…आँखामा लुकाउँछन् त कसैले मुस्कानमा
सारांश
- विष्णु फडेरा हुन त कसैले त्यत्तिकै भनेको होइन रहेछ ।
- पत्रकारको खाना चिसो हुन्छ अनि श्रीमती तातो हुन्छन् ।
- भन्नेले जुनसुकै अर्थमा भनोस् तापनि यथार्थता यही हो ।
विष्णु फडेरा
हुन त कसैले त्यत्तिकै भनेको होइन रहेछ । पत्रकारको खाना चिसो हुन्छ अनि श्रीमती तातो हुन्छन् । भन्नेले जुनसुकै अर्थमा भनोस् तापनि यथार्थता यही हो । श्रीमती जहिले नि तातेकै हुन्छिन् पत्रकारकी । किनकि उनलाई पनि त मन हुन्छ होला सबै परिवार जम्मा भएर सँगै मिठोमसिनो खाने । तर भइदिन्छ उल्टो ।
कहिले ११ बजे त कहिले १२ नबजी घर नफर्केको दिन नै हुँदैन अनि रिसाएर तातो त हुने नै भए नि पत्रकारकी श्रीमतीहरु । पत्रकार महिलाका श्रीमानहरु तात्दैनन् भन्न खोजिएको होइन यहाँ । यस्तै सुनाउँदै थिएँ म उनलाई । बीचमा प्वाक्क बोलिन्, “तँ ढक्कनलाई के थाहा महिला मान्छेको पीडा ? तिमी पुरुषहरु जतिबेला घर आएपनि हुने अनि हामीले थोरै ढिलो गर्नेबित्तिकै पुराण सु रुहुन्छ घरमा । किन ढिलो आएको ? कता गाको थिस ? छोरी मान्छेले चाँडो घर आउनु पर्छ । यान त्यान दुनियाँभरिको सामना गर्नुपर्छ । अँ साँच्ची तेरो आजसम्मकोे पत्रकारिता कस्तो रह्यो सुना न ?” उनले चासो दिएर सोधेजस्तो लाग्यो बल्ल ।
राम्रो त म सबैलाई लाग्छु तर तबमात्र जब उनीहरुको काम लाग्छु । हो यही भएको हो मेरो जीवन । पत्रकारिताको खोल ओढेर पैसाकारिता गर्नेहरुको भीडमा हराउन नचाहेरै पत्रकारिताको यतिका बर्ष बित्यो । त्यसै क्रममा मैले जागिर गर्ने त्यतिखेरको सामुदायिक टेलिभिजन बन्द हुने भयो । तत्कालीन अवस्थामा सुर्खेतमा रहेका दुईवटा टेलिभिजनहरु सरकारले बन्द गर्ने निर्णय गर्यो । सायद पत्रकारिताको यात्रा समाप्तितिर गइरहेको महसुस भएको थियो मलाई । त्यत्तिकैमा जागिर गर्दाको पहिलो दिन मलाई टेलिभिजनममा नाम निस्केर जागिर गर्न बोलाउने एकजना दाइले बोलेको कुरा याद आयो । र, यो प्रसङ्ग जोडे मैले । बाहिर पानी परिरहेको थियो । उहाँले फोनमा भन्नुभयो, “भाइ तिम्रो नाम निस्केको छ । तुरुन्त एउटा कार्यक्रममा जानुपर्ने भयो । चाँडो अफिस पुग त ।” पहिलो अनि आदेशात्मक बोली सुनेपछि मैले भने, “दाइ पानी परिरहेको छ त कसरी आउनु ?” उताबाट तुरुन्तै जवाफ आयो, “जागिर गर्ने भए तुरुन्त आऊ, होइन भने तिम्रो इच्छा । अनि सुन, पत्रकारिता गर्ने मन भए घामपानी नभनेर डटेर जतिखेर भन्यो त्यतिखेर समाचार बनाउन जानुपर्छ ।”
यो सुनिसकेपछि मलाई लाग्यो सायद मैले पत्रकारिताको नाममा सैन्य जीवनमा त भर्ती भइन कतै ? जहाँ घामपानी नभनि भोक, प्यास नभनी राष्ट्रसेवकहरु देश र राष्ट्रियतालाई जोगाउन चौबीसै घण्टा जागाराम हुन्छन् । हो, यही भावना मनमा उत्पन्न भएको थियो मेरो । फेरि अर्को मनले सोचे बर्खा हुँदा पो साथ दिन्छन्, हिउँद लागेपछि त पातले पनि साथ तोड्छन रुखसँग । पानी नभनी खटिएर ल्याएको फुटेज अर्थात दृश्य जब टिभीमा प्रसारण भएन । तब म चकित परे । त्यो त मैले कत्तिको काम गर्ने आँट गर्ने रहेछ भनेर परीक्षा लिइएको रहेछ ।
त्यो दिनबाट आजसम्म पत्रकारिताले परीक्षा लिइरहेको छ जिन्दगीको । अहिले भोक टार्न परीक्षा त कहिले भोकै बस्न सिकाउने परीक्षा । कहिले धेरै तातो खाना खान सिक्ने परीक्षा त कहिले बरफ जस्तै चिसो खाना खान सिकाउने परीक्षा । यो बोलिरहँदा मलाई प्रदेशिँदा आमाले आफ्नै हातले खुवाएको कोदोको रोटीको याद आयो अनि रमेश बिजीको शब्द, पुरुषोत्तम न्यौपाने र बिमाकुमारी दुराले गाउनुभएको गीतको याद आयो । घर छोडेको अघिल्लो रात सम्झें । आँसु झार्दै पस्केको भात सम्झेँ । देउरालीमा धजा, भन्न त भन्थ्यौ आमा घर छोडेर नजा । मैले यति सुनाइरहँदा मेरो गला भरिएर आयो । म बोल्न नसक्ने अवस्थामा पुगेछु शायद । आँसु त त्यो पानीले उनलाई देखाउन दिएको थिएन । किनकि हामी भिजिसकेका थियौँ । शायद मनमनै धन्यबाद टक्राएँ पानीलाई र पुछे आँशुलाई । आमाको माया र बुवाको आशीर्वादलाई मनमनै स्वीकार्दै भिजेका परेलीहरु ओभाउन खोज्दै उनीतिर हेरें । शायद उनी पनि केही भावुक भएको महसुस गरे मैले । मैले मेरो चाहना उनलाई मेरो भावना सुनाएर भावुक बनाउनु थिएन । जिन्दगी पढाउनु थियो । अनि मलाई भन्न मन लाग्यो, पीडा सबैलाई हुन्छ, लुकाउने तरिका मात्र फरक हो । कसैले आँखामा लुकाउँछन् त कसैले मुस्कानमा । बस्, उनलाई यति सुनाए मेरो पत्रकारिता । केवल मुस्कानमा लुकाउने पीडा बनिरह्यो आजसम्म ।
(क्रमशः)
प्रतिक्रिया