ऐना साक्षी राखेर अभिनेता खनालले भने ‘आँखामा राखे पनि नबिझाउने मान्छे हुँ’
सारांश
- मलाई अरूले घमन्डी भन्दा रहेछन् ।
- म धेरै बोल्दिनँ ।
- कुरा मिल्नेसँग पनि चाहिने कुरा मात्र गर्छु ।
मलाई अरूले घमन्डी भन्दा रहेछन् । म धेरै बोल्दिनँ । कुरा मिल्नेसँग पनि चाहिने कुरा मात्र गर्छु । अरूको एक्स्पेक्टेसनचाहिँ मलाई हेरेर हाँसोस्, बोलोस् भन्ने हुँदो रहेछ । कसैले पनि संगत गर्दै जाँदा थाहा पाउँछ, म घमन्डी छैन । आँखामा राखे पनि नबिझाउने मान्छे हुँ ।
रिस कम उठे पनि थामथुम पार्न गाह्रो
मलाई कमै रिस उठ्छ । तर, रिस उठिसकेपछि थामथुम गर्न भने गाह्रो छ । मलाई कसैले चित्त दुखाएमा रिस उठ्छ । चित्त दुखाउनेलाई मेरो रिलेसनबाट ‘कटअफ’ गर्छु । झगडा गर्दै भने हिँड्दिनँ । मनमनै चित्त दुखाउँछु । अनि, चुप लागेर बस्छु । म बच्चामा चाहिँ अलि झोडी स्वभावको थिएँ । झगडा गर्ने गर्थें ।
कसैलाई पीडा दिने काम गर्दिनँ
म कसैलाई पीडा दिने काम गर्दिनँ । आफैँले आफैँलाई इमानदार भन्ने त होइन, तर म यो मामलामा इमानदार नै छु जस्तो लाग्छ । मैले आजसम्म जानीजानी कसैलाई पीडा दिने काम गरेको छैन । अरूलाई पनि आफूजस्तै सोच्छु ।
आफ्नै लागि बेइमान
मैले जीवनमा बेइमानी गरेको छु भने आफ्नै लागि गरेको छु । म हिट हिरो भएका वेला १७–१८ वर्षअघि अमेरिका गएँ । मलाई त्यसले धेरै घाटा लाग्यो । यो कुराले म धेरै पछुताएँ । नजानुपर्ने वेलामा विदेश गएजस्तो लाग्यो । त्यो आफैँले आफैँलाई गरेको बेइमानी थियो जस्तो लाग्छ । अमेरिका नगएर यहीँ केही गरेको भए आज धेरै माथि पुगिन्थ्यो होला सायद ।
अनावश्यक खर्च गर्दिनँ
म आवश्यक परेको वेला मात्र खर्च गर्छु । अनावश्यक फजुल खर्च गर्दिनँ । यो मेरो स्वभाव नै हो । यसलाई कसैले लोभी भन्छ भने बेग्लै कुरा हो । त्यससँग म मतलब पनि राख्दिनँ ।
एक्लै रक्सी खान्नँ
म नेपाली खाना (दाल, भात, तरकारी) नै मन पराउँछु । तर, अहिले उमेर ढल्किँदै गएकाले त्यसमा ख्याल गर्नुपर्ने भएको छ । वास्तवमा चामलमा कार्बोहाइड्रेड पाइन्छ । यसको धेरै प्रयोगले रोग निम्त्याउन सक्छ । तसर्थ, म बेलुका मात्र खाना खान्छु । बिहान रोटी या अन्य चिज । बेलुकाको खाना पनि सकेसम्म ७ बजे खाइसक्छु । म ड्रिंक्स गर्छु । तर, एकदमै कम । महिनामा एक–दुईपटक । त्यो पनि पाहुना आएका वेला मात्र । चाडपर्वमा साथी–भाइको अनुरोध नकार्न सक्दिनँ । तसर्थ, एकदमै कम खाएर साथ दिन्छु । एक्लै बसेर भने खान्नँ । जहाँसम्म मलाई थाहा छ एक्लै खानेलाई चाहिँ जँड्याहा भन्छन् ।
उचाइसँग डर लाग्छ
मलाई उचाइसँग डर लाग्छ । उचाइमा चढेपछि टिक्न सक्दिनँ कि भन्ने डर लाग्छ । अस्ति भर्खर बाग्लुङमा एउटा फिल्मको सुटिङ गर्न गएको थिएँ । एकदमै भीर थियो, आधा पुगेपछि डर लाग्यो । मैले भीरबाट तल हेरेँ भने त झनै डर लाग्छ । त्यसैले म उचाइसँग डराउँछु । म स्विमिङ गर्न जान्दछु । तर, सुटिङका क्रममा पानीमा डुब्दा एकदमै डर लाग्छ । पानीमा सुटिङ गर्नेक्रममा केही अप्रिय घटना घटेकाले डर लाग्ने गरेको हो । अन्य समयमा भने इच्छाअनुसार स्विङ गर्छु ।
धर्मलाई विज्ञानका रूपमा विश्वास गर्छु
