एकता प्रक्रियाले पूर्णता पाएसँगै नेकपामा जिम्मेवारी तोक्न सकस

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ५, २०७६
|
|
२६ पटक हेरिएको
Shares
एकता प्रक्रियाले पूर्णता पाएसँगै नेकपामा जिम्मेवारी तोक्न सकस

सारांश

  • काठमाडौं ।
  • सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकताको अन्तिम गृहकार्यमा सकिएको जनाएको छ ।
  • आइतबार बस्ने सचिवालय बैठकमा एकताका बाँकी काम टुंगो लगाउनेगरी गृहकार्य सकिएको पार्टीले जनाएको हो ।

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकताको अन्तिम गृहकार्यमा सकिएको जनाएको छ । आइतबार बस्ने सचिवालय बैठकमा एकताका बाँकी काम टुंगो लगाउनेगरी गृहकार्य सकिएको पार्टीले जनाएको हो । यद्यपि पूर्वएमाले र पूर्व–माओवादीबीच भागबण्डा भए पनि आफ्नो भागमा परेका पदमा कसलाई जिम्मेवारी दिने भन्नेमा दुवै पक्षमा अन्योल कायम छ ।

पूर्व– एमालेको तुलनामा पूर्व–माओवादीमा आफ्नो कोटामा कसलाई जिम्मेवारी दिने भन्ने निर्णय गर्न कठिन रहेको स्रोत बताउँछ । पूर्व–एमालेको भागमा परेका १८ विभागमध्ये अधिकांशमा नेतृत्वकर्ताको टुंगो लागिसकेको र पूर्व–माओवादीतर्फ भने नाम टुंगो लाग्न बाँकी रहेको जनाइएको छ । शुक्रबार प्रधानमन्त्री निवासमा बसेको पूर्वएमाले पक्षधर नेताहरूको बैठकले आफ्नो भागमा परेका १८ विभागमध्ये संगठन विभाग र विदेश विभागको नेतृत्व टुंग्याएको हो । बालुवाटार स्रोतका अनुसार संगठन विभागको जिम्मेवारी वामदेव गौतमले पाएका छन् भने विदेश विभागको जिम्मेवारी माधवकुमार नेपाललाई दिनेगरी सहमति भएको छ ।

संगठन विभागमा रामबहादुर थापा र ईश्वर पोखरेलको समेत दाबी थियो । गौतमलाई जिम्मेवारी दिन पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक भएपछि सहमति जुटेको बताइएको छ ।

त्यस्तै, वरिष्ठ नेता झलनाथ खनाललाई नीति तथा प्रतिष्ठान विभाग दिने स्रोतले जनाएको छ । प्रचार विभागमा नारायणकाजी श्रेष्ठ र संसदीय विभागको जिम्मेवारी सुवासचन्द्र नेम्वाङलाई दिने निश्चितजस्तै भएको छ ।

तत्कालीन माओवादीको कोटामा परेका विभागको नेतृत्व कसले लिने भन्ने टुंगो लागेको छैन । यसअघि, पोलिटब्युरो गठनमा समेत पूर्व–माओवादी पक्षले आफ्नो कोटाअन्तर्गत नाम दिन नसक्दा अझै अन्योल कायम छ ।

तत्कालीन माओवादीको भागमा प्रचार विभाग र आर्थिक विभागलगायत परेको छ । पार्टी प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई प्रचार विभागको जिम्मेवारी दिने गरी अध्यक्षद्वयबीच सहमति भए पनि श्रेष्ठले यो विभागमा अरुचि देखाएको नेकपा स्रोतले बताएको छ । श्रेष्ठले स्कुल विभागको प्रमुखमा दाबी गर्दै आएका छन् ।

