आजदेखि नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २७, २०७६
|
|
२८ पटक हेरिएको
Shares
आजदेखि नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने

सारांश

  • नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुनेभएको छ ।
  • पहिरो रोक्ने कामका लागि दुई साताका लागि सवारीसाधन सञ्चालनमा रोक लगाईएको हो ।
  • जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि पुस ११ गतेसम्म दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय यसअघि नै गरेको थियो ।

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुनेभएको छ ।

पहिरो रोक्ने कामका लागि दुई साताका लागि सवारीसाधन सञ्चालनमा रोक लगाईएको हो । जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि पुस ११ गतेसम्म दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय यसअघि नै गरेको थियो ।

सडकको निर्माण कार्य सकिए पनि पहाडको पहिरो रोक्ने काम बाँकी रहेकाले सडक बन्द गरेर काम गर्न लागिएको मुग्लिन नारायणगढ सडक आयोजनाका सूचना अधिकारी शिव खनालले बताउनुभयो । “पहिरो झर्ने विभिन्न आठ स्थानमा काम गर्नुपर्ने भएकाले हामीले सूचना प्रकाशित गरेर सडक बन्द गरेका छौँ”, उहाँले भन्नुभयो, “यो अवधिमा धमाधम काम हुन्छ ।”

ढुङ्गा झारेर काम गर्नको लागि ठेक्का सम्झौता भइसकेको सूचना अधिकारी खनालले बताउनुभयो । रु १२ करोडको लागतमा ठेक्का भएको काम ६ महिनाभित्र सक्ने योजना छ । पहाडमा झर्न लागेका पहिरो, खुकुलो माटोलाई झारेर तारजाली हाल्ने योजना रहेको उहाँले बताउनुभयो ।

नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयको मागअनुसार निर्णय गरिएको भन्दै सो अवधिमा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न जिल्ला प्रशासन कार्यालय चितवनले सबैमा आह्वान गरेको छ । सो अवधिमा नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारीसाधन पन्ध्रकिलो र मालवाहक सवारीसाधन दासढुङगामा रोकिनेछन् ।

यस्तै मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुवाहक सवारीसाधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारीसाधन लेवाटार र आबुखैरहनीमा रोकिने छ । सो अवधिमा एम्बुलेन्स, शववाहन लगायतका अत्यावश्यक सवारीसाधन सुरक्षा निकाएको समन्वयमा पास गराइने जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?