किन विवादित बनिन् कोमल वली ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
२३ पटक हेरिएको
Shares
किन विवादित बनिन् कोमल वली ?

सारांश

  • सञ्चारकर्मी तथा लोकगायिका कोमल वलीलाई नेकपा एमालेले राष्ट्रिय सभाको सांसद बनाउने निर्णय गरेपछि आएका प्रतिक्रिया हेर्दा यस्तो लाग्छ, उनीजति विवादित महिला यो मुलुकमा कोही थिएन र छैन ।
  • नेकपा एमालेले यति ठूलो गल्ती अहिलेसम्म गरेकै थिएनझैँ गरी प्रचार गरिएको कोमल वली प्रकरणलाई जति हल्काफुल्का रूपमा लिइएको छ, यसबाट सार्वजनिक जीवनमा रहनेहरूले सिक्ने पाठ भने निकै गहिरो छ ।
  • टाढा जानै पर्दैन, डेढ–दुई वर्षअघि मात्रै पनि कोमल वलीले पुस–माघको माइनस डिग्रीको जाडोमा स्टेजबाट ‘गोजीमा गाँठ भाको, मनमा आँट भाको, कोही छ मलाई लान सक्ने ?

सञ्चारकर्मी तथा लोकगायिका कोमल वलीलाई नेकपा एमालेले राष्ट्रिय सभाको सांसद बनाउने निर्णय गरेपछि आएका प्रतिक्रिया हेर्दा यस्तो लाग्छ, उनीजति विवादित महिला यो मुलुकमा कोही थिएन र छैन । नेकपा एमालेले यति ठूलो गल्ती अहिलेसम्म गरेकै थिएनझैँ गरी प्रचार गरिएको कोमल वली प्रकरणलाई जति हल्काफुल्का रूपमा लिइएको छ, यसबाट सार्वजनिक जीवनमा रहनेहरूले सिक्ने पाठ भने निकै गहिरो छ ।

टाढा जानै पर्दैन, डेढ–दुई वर्षअघि मात्रै पनि कोमल वलीले पुस–माघको माइनस डिग्रीको जाडोमा स्टेजबाट ‘गोजीमा गाँठ भाको, मनमा आँट भाको, कोही छ मलाई लान सक्ने ?’ भनेर प्रश्न गर्दा सयौको सङ्ख्यामा दर्शकदीर्घाबाट ‘म छु’ भन्नेहरू थिए । अहिले पनि यस्तो प्रश्न गरे पहिलाभन्दा बढी मानिसले ‘म छु’ भनेर हात उठाउलान् ।

कोमल वलीले गायिकाका रूपमा स्टेजबाट पुरुषलाई लक्षित गरेर गर्ने प्रश्नहरू जस्तो–तस्तो मन भएकाहरू झसङ्गै हुने प्रकारका हुन्थे । उनको स्टेज कार्यक्रमको भोलिपल्ट अखबारहरूमा फोटोसहित छापिन्थ्यो– कोमल वलीले गाएपछि नाचे सीडीओ छमछमी…हजारौँले कोमल वलीलाई भने, हामी तयार छौँ…पूर्वेली ठिटाले कोमल वलीलाई दिए च्यालेन्ज…आदि । उनका अन्तर्वार्ताले मानिसलाई यसरी आकर्षित गथ्र्यो कि एकैछिनमा हजारौँ सेयर हुन्थे । उनले दिएका अन्तर्वार्ताका शीर्षक हुन्थे– पोइ किन चाहियो कोमललाई ?, कोमल वली भन्छिन्– म अझै भर्जिन छु, कोमल वलीले भनिन्, जीवनले प्रेम खोज्दो रहेछ, ब्वाइफ्रेन्ड नहुँदा कोमलले पाइनन् अमेरिकाको भिसा… आदि ।

अन्तर्वार्ताहरूमा उनले धेरै राम्रा–राम्रा कुरा बोलिन् होला, तर शीर्षक प्रायः हल्काफुल्का नै बने जसमा उनले मनोरञ्जन नै लिएको देखियो । गीतदेखि अन्तर्वार्तासम्म ‘पोइ’ भन्ने शब्द उनको वरिपरि घुमिरह्यो । गायिकाका रूपमा उनले पाउने गरेको वाहवाही र प्रशंसा एकछत्र थियो । कोमल वली स्टेजमा जानुको अर्थ दुई–चार हजार मानिस उत्साहित हुनु सामान्यझैँ लाग्थ्यो । पुरुष मात्र होइन महिलामा पनि कोमल वली चर्चित थिइन्, तिजमा सयौँ महिला उनीसँग नाच्थे । उनले जति दर्शकको माया र वाहवाही नेपालमा कमै गायिकाले पाए होलान् ।