त्यसो त ईश्वर पोखरेलले पनि स्कुल विभागमा रुचि देखाएका थिए । अध्यक्षद्वय, महासचिव र बहालवाला मन्त्रीलाई विभागीय जिम्मेवारी नदिने सहमति यसअघि नै नेताहरूबीच भइसकेकाले पोखरेलले विभागको नेतृत्व पाउने सम्भावना सकिएको छ । आर्थिक विभागको प्रमुखमा स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई जिम्मेवारी दिनेमा अध्यक्ष पुष्पकमल दाहाललगायत पूर्व– माओवादीका प्रभावशाली नेताहरूबीच सहमति जुटेको बताइन्छ । शनिबारसम्ममा पूर्वएमाले र पूर्व–माओवादी पक्षले आ–आफ्ना भागमा परेका विभाग तथा आयोगको नेतृत्व र सदस्यहरूको नामावली टुंग्याएर आइतबार बस्ने सचिवालय बैठकमा पेस गर्ने र सो बैठकले अनुमोदन गर्ने गरी तयारी भइरहेको सचिवालय स्रोतले जनाएको छ ।

नेकपाको एकता घोषणा भएको लामो समयपछि एकताका केही कामहरू टुंगिएका छन् । अहिलेसम्म टुंगो लागेका संरचनामा पूर्व– एमालेका नेताहरूको प्रतिनिधित्व बढी देखिएको छ । ९ सदस्य रहेको सचिवालयमा पूर्व–एमालेका ६ पूर्व–माओवादीका ३ जना छन् । त्यसैगरी, ४५ सदस्य रहेको स्थायी कमिटीमा पूर्व–एमालेबाट २६ र पूर्व–माओवादीबाट १९ जना छन् ।

४४१ जना सदस्य रहेको केन्द्रीय समितिमा पूर्व–एमालेबाट २४१ र पूर्व–माओवादीबाट २ सयजना सदस्य छन् । प्रदेश कमिटीमा तत्कालीन एमालेबाट ६ र माओवादीको भागमा एक मात्रै प्रदेश इञ्चार्ज परेको छ । प्रदेश अध्यक्षमा तत्कालीन एमालेका २ र तत्कालीन माओवादीका ५ अध्यक्ष छन् । प्रदेश कमिटीको भागबण्डामा प्रदेश पदाधिकारीसहित प्रदेश सदस्य संख्यामा ५३.३९ प्रतिशत तत्कालीन एमाले र तत्कालीन माओवादीका ४६.६० प्रतिशत छन् । सात प्रदेश कमिटीमा इञ्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिव गरी २८ पदाधिकारी छन् ।

त्यसैगरी, ७७ जिल्ला कमिटीमध्ये पूर्व–एमालेको भागमा ४४ र ३३ जिल्लामा पूर्व–माओवादीले नेतृत्व गरेको छ । ७७ मध्ये ४४ जिल्लामा पूर्व–माओवादी र ३३ जिल्लामा पूर्व–एमालेका नेता सचिवको जिम्मेवारीमा छन् ।

जिल्ला कमिटीको सदस्य संख्यामा एमाले ५५ र माओवादी ४२ प्रतिशतकै आधारमा टुंगिएको छ । जिल्ला कमिटीको सदस्य संख्या न्यूनतम १२५ सदस्यीय हुने तर एक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबराबर थप १० सदस्यका हिसाबले रहने व्यवस्था छ ।

त्यसैगरी, २२ जनवर्गीय संगठनमा पूर्व–एमालेले १६ र पूर्व–माओवादीले ६ मा नेतृत्व पाएको छ । ३२ वटा विभागमा १८ पूर्व–एमालेको भागमा परेको छ । भने १४ पूर्व–माओवादीको भागमा परेको छ । ३५ सदस्य रहने विभागमा पूर्व–एमालेबाट २० र पूर्व–माओवादीबाट माओवादीका १५ सदस्य रहनेछन् ।

त्यसैगरी, ७७ वटा जिल्ला इञ्चार्जमध्ये पूर्व–एमालेले ४६ र पूर्व–माओवादीले ३१ जिल्ला इञ्चार्ज पाएको छ । तीन आयोग रहेको नेकपामा पूर्वएमाले २ र पूर्व–माओवादीको भागमा १ आयोग परेको छ । ३१ सदस्य रहने आयोगमा १८ जना पूर्वएमाले र १३ जना पूर्व–माओवादीको भागमा परेका छन् ।

