आँधी र बाढीका कारण भियतनाममा १० को मृत्यु, कैयौँ बेपत्ता
सारांश
- हनोई, ६ साउन ।
- मध्य र उत्तरभियतनाममा भारी वर्षापछि आएको बाढी र आँधीका कारण ठूलो जनधनको क्षति भएको बताइएको छ ।
- बाढीमा परी कम्तीमा पनि दश व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।
हनोई, ६ साउन । मध्य र उत्तरभियतनाममा भारी वर्षापछि आएको बाढी र आँधीका कारण ठूलो जनधनको क्षति भएको बताइएको छ ।
बाढीमा परी कम्तीमा पनि दश व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । त्यसैगरी सो आँधीका कारण अरु कैयौँ व्यक्ति हराएका छन् ।
भियतनाममा यस वर्षको शुरुदेखि हालसम्म आएको यो तेस्रो पटकको आँधी हो । बुधबारबाट आएको यस आँधीको नाम ‘सन टिन्ह’ रहेको बताइएको छ ।

भारी वर्षाका कारण राजधानी हनोइदेखि लिएर देशका सबै क्षेत्रमा बाढी आएको छ । साथमा आँधी पनि आएको छ । जसका कारण उद्धारको काम हुन सकिरहेको छैन ।

प्राप्त पछिल्लो समाचारअनुसार भियतनामको उत्तरी पहाडी प्रान्त येन बाई र तान्ह होआमा प्रकोपले बढी क्षति पु¥याएको छ ।
यी प्रान्तमा नै १० व्यक्तिको मृत्यु भएको छ । साथै उक्त प्रान्त र अरु क्षेत्रमा गरी अन्य ११ जना वेपत्ता भएका छन् ।
हाल जारी प्रकोपका कारण करिब चार हजार घर भत्किएका छन् भने हजारौँ हेक्टर खेती लगाएको जमीन नै बगाएको छ ।

दक्षिण पश्चिमी एसियाली यस राष्ट्रमा मौसमी बर्षा र आँधीमा परी बर्षेनी सयौँ व्यक्तिको मृत्यु हुने गरेको छ । गत वर्ष पनि भियतनाममा जारी प्राकृतिक प्रकोपका कारण ३८९ व्यक्तिको मृत्यु भएको थियो । मौसमविद्ले अझै पनि भारी वर्षा हुने अनुमान गरेका छन् ।
प्रतिक्रिया