अर्थमन्त्री डा महत र भारतका अर्थमन्त्री सीतारमणबीच भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २, २०८०
|
|
२४ पटक हेरिएको
Shares
अर्थमन्त्री डा महत र भारतका अर्थमन्त्री सीतारमणबीच भेटवार्ता

सारांश

  • काठमाडौँ ।
  • भारतको गुजरातमा भइरहेको जी–२० मुलुकका अर्थमन्त्रीहरूको बैठकका अवसरमा अर्थमन्त्री डा प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सीतारमणबीच आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको छ ।
  • छलफलका क्रममा भारतीय सहायताबाट नेपालमा सञ्चालित विकास परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी समयमै सम्पन्न गर्न दुवै अर्थमन्त्रीले जोड दिनुभएको अर्थमन्त्री डा महतको सचिवालयले जनाएको छ ।

काठमाडौँ । भारतको गुजरातमा भइरहेको जी–२० मुलुकका अर्थमन्त्रीहरूको बैठकका अवसरमा अर्थमन्त्री डा प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सीतारमणबीच आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको छ ।

छलफलका क्रममा भारतीय सहायताबाट नेपालमा सञ्चालित विकास परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी समयमै सम्पन्न गर्न दुवै अर्थमन्त्रीले जोड दिनुभएको अर्थमन्त्री डा महतको सचिवालयले जनाएको छ ।

“अर्थमन्त्री महतले नेपालका प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा सम्पन्न विद्युत् निर्यातसम्बन्धी समझदारी कार्यान्वयनबाट आगामी दश वर्षमा १० हजार मेघावाट जलविद्युत् भारत निकासी भई व्यापार घाटा घटाउन मद्दत मिल्ने विषय उल्लेख गरे ।”, भारतीय समकक्षीसँगको भेटवार्ताबारे अर्थमन्त्री डा महतको सचिवालयले भनेको छ, “दुई देशबीचको व्यापार तथा लगानी सहजीकरणका लागि मिलेर काम गर्ने विषयमा एउटै मत रह्यो ।”

भारतका अर्थमन्त्रीले एनपिएचएल र भारतको इन्टरनेसनल पेमेन्ट लिमिटेडबीच भएको समझदारीबमोजिम संयुक्त विद्युतीय भुक्तानी संयन्त्र कार्यान्वयन गर्न छिटो काम अघि बढाउन अनुरोध गर्नुभएको छ । जवाफमा अर्थमन्त्री महतले उक्त परियोजना छिट्टै कार्यान्वयनमा लैजाने गरी संयन्त्र स्थापना गर्न काम भइरहेको बताए ।

भेटवार्ताका अवसरमा नेपालको सूचना प्रविधि क्षेत्रमा भारतीय लगानीको लागि राम्रो विकल्प रहेको र व्यावसायिक सम्भाव्यता एवं पर्याप्त जनशक्ति उपलब्ध भएकाले सो क्षेत्रमा लगानी बढाउन समेत अर्थमन्त्री डा महतले अनुरोध गरे ।

जी–२० सम्मेलनमा नेपाललाई पनि निमन्त्रणा गरी सहभागी हुने अवसर दिनुका साथै यो मञ्चमा नेपाललगायत कम आय भएका देशको सरोकारका विषय राख्न अवसर दिएकोमा धन्यवाद दिँदै जी–२० को गतिशील एवं सवल नेतृत्व लिएकोमा अर्थमन्त्री डा महतले भारतलाई बधाई दिए । आपसी हितका क्षेत्रमा आगामी दिनमा सम्बन्ध विस्तार गर्दै जानुपर्नेमा दुवै देशका अर्थमन्त्रीले जोड दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?