२२१ सदस्य रहने नेकपाको केन्द्रीय सल्लाहकार समितिमा पूर्व–एमालेबाट १२१ र पूर्व–माओवादीबाट १ सय सदस्य रहनेछन् । त्यसैगरी, ज्येष्ठ कम्युनिस्ट मञ्च २२१ सदस्य हुनेछ । जसमा पूर्व–एमालेका १२१ र पूर्व–माओवादीका १ सय सदस्य रहनेछन् । १४७ जना सदस्य रहने पोलिटब्युरोमा पूर्व–एमालेबाट ८१ र पूर्वमाओवादीबाट ६६ नेता सदस्य रहनेगरी सहमति जुटेको छ ।

विप्लव समूहका नेता माइला लामा पक्राउ
काठमाडौं। सरकार र विप्लव समूहबीच वार्ताको चर्चा चलिरहेका बेला विप्लव समूहका नेता धमाधम पक्राउ पर्न थालेका छन्। यसैबीच शनिबार राति प्रहरीले विप्लव समूहका काठमाडौं उपत्यका इन्चार्ज माइला लामालाई पक्राउ गरेको छ। प्रहरीले शनिबार राति राजधानीको काँडाघारीबाट माइला लामा र उनका एक कार्यकर्ता रेशम तामाङलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रमुख सहकुल थापाले जानकारी दिए।

‘शनिबार राति काँडाघारीबाट माइला लामा र रेशम तामाङलाई पक्राउ गरिएको छ,’ एसएसपी थापाले भने, ‘आफन्तको घरमा बसिरहेको अवस्थमा उनीहरुलाई पक्राउ गरिएको हो।’ माइला लामा काठमाडौंका नख्खु, अनामनगर, सुकेधारा लगायतका बिभिन्न स्थानमा भएका बम विस्फोटमा संलग्न रहेको प्रहरीको दाबी छ।

२०६४ सालको पहिलो संविधानसभा काठमाडौंबाट चुनाव लडे पनि पराजित भएका थिए। लामा तत्कालीन माओवादीको जनसाँस्कृतिक महासंघको अध्यक्ष समेत थिए। तर, पार्टी बिभाजनपछि मोहन वैद्य हुँदै उनी विप्लव समूहमा लागेका थिए। उनकै नेतृत्वमा काठमाडौंमा चन्दा आतंक हुनुका साथै वम विस्फोटका घटना समेत भएको प्रहरीको दाबी छ।

यस्तो छ विप्लवको भूमिगत सञ्जाल
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको सञ्जाल भूमिगत शैलीमा चलेको छ। सरकारले प्रतिबन्ध लगाए पनि समूहले भूमिगत शैलीमा केन्द्रदेखि स्थानीय तहसम्म संरचना विस्तार गरेको छ। अन्य राजनीतिक दलजस्तो विधानका आधारमा निश्चित समयका लागि एकैखाले संरचना बनाउनुभन्दा परिस्थिति ख्याल गर्दै विप्लव समूहले आन्तरिक संरचना बनाउने र भत्काउने गर्दै आएको छ।

२८ फागुनमा सरकारले प्रतिबन्ध लगाउनुअघि एउटा संरचनामा चलेको विप्लव समूह अहिले अलग संरचनाका आधारमा चलेको छ। ‘समयानुकूल समूह संरचना हेरफेर गरी अनुकूलताका आधारमा संगठन निर्माण गरी हामी अगाडि बढिरहेका छौं’, विप्लव समूहका एक केन्द्रीय सदस्यले भने, ‘प्रतिबन्धपछि पार्टीले केही संरचना हेरफेर गरेको छ।’ उनका अनुसार देशभित्र ४ वटा कमान्ड, १२ वटा ब्युरोमार्फत समूहको गतिविधि चलेको छ।

