एसीड अाक्रमणमा परेकाहरू !
सारांश
- काठमाडौं, २२ कात्तिक ।
- जीवनको सबैभन्दा सुन्दर चिज नै लाग्ने आफ्नो शरीरका विभिन्न अंगमा एसीडको पीडा बोकेर बाँच्न बाध्य छन् कतिपय ।
- अरू किशोरीलाई जस्तै बिन्दवासिनी कंसाकारलाई पनि १९ वर्षको हुँदा शृङ्गारका सामान लगाएर राम्री हुन मन लाग्थ्यो ।
काठमाडौं, २२ कात्तिक । जीवनको सबैभन्दा सुन्दर चिज नै लाग्ने आफ्नो शरीरका विभिन्न अंगमा एसीडको पीडा बोकेर बाँच्न बाध्य छन् कतिपय । अरू किशोरीलाई जस्तै बिन्दवासिनी कंसाकारलाई पनि १९ वर्षको हुँदा शृङ्गारका सामान लगाएर राम्री हुन मन लाग्थ्यो । तर झन्डै पाँच वर्षअघि आफ्नै पसलमा बसिरहेको बेला एक पुरुषले एसिड छ्यापिदिएपछि उनलाई आफ्नो जीवनमा ग्रहण लागेजस्तो भयो ।
सो घटनापछि पहिलो पटक आफ्नो अनुहार हेर्दाको क्षण सम्झँदै बिन्दवासिनी भन्छिन्, ‘ऐनामा मैले एउटा कालो छायाजस्तो देखेँ अनि त्यहाँबाट ऐना नै हटाउन लगाएँ। एसिडले अनुहार बिगारेपछि बाँच्न कठिन हुँदोरहेछ ।’ त्यसयता उनको अनुहारको धेरै पटक शल्यक्रिया गरियो । चर्को घाममा हिँड्न उनलाई गाह्रो हुन्थ्यो । त्यसैले एसिड छ्यापिनुअघि उनी अनुहारको साजसज्जामा बिताउँथिन् । तर शल्यक्रियापछि उनी संवेदनशील छालाको सुरक्षाका लागि बिताउँछिन् । एसिड आक्रमणका कारण बिन्दवासिनीले भोगेजस्तै यातना बर्से्नि कुनै न कुनै महिलाले खेप्नुपरेको छ । यो वर्षमात्र चारवटा त्यस्ता घटना भएको प्रहरीले जनाएको छ । झन्डै एक महिनाअघि रौतहटमा आफ्नै घरमा सुतिरहेका बेला दुई दिदीबहिनीलाई पनि एसिड छ्यापियो ।
दिदी सम्झनाको उपचारका क्रममा मृत्यु भयो भने १३ वर्षीया बहिनीको शरीरमा बसेका दाग देखेर आमा धनमाया दासले चिन्ता व्यक्त गर्दै भनिन्, ‘उसले अब यी दागहरू लिएर बाँच्नुपर्छ। अब उसलाई कसले विवाह गर्छ?’ एसिड आक्रमणले पीडितलाई मात्रै नभई उनीहरूका परिवारलाई समेत जीवनभरि तनाव दिने बताउँछन्, मानसिक स्वास्थ्यविद् डा. सरोज ओझा । तर पीडितको मनोदशा अझ बिग्रन नदिन परिवार र परामर्श धेरै महत्त्वपूर्ण रहेको उनी बताउँछन् ।
‘यस्तो घटनापछि उनीहरूको मनमा अब सबैथोक सक्यो भन्ने खालको निराशाजनक सोचाइ आउँछ ।’ ‘यस्तो सोचाइलाई बदलेर उनीहरूको मनोबल बढाउन परामर्शले धेरै मद्दत गर्छ। तर यसमा उनीहरूका परिवार र साथीको पनि ठूलो भूमिका रहन्छ ।’ अनुहारलगायत शरीरका अङ्ग नै बिग्रनेगरी भएका यस्ता हिंसा लगत्तै पीडितहरूमा आत्महत्यासम्मको सोचाइ आउनसक्ने चिकित्सकहरू बताउँछन् । घटना भएको पहिलो दुई वर्ष पीडितहरूको आत्मबल बढाउन परिवारका सदस्यले निकै सकारात्मक ऊर्जा दिनुपर्नेमा समेत उनीहरूको जोड छ ।
