकिने उनको भनाइ छ ।
यस्ताे छ घटनाकाे नालिबेलि
वैदेशिक रोजगारीमा जाँदा दाजुभाइकै परिवार ध्वस्त
करीब ६ वर्षअघि नथुनीको सञ्जुसँग र भाइ रमेशको ४ वर्षअघि बिकासँग विवाह भएको थियो । नथुनीको ४ वर्षको एउटा छोरा छ भने रमेशको छोरा १५ महिनाको पुग्यो । बिहेलगत्तै दुवै दाजुभाइ रोजगारीका लागि विदेशिए । नथुनी कतार र रमेश दुबईमा छन् । शुरूमा परिवार सगोलमै थियो । करीब एक वर्षअघि उनीहरूको भान्सा अलग भयो । आमाबुवा रमेशसँग बस्न थाले । घटना भएको राति सञ्जु आफ्ना पति नथुनीसँग मोबाइलमा कुराकानी गर्दै थिइन् । एक्कासि सम्पर्कबिच्छेद भयो ।
‘कुराकानी भइरहँदा अचानक काटियो,’ नथुनीले भने, ‘शुरूमा त निदाएको होलिन् जस्तो लाग्यो । विगतमा पनि कुरा हुँदाहुँदै निदाउँथिन् । प्रयास गरिरहेँ, सम्पर्क हुन सकेन ।’ भोलिपल्ट बिहानै नथुनीले आफ्नी श्रीमतीको मृत्युको खबर पाए । सर्पले टोकेर मृत्यु भएको भनिएको थियो । तर उनलाई विश्वास लागेन । छाँगाबाट खसेजस्तो भए ।
श्रीमतीको मृत्यु नभएर हत्या भएको हुनसक्ने आशंका गर्नुमा एउटा कारण थियो । सञ्जुले आफूलाई स्थानीय लालबाबु मण्डलले हत्या गर्ने धम्की दिएको कुरा फोनमा पहिले नै भनिसकेकी थिइन् ।
लालबाबु पनि विवाहित नै थिए, तर उनको सन्तान भएको थिएन । ‘मेरो घर किन आउँछस्, तेरो बिहे भइसकेको छ, मेरो देउरानीसँग किन हिमचिम बढाउँछस् भनेर हप्काउँदा तेरो हत्या कुनै दिन मेरै हातबाट हुन्छ भनेर धम्की समेत दिएको कुरा सञ्जुले मलाई फोनमा पहिले पनि भनिसकेका कारण सञ्जुको हत्या नै भएको हुनसक्ने आशंका गरेको थिएँ, नथुनीले भने ।
घटनापश्चात दाजुभाइ नै स्वदेश फर्किए । रमेशले श्रीमती बिकालाई भाउजूको मृत्युको कारण सोधे । तर उनले आफूलाई केही थाहा नभएको बताइन् ।
आमाबुवा दुवैजना सो दिन घरमा थिएनन् । बुवा अर्को घरमा सुतेका थिए भने आमा माइत गएकी थिइन् । घटनाबारे बताउन सक्ने बिका नै थिइन् । तर उनले केही भनिरहेकी थिइनन् ।
त्यसै क्रममा रमेशले तेजपत्ताको बोरामा लुकाइराखेको एउटा मोबाइल भेटे । सोही मोबाइलबाट बिकाले लालबाबुसँग कुराकानी गर्ने रहिछन् । बिका र लालबाबुबीचको कुराकानीको अडियो पनि भेटियो । त्यति रहस्य खुल्नेबित्तिकै बिका बच्चालाई कुरकुरे किन्न भन्दै घरबाट बाहिरिइन् । उनी तत्काल नफर्किएपछि शंका भयो । उनीहरूले प्रहरीलाई खबर गरे । रमेश आफ्ना केही साथी लिएर श्रीमतीलाई खोज्न हिँडे । बिका बाटोमा भेटिइन्, फर्काएर ल्याए । त्यसपछि केरकार गर्दा बिकाले लालबाबुसँग मिलेर सञ्जुको हत्या गरेको स्वीकारिन् ।
‘प्रहरीले पक्राउ गरेपछि मात्र मेरो श्रीमतीले हत्या गरेको कुरा मलाई पनि बतायो । लालबाबुसँग अनैतिक सम्बन्ध रहने गरेको कारण पोल खुल्ने डरले योजना बनाएर नै हत्या गरेको उनले मलाई पनि बताएकी छिन् ।’ घटनामा स्थानीय अजकुमार मण्डल र राजुकुमार मण्डलले समेत साथ दिएको बयान बिकाले दिएकी छन् ।
परिवारकै सुख र खुशीका लागि बिदेसिएका यी दाजुभाइको घर भताभुङ्ग भएको छ ।
प्रतिक्रिया