समूहको माथिल्लो निकायमा ५ सदस्यीय स्थायी समिति छ। यो केन्द्रीय समिति रोल्पाको थवाङमा २०७३ फागुनमा सम्पन्न आठौं महाधिवेशनले चयन गरेको हो। ‘केन्द्रीय समितिको संख्या केही घटेको छ। केही नेता कार्यकर्ताले यस बीचमा समूह छोडेपछि जिम्मेवारी हेरफेर भएको हो’, ती नेताले भने।

सरकारले प्रतिबन्ध लगाउनुअघि १६ वटा ब्युरो थियो। तर सरकारी प्रतिबन्धपछि ब्युरो इन्चार्ज रहेका केही नेता निष्क्रिय र केही नेता पक्राउ परेपछि चैतको स्थायी समिति बैठकबाट ब्युरो संरचनामा हेरफेर गरेको हो। त्यसबेलाका मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वली (सुदर्शन) पक्राउ परेपछि बसेको स्थायी समिति बैठकले समूहको संरचनामा हेरफेर गर्दै युद्धकालीन संरचना निर्माण गरेको हो।

१६ बाट ४ वटा ब्युरोलाई अन्य ब्युरोमा गाभेर विप्लव समूहले १२ वटा ब्युरो बनाएको छ। यो संरचना गोप्य छ। प्रतिबन्धित समूहका कतिपय नेता–कार्यकर्तालाई देशभरका आन्तरिक संरचनाका विषयमा जानकारीसमेत छैन। ५ सदस्यीय स्थायी समितिमध्ये १ जना स्थायी समिति सदस्य हेमन्तप्रकाश वली (सुर्दशन) जेलमा छन्। अन्य ४ नेतामध्ये महासचिव विप्लवले सिंगो पार्टीको कमान्ड गरेका छन् भने अन्य तीन नेताले क्षेत्रीय कमान्डको जिम्मेवारी सम्हालेका छन्।

केन्द्रीय तहमै नेतृत्व (समूह महासचिव), स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति गरी चार तहको संरचना छ। त्यसपछि कमान्ड, कमान्डअन्तर्गत ब्युरो र ब्युरोअन्तर्गत जिल्ला कमिटी रहने गरी संरचना बनाइएको छ। विगतमा माओवादीले जस्तै युद्धकालीन संरचना बनाएर विप्लव समूहले गतिविधि अगाडि बढाएको छ।

पूर्वी कमान्डमा सन्तोष बुढामगर (विषम), मध्यकमान्डमा प्रवक्ताको जिम्मेवारीमा समेत रहेका खडकबहादुर विश्वकर्मा (प्रकाण्ड), मध्यपश्चिम कमान्डमा चन्द्रबहादुर चन्द (वीरजंग) र पश्चिम कमान्डमा धर्मेन्द्र बास्तोला (कञ्चन) ले जिम्मेवारी पाएका छन्। यीमध्ये बुढा, विश्वकर्मा र बास्तोला समूह स्थायी समिति सदस्य हुन्। चन्द भने पोलिटब्युरो सदस्य हुन्। उनी महासचिव विप्लवका दाजु हुन्। यसअगाडि उनी लुम्बिनी ब्युरो इन्चार्ज थिए।

प्रत्येक कमान्डमा तीन–तीन वटा ब्युरो रहने गरी संरचना बनाइएको छ। पूर्वी कमान्डअन्तर्गत मेची–कोसी ब्युरो, सगरमाथा र जनकपुर ब्युरो छन्। मेची–कोसीमा अनु (उमा भुजेल), सगरमाथामा अधिकार (दीपेश राई) र जनकपुरमा सन्देश (सन्देश पौडेल) इन्चार्ज छन्। भुजेल पोलिटब्युरो सदस्य हुन् भने राई र पौडेल केन्द्रीय सदस्य। अन्नपूर्णपोष्टबाट

