उपकुलपति डा. भण्डारीका कारण राप्ती उपक्षेत्रीय अस्पताल डामाडोल, भविष्य धरापमा
सारांश
- केशरमान बुढाथोकी काठमाडौं, १७ बैशाख ।
- गत पुस ६ गते विहीबारको मन्त्रीपरिषदको बैठकले दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने निर्णय गर्दा दाङ र आसपासका जिल्लावासी निकै खुशी भएका थिए ।
- त्यसको केही महिना पनि बित्न नपाउँदै प्रतिष्ठानकी उपकुलपति डा.
केशरमान बुढाथोकी
काठमाडौं, १७ बैशाख । गत पुस ६ गते विहीबारको मन्त्रीपरिषदको बैठकले दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने निर्णय गर्दा दाङ र आसपासका जिल्लावासी निकै खुशी भएका थिए । त्यसको केही महिना पनि बित्न नपाउँदै प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीको पछिल्लो क्रियाकलापले जनता निराश बनेका छन् । अस्पताल डामाडोल भएको छ भने भविष्य धरापमा छ ।
दाङमा उच्चस्तरको सरकारी मेडिकल कलेज सञ्चालन गरेर यस क्षेत्रका जनतालाई सेवा दिने उद्देश्यले सरकारले प्रतिष्ठान स्थापनाको निर्णय गरेको भए तापनि काम गर्ने निकायले सही तरिकाले कार्यान्वयन नगर्दा अस्पताल डामाडोल भएको हो ।
स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने सरकारको निर्णयपश्चात शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रतिष्ठानको उपकुलपतिमा डा. संगीता भण्डारीलाई नियुक्त गरेको थियो । डा. भण्डारीले प्रतिष्ठानलाई स्थापित गर्ने र सहजतापूर्वक यसलाई सञ्चालन गर्ने भन्दा पनि अनावश्यक कुरामा चासो दिँदा अस्पतालको भविष्य अन्योलमा परेको हो ।
महेन्द्र अस्पतालको नामले २०१६ मा स्थापना भएको यस अस्पताल राप्ती उपक्षेत्रीय अस्पतालका रुपमा स्तरोन्नति भएको थियो । हाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम प्राप्त गरेपनि यसले आफ्नो रुप भने धारण गर्न सकेको छैन ।
सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको घोषणा गरेपछि उपकुलपतिमा डा. संगीता भण्डारीलाई नियुक्त गरेसँगै विवाद उत्पन्न भएको हो । विवादका कारण यो अस्पतालको भविष्य धरापमा परेको छ ।
उपकुलपतिले अस्पताल हडप्न खोजेपछि चुलियो विवाद
उपकुलपति नियुक्त भएलगतै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्पर्क कार्यालय काठमाडौंमा खोलेर डा. भण्डारी काठमाडौंमै ठाँटसँग बस्न थालिन् । पछि स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य कार्यालय दाङलाई लेखेको पत्र बोकेर दाङ आइन् । पत्रमा लेखिएको थियो, “स्वास्थ्य विज्ञान प्रतिष्ठानको नियमित कामकाज सञ्चालन गर्नका लागि २ वटा कोठा उपलब्ध गराइदिनू ।”
जनस्वास्थ्य कार्यालयलाई लेखिएको पत्रमा जे लेखिए तापनि उपकुलपति डा. भण्डारीलाई भने अस्पतालको हाताभित्रै प्रतिष्ठानको ब्यानर झुण्ड्याउनुपर्ने भयो । उनले मागिन् अस्पतालभित्रै कोठा । अनि चुलियो विवाद अस्पताल र प्रतिष्ठानबीच । विवाद बढेपछि एकातर्फ प्रतिष्ठानको कामकाज अगाडि बढ्न सकेको छैन भने अर्कोतर्फ अस्पतालले स्तरीय सेवा दिनका लागि थप्दै गरेको भौतिक संरचनाको काम समेत अगाडि बढाउन सकेको छैन । त्यसैले अस्पतालका अत्यावश्यक सेवा समेत प्रभावित भएका छन् ।
दाङसँग कुनै साइनो नभएकाहरु सिनेटमा
