समानुपातिकमा पुरुषलाई राहत

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २७, २०७४
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २७ माघ -राष्ट्रियसभा निर्वाचनमा धेरै महिला निर्वाचित भएपछि प्रतिनिधिसभाको समानुपातिकतर्फ उनीहरूको संख्या केही घटेको छ।
  • एमालेबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ दुई र राष्ट्रियसभामा ११ गरी १३ महिला निर्वाचित भएका छन्।
  • कांग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ महिला निर्वाचित नभए पनि राष्ट्रियसभामा ६ जना छानिएका छन्।

काठमाडौं, २७ माघ -राष्ट्रियसभा निर्वाचनमा धेरै महिला निर्वाचित भएपछि प्रतिनिधिसभाको समानुपातिकतर्फ उनीहरूको संख्या केही घटेको छ। एमालेबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ दुई र राष्ट्रियसभामा ११ गरी १३ महिला निर्वाचित भएका छन्। कांग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ महिला निर्वाचित नभए पनि राष्ट्रियसभामा ६ जना छानिएका छन्। माओवादीबाट भने प्रतिनिधिसभा र राष्ट्रियसभामा तीन–तीन महिला निर्वाचित भएका छन्।

नेपालको संविधानको धारा ८४ को उपधारा (८) मा संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रत्येक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ महिला हुनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार एमालेले प्रतिनिधिसभाको समानुपातिकतर्फ ४१ सिटमध्ये ३७ जना महिला पठाउनुपर्ने छ भने चार जना मात्रै पुरुष पर्नेछन्। जसमा खस आर्यबाट मुकुन्द न्यौपाने, पिछडिएको क्षेत्रबाट मोहन बानियाँ, जनजातितर्फ विजय सुब्बा र मधेसीतर्फ मोतीलाल दुगड पर्ने निश्चित भएको छ। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

१७ सिट पाएको माओवादीले जम्मा एउटा सिटमा एक जना मात्रै पुरुष छनोट गर्नेछ। माओवादीले पिछडिएको क्षेत्रबाट प्रेमबहादुर सिंहलाई छनोट गर्ने भएको छ। पिछडिएको क्षेत्रबाट चार दशमलव तीन प्रतिशत कोटा पुर्‍याउनुपर्ने कारण पनि माओावादीबाट शाहीले अवसर पाएका हुन्।

कांग्रेसले पाएको ४० सिटमा भने पुरुष प्रतिनिधित्व आधा हुनेछ। पुरुषको सिटमा क–कसलाई राख्ने टुंगो छिट्टै कार्यसमिति बैठक बसेर निर्णय गर्ने नेता मिनेन्द्र रिजालले बताए। राजपाले ६ जना र संघीय फोरमले ५ जना महिलाको प्रतिनिधित्व गराउनुपर्नेछ।

प्रतिनिधिसभा समानुपातिकतर्फ बन्द सूची पेस गरेका ४९ राजनीतिक दलमध्ये पाँचवटाले मात्रै सिट प्राप्त गरेका हुन्। एमाले ४१, कांग्रेस ४०, माओवादी १७, राजपा ६ र संघीय फोरमले ६ सिट प्राप्त गरेका हुन्। ४४ वटा दलले तीन प्रतिशतभन्दा कम मत प्राप्त गरेका छन्।

दलहरूले सम्बन्धित समावेशी समूहको प्रतिनिधित्व हुने गरी अन्तिम बन्दसूचीको समावेशी समूहको प्राथमिकताक्रमका आधारमा उम्मेदवार छनोट गरी प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० को उपदफा (५) बमोजिम केन्द्रीय कार्यकारिणी समिति वा सोसरहको समितिबाट निर्णय गरी माघ २९ गते साँझ ५ बजेभित्र नामावली निर्वाचन आयोगमा पेस गर्न आयोगले शुक्रबार दलहरूलाई प्रचाचार गरेको छ।

आयोगले मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ दलहरूले प्राप्त गरेको सिट संख्या तोकी शुक्रबार नै जानकारी गराएको आयुक्त नरेन्द्र दाहालले बताए।

दुवै सदनमा गरी ३३ प्रतिशत महिला पूरा गर्नुपर्ने भन्दै निर्वाचन आयोगले दुई महिनायता समानुपातिकतर्फको नतिजा रोकेको थियो। प्रतिनिधिसभा तथा राष्ट्रियसभाको सम्पूर्ण नतिजा फागुन २ गतेसम्म राष्ट्रपतिसमक्ष बुझाउने आयोगको तयारी छ। आयुक्त दाहालले भने, ‘दलले २९ गते नै सूची मिलाएर बुझाएको खण्डमा सोही दिन, नत्र सञ्चाउनका लागि थप दुई दिन दिने दिइने हुँदा फागुन २ गतेसम्म आयोगले नतिजा राष्ट्रपतिलाई बुझाउनेछ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?