लामो समय उनले रेडियो नेपालको समाचार शाखामा काम गरिन् । समाचार सम्पादन गरिन्, पढिन् । उनको स्वर समाचारवाचकहरूमध्ये उत्कृष्ट नै थियो भन्दा फरक नपर्ला । भूकम्प जाँदा रात–रातभर बसेर सूचना प्रवाह गरिन् । तर, उनका अन्य बौद्धिक प्रतिभालाई साङ्गीतिक दुनियाँले यसरी छोपिदियो कि उनको ‘पोइल जान पाम्’बाहेकको प्रतिभा आवश्यक परेको बेला कहीँ–कतै उजागर भएन । हिजोआज जस्तासुकै मान्छेले पनि पाउने गरेको सांसद पद पाउन लाग्दा उनी विवादित बनिन् ।

उनका नाममा अनेक कार्टुन छापिए, व्यङ्ग्यात्मक समाचारहरू बने । हिजो वाह…कोमल वली भन्नेहरूमध्ये धेरैले नकारात्मक प्रतिक्रियासहित ती कार्टुन सेयर गरे । हिजो स्टेजमा ‘म छु नि’ भनेर चिच्याउनेहरूले सोसियल मिडियामा उनका नाममा तथानाम स्ट्याटस आउँदा ‘के गरेको यस्तो ?’ भनेर प्रतिवाद गरेको देखिएन । हिजो साङ्गीतिक क्षेत्रमा हुँदा त्यति लोकप्रिय उनी राजनीतिमा आएर सांसद पद पाउने चर्चा हुनासाथ रातारात किन अप्रिय बनिन् ? के राजनीतिमा संलग्न हुनु नै यसको कारण हो त ?

कोमल वलीको सवालमा विगतमा उनले प्रस्तुत गरेको आस्था र पार्टी परिवर्तनले विवाद निम्त्याएको हो । पार्टी प्रवेश गर्नासाथ टिकट नपाएको झोकमा दर्ता गरेको स्वतन्त्र उम्मेदवारी र फिर्ता प्रकरण पनि अर्को कारक तत्व हो । नेकपा एमाले पार्टी राप्रपा वा नेपाली काङ्ग्रेसजस्तो जे गरे पनि हुने, केही नगरे पनि हुने दल नभएर अनुशासनका नाममा कार्यकर्तालाई कारबाहीसमेत गर्दै आएको दल हुनाले कार्यकर्तामा आक्रोश पैदा भएको देखिन्छ ।

कोमल वली साङ्गीतिक क्षेत्र छोडेर राजनीतिमा गएका कारण विवादमा आएकी होइनन् । राजनीतिमा त उनी एमालेमा जानुअघि नै प्रवेश गरेकी थिइन् । राष्ट्रिय प्रजातन्त्र पार्टीमा जाँदा उनलाई कसैले केही भनेन । राजनीतिकर्मीका रूपमा उनको उपस्थिति यति स्वीकार्य थियो कि व्यापक प्रतिस्पर्धा रहेको केन्द्रीय सदस्यमा उनले भारी मतले खुला प्रतिस्पर्धाबाट जितिन् । उनले त्यसरी विजय हासिल गर्नुको अर्थ उक्त दलका नेता–कार्यकर्ताले उनलाई दिएको इज्जत हो, सम्मान हो । दर्शकलाई तताउने गायिकाका रूपमा मात्र होइन, राजा र राजसंस्थाकी भक्तका रूपमा पनि उनी चिनिएकी थिइनु ।

हिन्दूधर्मप्रति अगाध आस्था रहेको उनका अभिव्यक्तिहरू आउने गरेका थिए । राजा, राजसंस्था, हिन्दूधर्म र नेकपा एमालेबीचको दूरी कति छ भन्ने थाहा हुँदाहुँदै राप्रपामा आफ्नो भविष्य नदेखेर भविष्य खोज्दै हिँडेका कारण उनको आलोचना भएको हो । मानिसको जीवनमा इथिक्सले ठूलो अर्थ राख्छ । राजनीतिक दल मात्र होइन, कुनै पनि क्षेत्रमा जानका लागि सबै नागरिक स्वतन्त्र छन् । व्यावसायिक जीवनमा भएकाहरू सधैँ एउटै पेसामा रहनुपर्छ भन्ने पनि होइन । तर, आफू कुन दल या क्षेत्रमा जाने भन्ने कुरा इथिक्सभन्दा बढी अवसरसँग जोडिन पुग्यो भने हेर्नेहरूलाई असहज महसुस हुन्छ ।

