ओली र प्रचण्ड दुवै सहअध्यक्ष हुन तयार : आलोपालो प्रधानमन्त्री चलाउने सहमतिनजिक

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १, २०७४
|
|
३६ पटक हेरिएको
Shares
ओली र प्रचण्ड दुवै सहअध्यक्ष हुन तयार : आलोपालो प्रधानमन्त्री चलाउने सहमतिनजिक

सारांश

  • काठमाडौं, फागुन १ – एमाले र माओवादी एकीकरणनजिक पुगेका छन् ।
  • एकता घोषणापछिको निरन्तर छलफललाई सोमबार निर्णायक मोड दिँदै एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एकीकृत पार्टीमा दुवै अध्यक्ष वा सहअध्यक्ष रहने र प्रधानमन्त्री पनि आलोपालो प्रणालीबाट चलाउने समझदारी भएको छ ।
  • दुई नेताबीच मंगलबार थप छलफल हुने र उनीहरूबीचको समझदारी बुधबार एकता संयोजन समितिको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ ।

काठमाडौं, फागुन १ – एमाले र माओवादी एकीकरणनजिक पुगेका छन् । एकता घोषणापछिको निरन्तर छलफललाई सोमबार निर्णायक मोड दिँदै एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एकीकृत पार्टीमा दुवै अध्यक्ष वा सहअध्यक्ष रहने र प्रधानमन्त्री पनि आलोपालो प्रणालीबाट चलाउने समझदारी भएको छ । दुई नेताबीच मंगलबार थप छलफल हुने र उनीहरूबीचको समझदारी बुधबार एकता संयोजन समितिको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ । आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले खबर लेखेका छन् ।

दुवै पार्टीका नेताहरूले छलफल सकारात्मक निष्कर्षमा पुगेको जानकारी दिँदै दुई दिनभित्रै एकता संयोजन समितिको बैठकमा छलफल भएपछि एकताको मोडालिटी सार्वजनिक हुने बताएका छन् । ‘अहिले नै सहमति सार्वजनिक गर्ने वेला भएको छैन, तर दुवै नेताले सहमतिको धेरै नजिक रहेको सन्देश दिनुभएको छ,’ एमाले केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीले भने, ‘कुराकानी धेरै सकारात्मक रूपमा अघि बढेको छ, मंगलबार बिहान दुई अध्यक्षबीच एकचरण छलफल भएपछि अन्तिम टुंगो लाग्नेछ ।’

एकताको विभिन्न मोडालिटीमा छलफल हुँदै आए पनि महाधिवेशनअघिसम्म दुवै पार्टी अध्यक्षसहित नेताहरूको ‘सम्मानजनक स्थान’ रहने गरी सहमति भएको हो । अनौपचारिक वार्तामा सहभागी दुवै पार्टीका दोस्रो तहका नेताहरूले यसलाई संक्रमणकालीन मोडालिटीको संज्ञा दिएका छन् ।

दुई घन्टा वार्तापछि बनेको समझदारी

नेतृत्व : एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैजना एकीकृत पार्टीमा अध्यक्ष वा सहअध्यक्ष रहने

सरकार  : आलोपालो प्रणालीअनुसार पहिले केपी ओली नेतृत्वमा र दोस्रो चरणमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार बन्ने

संगठन : स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय कमिटी छरितो बनाउने, निर्वाचन आयोगको कानुनअनुसार महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने

नीति : जनताको बहुदलीय जनवाद र २१औँ शताब्दीको जनवादमध्ये मिल्ने विषय अहिले नै र बाँकी विषय महाधिवेशनबाट टुंग्याउने

सरकार गठनअघि नै पार्टी एकता भएमा ओली गठबन्धन होइन, बहुमत प्राप्त दलको नेताका रूपमा प्रधानमन्त्री हुनेछन् । एकीकृत पार्टीका रूपमा उनीसँग १७४ सांसदको समर्थन हुनेछ । बहुमतका लागि जम्मा १३८ सांसद आवश्यक हुन्छ । त्यसैले, एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राखेर निर्वाचन आयोग जाने र सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दाबी गर्ने तयारी छ ।

‘एकीकृत पार्टीबाटै सरकार गठन गर्ने गरी मंगलबार अन्तिम छलफल हुँदै छ, अन्तिम टुंगो एकता संयोजन समितिबाट लागेपछि ओली संविधानको धारा ७६ को उपधारा १ अनुसार बहुमत प्राप्त संसदीय दलको नेताका रूपमा प्रधानमन्त्रीमा सर्वसम्मत चयन हुने सम्भावना बढ्दै गएको छ,’ उच्च स्रोतले भन्यो । एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच मंगलबार बिहान पुनः एक चरण छलफल हुने भएको छ । त्यसलगत्तै एमाले स्थायी समिति र माओवादी केन्द्रले सचिवालय बैठकबाट दुई नेताको पछिल्लो समझदारीलाई अनुमोदन गर्नेछन् ।

कानुनअनुसार यसरी बन्न सक्छ एउटै दल

एमाले र माओवादी केन्द्र एकीकरण भएमा राजनीतिक दलसम्बन्धी ऐन–२०७४ को प्रावधान पूरा गर्नुपर्नेछ । कानुनबमोजिमका प्रक्रिया पूरा गरेर निवेदन दिएमा बढीमा एक साताभित्रै निर्वाचन आयोगले एकीकृत नयाँ दलको मान्यता दिन सक्ने प्रवक्ता नवराज ढकालले बताए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Nand Gurung

    yo alo palo rogle des maru bhumi parna lage.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?