प्रतिष्ठान सञ्चालन गर्न उपकुलपति डा. भण्डारीले एक सिनेट तयार गरेकी छिन् । सिनेटमा बसेका एकजना बाहेक अन्य कसैको पनि दाङसँग कुनै गोरु बेचेको साइनो जोडिएको छैन । उपकुलपति भण्डारीले मनपरी तरिकाले सिनेट तयार गरेर अस्पताल हडप्न खोज्दा पनि दाङका राजनीतिक दल मौन छन् । नागरिक समाजले डा. भण्डारीकै समर्थन गरेको बताउँछन् अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट जनार्दन पन्थी ।
सिनेटमा बाँकेकी भवानी राणा, बाँकेकै डा. सुरेशकुमार कनौडिया, रुपन्देहीका प्रा.डा. सलमा केसी राईलाई सिफारिस गरेकी छन् । चन्दादाता भनेर काठमाडौंका बिसुप्रसाद सुवेदी र नवराज ढकाल परेका छन् । यी सबै कसैको पनि अस्पताल र दाङसँग कुनै साइनो छैन भने दाङबाट देवनारायण चौधरी मात्र सिनेटमा परेका छन् ।
गर्नुपर्ने काम एकातिर विवाद अर्कोतिर
प्रतिष्ठानकी उपकुलपति संगीता भण्डारीले पद सम्हालेपछि प्रतिष्ठानलाई सुरुवात गर्न जग्गा व्यवस्थापन गरी भौतिक संरचना निर्माणतर्फ लाग्नुको साटो अस्पतालमै आँखा गाडेपछि सबैतिर लथालिङ्ग भएको हो । प्रक्रियागत ढंगले अस्पतालको जग्गा व्यवस्थापन गरी भौतिक संरचना तयार पारेर मेडिकल कलेज स्थापना गरी बल्ल प्राक्टिकल कक्षाका लागि आवश्यक पर्ने अस्पताल आफू उपकुलपति भएदेखि नै आफ्नो मातहतमा आइसकेकाले अस्पताल आफूलाई हस्तान्तरण गर्नुपर्ने भण्डारीको दावी छ । यता अस्पतालले भने मन्त्रालयले आवश्यक निर्देशन नदिएका कारण तत्कालै अस्पताल हस्तान्तरण गर्न नसकिने बताउँदै आएको छ ।
अर्कोतर्फ उपकुलपति डा. संगीता भण्डारी भने राप्ती स्वास्स्य विज्ञान प्रतिष्ठान ऐन नै जारी भइसकेको अवस्थामा राप्ती उपक्षेत्रीय अस्पताल स्वतः प्रतिष्ठान मातहतमा आइसकेकाले तत्काल हस्तान्तरण गर्नुपर्ने दावी गर्दै आएकी छन् ।
थन्किए आइसीयु र एनआइसीयु मेसिन
महेन्द्र अस्पतालबाट उपक्षेत्रीय अस्पतालमा स्तरोन्नति भएको लामो समय बितिसके पनि आइसीयु (एनआइसीयु)को सुविधा नहुँदा अस्पतालले सानातिना समस्याका बिरामी पनि रिफर गर्नुपर्ने वाध्यतामा छ । यहाँ दक्ष चिकित्सक भए तापनि इमरजेन्सी अवस्थामा रहेको बिरामीलाई अत्यावश्यकीय स्वास्थ्य सेवाको अभावमा रिफर गर्नुपर्ने बाध्यतालाई मध्यनजर गरेर आइसीयु र एनआइसीयुका लागि आवश्यक भेन्टिलेटर मेसीन अस्पतालमा ल्याइएको छ । यद्यपि कर्मचारीको अभावमा ती मेसिनहरु “कौवालाई बेल पाक्यो, हर्ष न विस्मात”को अवस्थामा छन् । ती औजार काम नलाग्ने अवस्थामा पुगेका छन् ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट जनार्दन पन्थीले एनआइसीयु सञ्चालनका भेन्टिलेटर मेसिन अस्पतालमा आए तापनि कर्मचारी भर्ना प्रक्रिया रोकिएका कारण सञ्चालमा ल्याउन नसकिएको जानकारी दिए । डा. पन्थीका अनुसार २ वर्षअघि नै भेन्टिलेटर मेसिन अस्पतालमा आइसके पनि अझैं जडान हुन सकेका छैनन् । उनी भन्छन्, “विगतमा भवनको अभाव भएको तर अहिले भवन निर्माण गरेर एनआइसीयु सञ्चालनमा ल्याउने प्रक्रियामा थियौ । तर यो विवादका कारण एनआइसीयु सञ्चालनका लागि तय गरिएको चिकित्सक भर्ना प्रक्रिया रोकियो ।” प्रतिष्ठानले अस्पताल आफू मातहतमा आइसकेको दावी गरेपछि विवाद नगरी कर्मचारी भर्ना रोक्नुपरेको पन्थीले बताए । हाल भेन्टीलेटर मेसिन स्टोरमा थन्क्याइएको छ ।
प्रतिक्रिया