आन्तरिक पर्यटकको रोजाइमा ‘महलपोखरी’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १७, २०७६
|
|
२१ पटक हेरिएको
Shares
आन्तरिक पर्यटकको रोजाइमा ‘महलपोखरी’

सारांश

  • मोहन पौडेल पश्चिम नवलपरासीको पहाडी क्षेत्रमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल महलपोखरी आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।
  • उचित प्रचारप्रसार र यातायातको असुविधाको कारण ओझेलमा परेको महलपोखरीमा पछिल्लो समय घुमफिर, मनोरम दृश्यावलोकन तथा वनभोजका लागि आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।
  • वर्षातको समयमा यहाँ आवतजावत गर्न कठिनाइ हुने भएकोले हिँउदको समयमा पर्यटकको आगमन बढ्ने गरेको सुनवल–४ का वडाध्यक्ष वीरबहादुर गुरुङले बताउनुभयो ।

मोहन पौडेल

पश्चिम नवलपरासीको पहाडी क्षेत्रमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल महलपोखरी आन्तरिक पर्यटकको रोजाइमा परेको छ । उचित प्रचारप्रसार र यातायातको असुविधाको कारण ओझेलमा परेको महलपोखरीमा पछिल्लो समय घुमफिर, मनोरम दृश्यावलोकन तथा वनभोजका लागि आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।

वर्षातको समयमा यहाँ आवतजावत गर्न कठिनाइ हुने भएकोले हिँउदको समयमा पर्यटकको आगमन बढ्ने गरेको सुनवल–४ का वडाध्यक्ष वीरबहादुर गुरुङले बताउनुभयो । “अहिले महलपोखरीमा आन्तरिक पर्यटकहरु निकै गइरहेका छन्, शीतल र मनोरम वातावरणले लोभ्याएको छ”, उहाँले भन्नुभयो ।

ऐतिहासिक गजधम्बा देवीको मन्दिर रहेको सो स्थलको रमणीय वातावरणले जो कोहीलाई लोभ्याउने गरेको छ । तराईको अत्यधिक गर्मीका बेला त्यहाँ चल्ने चिसो हावा, कुहिरोले ढाकिने पुस माघको चिसोको बेला लाग्ने पारिलो घाम, हरियाली, रमणीय अनि सुन्दर वातावरण, वारि तराईको समथर फाँट अनि पारि पाल्पाको चुरे पहाडको दृश्यावलोकनका लागि महलपोखरी प्रख्यात छ ।

करिब ११ किलोमिटरको छोटो दूरीमै पहाडी भेग र शीतल मौसम अनि मनमोहक वातावरणको मज्जा लिन महलपोखरी गन्तव्य बनेको छ । महलपोखरी पाल्पाका सेनवंशी राजासँग जोडिएको गजधम्बादेवी मन्दिर अनि सत्यवती बजैसँग जोडिएको स्थल हो । सुनवल बजारबाट ११ किलोमिटर उत्तर सुनवल नगरपालिका–४ चुरे पहाडमा अवस्थित यो स्थलमा पुग्न पहाडी कच्ची बाटो छिचोल्दै जानुपर्छ ।

यहाँ पाल्पाको तत्कालीन सेनवंशी राजा त्रिवेणीधाम आवतजावत गर्दा पुज्ने गरेको गजदम्बा देवीको मन्दिरमा १९८४ सालमा चढाएको घण्ट रहेको छ । त्यही नजिकै पाल्पाबाट सत्यवती बजै सोही बाटो भएर जाने क्रममा बास बसेकाले ठूलो खाल्डो पछि महलपोखरीका रुपमा परिणत भएको स्थानीयवासी बताउँछन् ।

यहाँ पुरानो मगरवस्ती छ । पर्यटकलाई लक्षित गरी यहाँ सुनवल नगरपालिकाको पहलमा घरवास प्रवद्र्धन गर्न मगर समुदायलाई एक महिनाको तालीम प्रदान गरिएको सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्यालले बताउनुभयो । यहाँको पुरानो पोखरी भने अतिक्रमण भई खेतीपाती हुन थालेपछि लोप भएको छ । चार बिघामा फैलिएको पोखरीमा वर्षाको समयमा मात्र पानी देख्न पाइन्छ ।

सुनवल बजारबाट यहाँसम्म पुग्न सडक स्तरोन्नति क्रमशः अघि बढाइएको छ । अहिले सुनवलदेखि बेलारीगाउँसम्म कालोपत्रे सडक रहेको छ भने यस वर्ष गाउँभन्दा केही माथिसम्म सडक कालोपत्रे गर्ने योजना रहेको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । प्रदेश नं ५ सरकारले उक्त सडक कालोपत्रेका लागि यस वर्षका लागि रु ५० लाख बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । सोही बाटोमा पर्ने पुलको लागि पनि बजेट विनियोजन भएको छ । शुरुमा पोखरीको बीचमा मौलो रहेकाले मौलो पोखरीभन्दा भन्दै पछि यसको नाम महलपोखरी रहन गएको स्थानीयको भनाइ छ । सो ठाउँमा बडादशैँमा ठूलो मेला लाग्दछ भने चैतेदशैँको बेला पनि भक्तजन पुग्ने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?