म धर्म मान्छु । तर, अन्धविश्वासी होइन । धर्मका विविध पक्ष छन् । धर्म मान्नेबित्तिकै भगवान्लाई पूरै विश्वास गर्ने भन्ने हुँदैन । पिता–पुर्खाले मान्दै आएको कुरा फलो गर्ने हो । धार्मिक क्रियाकलापभित्र गएर हेर्ने हो भने त्यहाँ साइन्स पनि छ । पानी अचाउने कुरामा पनि साइन्टिफिक रिजन छ । धर्मले हामीलाई जोडेको छ । म बाटोमा हिँड्दा मन्दिर देखेँ भने ढोग्ने गर्छु । तर, ढोग्नैलाई भनेर मन्दिरचाहिँ कमै जान्छु । अमेरिकाबाट फर्किएको दुई–अढाइ वर्ष भइसक्यो एकपटक मात्र पशुपति गएँ ।
म पेन्टर हुँ
म राम्रो पेन्टिङ गर्छु । ग्राफिक स्केच पेन्टिङ राम्रैगरी उतार्छु । अहिले धेरै वर्ष भयो नगरेको । पेन्टिङमा पिस पाउँथेँ । डिटेल्समा गर्नुपर्ने भएकाले त्यसले मलाई ऊर्जा दिन्थ्यो । मैले त्यति धेरै पेन्टिङ भने बनाएको छैन । तर, जति बनाएँ राम्रै बनाएँजस्तो लाग्छ । आजभोलि त बनाउन छाडेको पनि धेरै भइसक्यो । अमेरिका गएपछि बनाउनै छाडिदिएँ ।
म मेसीको फ्यान
मलाई खेलकुदमा एकदमै रुचि छ । म चितवनको जिल्लास्तरीय क्रिकेट खेलाडी थिएँ । फुटबल खेलाडी पनि थिएँ । म अर्जेन्टिनाका लियोनल मेसीको फ्यान हुँ । ‘ही इज भेरी कुल गाई,’ त्यसैले मनपर्छ । खेल त राम्रो छ नै । फुर्सदको समयमा प्रायः मेसीको खेल हेर्न छुटाउँदिनँ ।
अमेरिकाको तारिफ गर्न बाध्य छु
अमेरिकाको लामो बसाइमा धेरै कुरा सिकेँ । त्यहाँ राम्रो राज्य व्यवस्था र सुशासन छ । त्यहाँको राजनीतिले कसैको व्यक्तिगत जीवनमा असर गर्दैन । कसैको क्षमता परीक्षण गर्न ‘रुल एन्ड रेगुलेसन’ छ । भनसुन गर्नुपर्दैन । त्यसबाट मैले धेरै सिकेको छु । त्यहाँ साधारण काम गरेर पनि ह्याप्पी लाइफ बिताउन सकिन्छ । हाम्रोमा चौबीसैघन्टा काम गर्दा पनि हातमुख जोर्न गाह्रो छ । हामीले पनि अब दूरदर्शी भएर सोच्न जरुरी छ । अमेरिकाको तारिफ गर्नु मेरो रहर होइन, बाध्यता हो ।
बाबुराममा भिजन छ, लिडरसिप छैन
म नयाँ शक्तिमा लागेको हल्ला आयो । हामी सेलेब्रिटी हौँ । त्यसैले, हामीले जे गरे पनि हल्ला आउँछ । म अमेरिकाबाट फर्किएपछि देशका सबै शीर्ष नेताहरूसँग भेटेँ । मैले देश विकाससम्बन्धी पाँच–सात प्रश्न सबैलाई सोधेँ । तीमध्ये सबैभन्दा राम्रो जवाफ डा. बाबुराम भट्टराईले दिनुभयो । उहाँका दुई–चार कुरा मलाई मनपर्यो । २५ वर्षमा देशमा केही गर्छु भन्ने भिजन उहाँले ल्याउनुभयो । तसर्थ, उहाँलाई मैले सपोर्ट गर्न खोजेको थिएँ ।
म नेपाल बनेको हेर्न चाहने मान्छे । जसले देश बनाउन सक्छ उसैलाई सपोर्ट गर्ने पक्षमा थिएँ । बिरालो कालो–सेतो जस्तो भए पनि त्यसको काम मुसा मार्ने हो भन्ने मेरो बुझाइ हो । बिस्तारै संगत गर्दै गर्दा थाहा पाएँ राम्रो भिजन भएका बाबुराममा पनि लिडरसिपको कमी रहेछ । उहाँमा अलि–अलि माओवादी गन्ध पनि आयो । फेरि, उहाँको पार्टीमा ‘यो हिजोअस्ति आएको हो’ भनेर मलाई आरिस गर्ने मान्छे प्रशस्तै पाएँ । वास्तवमा मेरो उद्देश्य मन्त्री बन्नेभन्दा पनि यो देशलाई समृद्ध बनाउने लक्ष्य थियो । म देशलाई आवश्यक परेका वेला रेडी पनि छु ।
दिल्ली दायाँ हुन भएन
हाम्रो देश नेपाललाई कसैले कुदृष्टि लगायो भने चुप बस्नुहुँदैन, जाइलाग्नुपर्छ । मेरो विचारमा यही नै राष्ट्रियता हो । देशलाई अप्ठ्यारो परेका वेला अरूको मुख ताक्यो भने देशै नरहन सक्छ । तसर्थ, आफैँ अघि सर्नुपर्छ । नेपालको प्रधानमन्त्री हुन दिल्ली दायाँ हुने परम्परा त्यागिनुपर्छ । पार्टीभित्रको आरोप–प्रत्यारोप राष्ट्रियता होइन । त्यो स्वार्थ हो ।नयाँ पत्रीका बाट
लिल बहादुर थापा
liekd huts
Uttam Das Shrestha
Agree.