आइतबारदेखि शनिबारसम्मको साप्ताहिक राशिफल
१. मेष राशि
साताको सुरुवात अनुकुल नरहला। अनावश्यक यात्रा तथा खर्च हुनसक्छ। आफ्नो स्वास्थ्यको विशेष ध्यान दिनुहोला। व्यर्थको कार्यमा आफ्नो उर्जा, समय र पैसा को खर्च हुनसक्छ। साताको मध्य अनुकुल रहनेछ। सुख र आनन्द प्राप्त हुनेछ। वस्त्र,आभूषण तथा दाम्पत्य सुख आदि प्राप्त हुनेछ। मन प्रसन्न रहला। साताको अन्त्य तिर मानसिक असन्तोष पैदा हुनेछ। आफ्नो कुटुम्ब हरूसँग सुमधुर सम्बन्ध बनाउने प्रयत्न गर्नुहोला। कार्य्सिद्धिमा बाधा अडचन आउनेछ। घाटा बाधा आदिको सामना गर्नुपर्ला। स्वास्थ्यमा प्रतिकूल असर आदि हुनसक्छ। पढाइमा मन जाँदैन।

२. बृष राशि
साताको सुरुवातमा व्यापार व्यवसायमा लाभ प्राप्त होला। धनलाभ होला उत्तम भोजन प्राप्त हुनसक्छ र सन्तानबाट पनि सन्तुष्टि प्राप्त हुनसक्ला। स्त्री बाट पनि सहयोग मिल्न सक्छ। साताको मध्य अनुकुल नरहला। अनावश्यक यात्रा तथा खर्च हुनसक्छ। आफ्नो स्वास्थ्यको विशेष ध्यान दिनुहोला। व्यार्थ को कार्यमा आफ्नो उर्जा, समय र पैसा को खर्च हुनसक्छ। साताको अन्त्य तिर अनुकुल रहनेछ। सुख र आनन्द प्राप्त हुनेछ। वस्त्र,आभूषण तथा दाम्पत्य सुख आदि प्राप्त हुनेछ। मन प्रसन्न रहला।

३. मिथुन राशि
साताको सुरुवातमा कार्य्सिद्धि होला मानसम्मानमा वृद्धि होला। स्वास्थ्यले पनि साथ देला साथै उच्च अधिकारी बाट पनि साथ र हौसला मिल्ला। कार्यको तारीफ हुनसक्छ। साताको मध्य तिर व्यापार व्यवसायमा लाभ प्राप्त होला। धनलाभ होला उत्तम भोजन प्राप्त हुनसक्छ र सन्तानबाट पनि सन्तुष्टि प्राप्त हुनसक्ला। स्त्री बाट पनि सहयोग मिल्न सक्छ। साताको अन्त्य तिर अनुकुल नरहला। तपाईंको अनावश्यक यात्रा तथा खर्च हुनसक्छ। आफ्नो स्वास्थ्यको विशेष ध्यान दिनुहोला। व्यार्थ को कार्यमा आफ्नो उर्जा, समय र पैसा को खर्च हुनसक्छ।

४. कर्कट राशि
साताको सुरुवातमा लामो दूरीको यात्रा सफल रहनेछ। भाग्यले साथ दिनेछ। यो अवधिमा गरिएका हरेक यात्राहरू पूर्ण सफल रहनेछ। तपाईंको कार्य्िसद्धि हुनेछ। उक्त अवधिमा धार्मिक स्थलहरूको भ्रमण तथा दर्शन गर्नु र दान दक्षिणाको लागि उत्तम समय रहनेछ। साताको मध्य तिर कार्य्सिद्धि होला मानसम्मानमा वृद्धि होला। स्वास्थ्य ले पनि साथ देला साथै उच्च अधिकारी बाट पनि साथ र हौसला मिल्ला। कार्यको तारीफ हुनसक्छ। साताको अन्त्य तिर व्यापार व्यवसायमा लाभ प्राप्त होला। धनलाभ होला उत्तम भोजन प्राप्त हुनसक्छ र सन्तानबाट पनि सन्तुष्टि प्राप्त हुनसक्ला। स्त्री बाट पनि सहयोग मिल्न सक्छ।

