काकाकुल बनेको गाउँमा यसरी छचल्कियो धारामा खानेपानी
सारांश
- गोरखा, ८ असार ।
- गाउँबाट पृथ्वी राजमार्गमा दिनहुँ हजारौं गाडी गुडिरहेको सजिलै देखिन्छ ।
- घरको छानामाथिबाट केवलकारमा मनकामना मन्दिर दर्शनका लागि सयौंको संख्यामा भक्तजनहरु आउजाउ गर्छन् ।
गोरखा, ८ असार । गाउँबाट पृथ्वी राजमार्गमा दिनहुँ हजारौं गाडी गुडिरहेको सजिलै देखिन्छ । घरको छानामाथिबाट केवलकारमा मनकामना मन्दिर दर्शनका लागि सयौंको संख्यामा भक्तजनहरु आउजाउ गर्छन् । त्यही नजिकको गाउँ केउरपानीका गाउँलेहरु भने पानी लिनका लागि प्रत्येक पटक दुई घण्टाको यात्रा गर्दये ।
घण्टौं यात्रा गरेर पानी बोक्न बाध्य यहाँका नागरिकहरु यतिबेला भने खुशी भएका छन् । पटकपटक सम्बन्धित निकायमा निवेदन दिँदा सुगम स्थान भनेर कसैले योजना बनाउन मानेका थिएनन् तर रेडक्रसका मनकामना उपशाखा सभापतिले आफूले पहल गर्ने भनेपछि आफू आशावादी भएको र हाल आएर योजना सम्पन्न भएको भन्दै साविकको मनकामना गाविस वडा नंं ३ स्थित केउरपानीका गाउँलेहरु खुशी भएका छन् ।
भूकम्प आउनुअघि नै काकाकुल थियौं, भूकम्पपछिको समस्या सुनाएर साध्य छैन भन्नुहुन्छ स्थानीय जलदेवी महिला समूहकी सदस्य मिरा गुरुङ । काकाकुल भएर पानी पीडित भएका हामीहरुलाई रेडक्रसको भूकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गतको योजनाबाट आठ घनमिटरको ट्यांकी र ५ वटा धारा निर्माण गरी चौबीसै घण्टा पानी सुविधा दिएकोमा प्रशंसा गर्ने कुनै शब्द नै आफूसँग नभएको अर्की सदस्य तारा गुरुङले बताइन् ।
झण्डै ७ लाख भन्दा बढीमा निर्माण भएको उक्त आयोजनाको एक कार्यक्रमका बीच अधेरी खोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । नेपाल रेडक्रस सोसाईटी गोरखा जिल्ला शाखाका सभापति भगवानबाबु मास्केले पानीको धारा खोली पानी पिएर कार्यक्रमको उद्घाटन गरेका थिए । उनले धाराको संरक्षण गर्ने काम उपभोक्ता समूह लगायत यहाँका नागरिकहरुको भएको उनले बताए । यहाँ आवश्यक कार्यक्रमहरु उपशाखा मार्फत माग गर्न समेत उनले आग्रह गरे ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गोरखा जिल्ला शाखाका निवर्तमान सभापति यदु विलास भट्टराई, मन्त्री राजेन्द्र्र न्यौपाने, मनकामना उपशाखाका सभापति पृथबहादुर थापा, समाजसेवी दिनेश जोशी, उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर गुरुङ, भूकम्प प्रतिकार्य कार्यक्रमका गोरखा जिल्ला संयोजक शिवप्रसाद सुवेदी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमका वक्ताहरुले पानीको संरक्षण, धारा संरक्षण गर्न सके वर्षौंसम्म ढुक्कले पानी पिउन सकिने बताएका थिए । २०३१ सालमा रेडक्रसमार्फत बनेका योजनाहरुका धारामा अहिलेसम्म निरन्तर पानी आइरहेको समेत कार्यक्रममा बताइएको थियो । भूकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत गोरखामा नेपाल रेडक्रस सोसाइटीले बेल्जियम रेडक्रस, जर्मन रेडक्रस र नेदरल्याण्ड रेडक्रसको साझेदारीमा ५१ वटा आयोजना सम्पन्न गरिसकेको नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाका मन्त्री राजेन्द्र न्यौपानेले जानकारी दिए ।
प्रतिक्रिया