कसैको अनुहार वा शरीरको कुनै अङ्ग कुरूप पारेको ठहर गरिएको व्यक्तिलाई पाँचदेखि आठ वर्ष जेल सजाय र एकदेखि पाँच लाखसम्म जरिवाना हुनसक्ने कानुनी प्रावधान छ । तर यो सजाय कम भएको धनमायालाई लाग्छ । उनी भन्छिन्, ‘पीडा दिने व्यक्तिले १० वर्ष पनि जेलमा बस्नुपर्दैन। तर पीडितले त जीवनभरि यी दाग लिएर बााँच्नुपर्छ ।’ पीडकलाई अझ कडा सजायको व्यवस्था हुनुपर्ने उनको धारणा छ । धेरैजसो घटना तराई क्षेत्रमा हुने गरे पनि करिब तीन वर्षअघि राजधानी काठमाण्डूमै पनि एसएलसीको तयारी गरिरहँदा ट्युशन पढेर फर्किरहेका दुई किशोरीमाथि एसिड आक्रमण भयो । त्यसयता सङ्गीता मगरले शरीरमा पुगेको पीडा मात्रै अनुभव गरेकी छैनन्, बाटोमा हिँड्दा मानिसहरूको कानेखुसीले उनलाई मानसिक पीडा पनि थप्ने गरेको छ ।
‘धेरै हिम्मत गरेर म आफ्नो जीवनलाई फेरि नयाँ दिशा दिने प्रयास गरिरहेकी छु । तर बाहिर निस्केको बेला मानिसहरूले हेर्ने र सँगै भएका लागि कोट्याएर देखाउने र बिचरा भन्ने खालका व्यवहारले फेरि निराशा जाग्छ ।’ यस्तो अवस्थामा मनोपरामर्शको अभाव अनुभव गरेको भन्दै सङ्गीताले भनिन्, ‘परामर्श पाए केही सहज हुन्थ्यो भन्ने मलाई धेरै पटक लागेको छ र अरूलाई पनि यस्तै हुन्छ होला। तर मैले अझसम्म परामर्श पाएकी छैन ।’ मान्छेका सहानुभूति र करुणामिश्रित यस्ता धेरैजसो प्रतिक्रियाले मनोबल घटाइदिने बिन्दवासिनीको अनुभव छ । ‘समाजले हामीलाई गर्ने व्यवहारले धेरै फरक पार्छ । उनीहरूले हेयभावले हेरेका बेला धेरै नकारात्मक सोच आउँछ र यस्तो भएर पनि किन बाँच्नुजस्तो लाग्छ ।’
‘यस्तो बेला म परिवारसँग धेरै समय बिताउँछु र युट्युबमा प्रेरणा दिने खालका भिडिओ हेर्ने गर्छु ।’शल्यक्रिया गर्न भारत पनि पुगेकी बिन्दवासिनीले अहिलेसम्म व्यावसायिक व्यक्तिबाट परामर्श पाएकी छैनन् । ‘परामर्श लिन कहाँ र कसरी जाने थाहा नभएर हो र यस्तो महसुस गरेको समयमा सकारात्मक ऊर्जाका लागि म युट्युब हेर्न थाल्छु ।’सरकारले चाहिँ एसिड आक्रमणका लागि भनेर पीडितको माग अनुसारको विशेष व्यवस्था नभएको जनाएको छ । महिला मन्त्रालयको महिलाहिंसा निवारण शाखाकी प्रमुख प्रमिला भण्डारीले भनिन्, ‘सबै प्रकारका पीडितका लागि पुनस्र्थापना केन्द्र राखेका छौं । तर यस प्रकारका पीडितले यस्तो सेवाको उपयोग गरेको थाहा छैन ।’
अनेक पीडा भएपनि बिन्दवासिनीले आफ्नो फेसबुकमा सकारात्मक सन्देश लेखेकी छन्,‘म नै मेरो प्रेरणा हुँ र अरूका लागि पनि प्रेरणाको स्रोत बन्न चाहन्छु ।’ जीवनमा यति धेरै अप्ठ्यारा भए पनि सकारात्मक ऊर्जाका साथ अघि बढ्ने प्रयास गरिरहेका यस्ता महिलालाई सम्मानजनक व्यवहार गर्न सकिए समाजमा उनीहरू उदाहरण बन्न सक्ने जानकारहरू बताउँछन् । तर त्यसका लागि घर, समाज र राज्यले पनि त्यस्तै सकारात्मक व्यवहार गर्नुपर्ने उनीहरूको भनाइ छ । (बीबीसी नेपाली)
प्रतिक्रिया