५. सिंह राशि
साताको सुरुवातमा स्वास्थ्यको ख्याल राख्नुहोला। मन अशान्त रहनेछ। कष्ट, रोग , घाटा ,आकास्मिक संकट आदिको भय रहन्छ। साताको मध्य तिर लामो दूरीको यात्रा सफल रहनेछ। भाग्यले साथ दिनेछ। यो अवधिमा गरिएका हरेक यात्राहरू पूर्ण सफल रहनेछ। उक्त अवधिमा धार्मिक स्थलहरूको भ्रमण तथा दर्शन गर्नु र दान दक्षिणाको लागि उत्तम समय रहनेछ। साताको अन्त्य तिर कार्य्िसद्धि होला मानसम्मानमा वृद्धि होला। स्वास्थ्य ले पनि साथ देला साथै उच्च अधिकारी बाट पनि साथ र हौसला मिल्ला। कार्यको तारीफ हुनसक्छ।

६. कन्या राशि
साताको सुरुवातमा धन लाभ हुनसक्छ। व्यापार व्यवसायमा सन्तुष्टि जनक नतिजा प्राप्त हुनसक्ला। दाम्पत्य सुख र आफ्नो पार्टनर बाट सुख प्राप्त हुनेछ। सुखद यात्रा पनि हुनसक्ला। स्वास्थ्यले साथ देला। साताको मध्य तिर स्वास्थ्यको ख्याल राख्नुहोला। मन अशान्त रहनेछ। कष्ट, रोग , घाटा ,आकास्मिक संकट आदिको भय रहन्छ। साताको अन्त्य तिर मानसिक चिन्ता र असन्तुष्टि रहला। व्यवसायमा आफूले सोचे जस्तो नहोला र राज्यबाट भय रहन्छ। स्वास्थ्यले साथ नदेला। यो समय अवधिमा धार्मिक स्थलको दर्शन गरी दानदक्षिणा दिनको लागि उत्तम हुन्छ।

७. तुला राशि
साताको सुरुवातमा मन प्रसन्न रहला। धन र स्वास्थ्य लाभ को साथै सुख प्राप्त होला। शत्रुमाथि विजय प्राप्त हुनेछ। तर यो समय अवधिमा ब्यायमा वृद्धि हुनसक्छ। साताको मध्य तिर धन लाभ प्राप्त हुनसक्छ। व्यापार व्यवसायमा सन्तुष्टि जनक नतिजा प्राप्त हुनसक्ला। दाम्पत्य सुख र आफ्नो पार्टनर बाट सुख प्राप्त हुनेछ। सुखद यात्रा पनि हुनसक्ला। स्वास्थ्यले साथ देला। साताको अन्त्य तिर स्वास्थ्यको ख्याल राख्नुहोला। मन अशान्त रहनेछ। कष्ट, रोग, घाटा आकास्मिक संकट आदिको भय रहन्छ।

८.वृश्चिक राशि
साताको सुरुवातमा पढाइमा तथा प्रेममा सफलता, मन प्रसन्न रहला। रचनात्मक तथा कलाकारितामा मन जाला। सन्तानबाट सन्तुष्टि प्राप्त होला। साताको मध्य तिर मन प्रसन्न रहला। धन र स्वास्थ्य लाभ को साथै सुख प्राप्त होला। शत्रुमाथि विजय प्राप्त हुनेछ। तर यो समय अवधिमा ब्यायमा वृद्धि हुनसक्छ। साताको अन्त्य तिर धन लाभ प्राप्त हुनसक्छ। व्यापार व्यवसायमा सन्तुष्टि जनक नतिजा प्राप्त हुनसक्ला। दाम्पत्य सुख र आफ्नो पार्टनर बाट सुख प्राप्त हुनेछ। सुखद यात्रा पनि हुनसक्ला। स्वास्थ्यले साथ देला।