कोमल वलीको सवालमा विगतमा उनले प्रस्तुत गरेको आस्था र पार्टी परिवर्तनले विवाद निम्त्याएको हो । पार्टी प्रवेश गर्नासाथ टिकट नपाएको झोकमा दर्ता गरेको स्वतन्त्र उम्मेदवारी र फिर्ता प्रकरण पनि अर्को कारक तत्व हो । नेकपा एमाले पार्टी राप्रपा वा नेपाली काङ्ग्रेसजस्तो जे गरे पनि हुने, केही नगरे पनि हुने दल नभएर अनुशासनका नाममा कार्यकर्तालाई कारबाहीसमेत गर्दै आएको दल हुनाले कार्यकर्तामा आक्रोश पैदा भएको देखिन्छ ।

कतिले यसलाई ‘महिला भएका कारण’ पनि भन्ने गरेका छन्, तर कोमल वली प्रकरणको महिला हुनुसँग खासै सम्बन्ध देखिँदैन, यसको प्रत्यक्ष सम्बन्ध प्रवृत्तिसँग छ । महिलाको नेतृत्वमा रहेका बेला नेकपा एमालेले अर्को दलका केन्द्रीय सदस्य बनिसकेका कुमार बस्नेतलाई ल्याएर राष्ट्रिय सभाको सांसद बनाएको भए पनि यस्तै नै प्रतिक्रिया आउने थियो । अहिले पुरुषको नेतृत्वमा पार्टी रहेकाले पोइल जान पाम् चर्चित छ, यदि महिलाको नेतृत्वमा पार्टी रहेका बेला कुमार बस्नेतलाई यसप्रकारको पद दिइएको भए छोरीभन्दा आमा तरुनीका कार्टुनहरू बन्ने थिए । यद्यपि कुमार बस्नेत कुनै राजनीतिक दलसँग सम्बन्धित छैनन् । साङ्गीतिक क्षेत्रका वरिष्ठ गायकका रूपमा उनको छुट्टै सम्मान छ ।

आफूसँग पृष्ठभूमि नमिलेका मानिसको जमातमा बस्न कुनै पनि मानिसलाई त्यति सहज हुँदैन । हिजोसम्म राजावादीहरूलाई ‘दर्शन हजुर’ भनिरहेकी कोमल वलीलाई ‘लालसलाम कमरेड’ भन्न त्यति सहज नहोला । कदाचित भनिहालिन् भने पनि सुन्नेलाई अप्ठ्यारो लाग्ला । उनले मात्र भन्ने कुरा होइन, उनलाई अरूले गर्ने सम्बोधन र गर्ने व्यवहार पनि । अवसर र कल्चर फरक कुरा हो । हिजो जसरी राप्रपाका रविन चाम्लिङहरू दर्शन दिज्यु, हजुरजस्तो लोकप्रिय प्रतिभा भन्दै अघिपछि हिँड्थे, अब त्यसैगरी कमरेड भन्दै वरिपरि आफ्ना समर्थकको घेरा बनाउन उनलाई समय लाग्ला ।

यो मुद्दाबाट सिक्नुपर्ने पाठचाहिँ के हो भने आफ्नो पृष्ठभूमिअनुसारको स्थानमा जाँदा जुन आदर प्राप्त हुन्छ त्यो अरू ठाउँमा नहुने रहेछ । साथै मानिसले करिअरका सुरुवाती दिनमै भोलि आफू कहाँसम्म पुग्न सक्छु या आफ्नो लक्ष्य केसम्म हुन सक्छ भन्नेबारेमा सोचियो भने विगतमा आफँैले गरेका कामहरू तथा अभिव्यक्त विचारहरू आफ्ना नभइदिए हुन्थ्यो जस्तो लाग्ने परिस्थिति बन्ने थिएन । अन्त्यमा, राष्ट्रिय सभामा लाने भनेकोचाहिँ राजनीतिक कार्यकर्ताभन्दा विभिन्न क्षेत्रमा आफ्नो स्थान बनाइसकेका व्यक्तित्वहरूलाई नै हो । यस अर्थमा कोमल वलीको राष्ट्रिय सभा प्रवेश गलत छैन । विविध क्षेत्र समेटिने भएकै कारण यसको नाम राष्ट्रिय सभा बनेको हो ।

(बबिता बस्नेतले लेखेको यो लेख हामीले घटना र विचार साप्ताहिकबाट लिएका हौं ।)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?