९. धनु राशि
साताको सुरुवातमा मन अशान्त तथा निराश रहन सक्छ। पारिवारिक कारणले मनमा चिन्ता तथा असन्तुष्टि रहला। यात्राको सम्भावना पनि रहला। यो अवधिभरि कसैसँग विवाद तथा झगडा नगर्नुहोला। साताको मध्य तिर पढाइमा तथा प्रेममा सफलता, मन प्रसन्न रहला। रचनात्मक तथा कलाकारितामा मन जाला। सन्तानबाट सन्तुष्टि प्राप्त होला। मन प्रसन्न रहला। धन र स्वास्थ्य लाभ को साथै सुख प्राप्त होला। शत्रुमाथि विजय प्राप्त हुनेछ। तर यो समय अवधिमा ब्याय मा वृद्धि हुनसक्छ।

१०. मकर राशि
साताको सुरुवातमा सुख र धनको प्राप्ति हुनेछ। नयाँ वस्त्र प्राप्त हुनसक्छ। आफन्त तथा मित्र आदिबाट सहयोग र साथ मिल्ला। स्वास्थ्यले साथ देला र शत्रुमाथि विजय प्राप्त हुनेछ। पराक्रममा वृद्धि होला । तपाईंको समय उत्तम सिद्ध हुनेछ। छोटो दूरीको सुखद यात्रा हुनसक्छ। साताको मध्य तिर मन अशान्त तथा निराश रहन सक्छ। पारिवारिक कारणले मनमा चिन्ता तथा असन्तुष्टि रहला। यो अवधिभरि कसैसँग विवाद तथा झगडा नगर्नुहोला। साताको अन्त्य तिर यात्रा कष्टकर रहला। मन अशान्त रहनेछ र पढाइमा पनि मन जादैन। निराशाजनक फल हात पार्न सक्ला।

११. कुम्भ राशि
साताको सुरुवातमा बोली तथा वाणीको प्रभावमा वृद्धि हुनेछ। उत्तम भोजन प्राप्त होला साथै धनलाभ पनि रहला। आफन्त तथा परिवारजनबाट साथ र सहयोग प्राप्त होला। साताको मध्य तिर सुख र धनको प्राप्ति हुनेछ। नयाँ वस्त्र प्राप्त हुनसक्छ। आफन्त तथा मित्र आदिबाट सहयोग र साथ मिल्ला। स्वास्थ्यले साथ देला र शत्रुमाथि विजय प्राप्त हुनेछ। पराक्रम मा वृद्धि होला । तपाईंको समय उत्तम सिद्ध हुनेछ। छोटो दूरीको सुखद यात्रा हुनसक्छ। साताको अन्त्य तिर मन अशान्त तथा निराश रहन सक्छ। पारिवारिक कारणले मनमा चिन्ता तथा असन्तुष्टि रहला।यो अवधिभरि कसैसँग विवाद तथा झगडा नगर्नुहोला।

१२. मीन राशि
साताको सुरुवातमा अनुकुल रहनेछ। सुख र आनन्द प्राप्त हुनेछ। वस्त्र,आभूषण तथा दाम्पत्य सुख आदि प्राप्त हुनेछ। मन प्रसन्न रहला। साताको मध्य तिर बोली तथा वाणीको प्रभावमा वृद्धि हुनेछ। उत्तम भोजन प्राप्त होला साथै धनलाभ पनि रहला। आफन्त तथा परिवारजनबाट साथ र सहयोग प्राप्त होला। साताको अन्त्य तिर सुख र धन प्राप्ति हुनेछ। नयाँ वस्त्र प्राप्त हुनसक्छ। आफन्त तथा मित्र आदिबाट सहयोग र साथ मिल्ला। स्वास्थ्यले साथ देला र शत्रुमाथि विजय प्राप्त हुनेछ। पराक्रम मा वृद्धि होला।समय उत्तम सिद्ध हुनेछ। छोटो दूरीको सुखद यात्रा हुनसक्छ।

ज्योतिषः गोपाल अधिकारी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?