कौडीको भाउमा चिया बेच्दा मन रुन्छः चिया किसान

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २१, २०७७
|
|
२७ पटक हेरिएको
Shares
कौडीको भाउमा चिया बेच्दा मन रुन्छः चिया किसान

सारांश

  • इलाम, असार २१ ।
  • सूर्योदय नगरपालिका–७ का चिया किसान डम्बर कटुवाललाई आजकाल किसान भएकामा ठूलो ग्लानी छ ।
  • एउटै विषयलाई लिएर पटक–पटक आन्दोलन गर्नुपरेकामा र चियाको उचित मूल्य नपाएकामा धुरुधुरु रुन मन लाग्छ ।

इलाम, असार २१ । सूर्योदय नगरपालिका–७ का चिया किसान डम्बर कटुवाललाई आजकाल किसान भएकामा ठूलो ग्लानी छ । एउटै विषयलाई लिएर पटक–पटक आन्दोलन गर्नुपरेकामा र चियाको उचित मूल्य नपाएकामा धुरुधुरु रुन मन लाग्छ । बन्दाबन्दीको समयमा घरमा नुनतेल साट्ने चियाको मूल्य नै ‘कौडीको भन्दा कम परेपछि’ उनलाई अहिले चिया बेच्नु न नबेच्नु भएको छ ।

“खासमा दुःख गरेअनुसारको भाउ पाउनु त पर्छ नि । आखिर किन हामीलाई लागत नै नउठ्ने मूल्य लिन बाध्य बनाइन्छ”, कटुवाल भन्छन, “घरमा साग रोप्ने करेसाबारीमा पनि चिया नै लाइयो, अहिले चकलेटको मूल्यमा चिया दिनु पर्दैछ । कहिलेचाहिँ हामीले यो विषयबाट मुक्ति पाउँछौँ ।”

बन्दाबन्दीको समयमा पनि हरियो चियापत्तीको सोचेजस्तो मूल्य नपाएपछि डम्बर यतिबेला के गर्ने र कसो गर्ने अवस्थामा पुग्नुभएको छ । स्थानीय सूर्योदय नगरपालिका (सूनपा) ले पनि चियाको भाउ प्रतिकिलो ४० रुपैयाँ भन्दा कम नकिन्नु भनेर कार्ययोजना नै बनाएको छ । तर पनि उद्योगीहरूले त्यही मूल्य पनि नदिने ‘अड्डी’ कसेपछि डम्बरको मन पिरलिएको हो । “स्थानीय सरकारले पनि कानून मात्र बनाएको छ । कार्यान्वयन गराउने पक्षमा छैन । उद्योगीहरू पनि आफ्नै भलो मात्र चाहन्छन्”, डम्बर भन्छन, “हाम्रो पक्षमा कसले पो बोलिदिन्छ र ?”

डम्बर मात्र होइन, सूनपाकै अर्का किसान ज्ञानु राईलाई पनि यस्तै लाग्न थालेको छ । चियाको उचित मूल्य पाउन छाडेपछि एकातिर बन्दाबन्दीमा घरमा आर्थिक सङ्कट आइलागेको छ भने अर्कातिर बालीको मूल्य नै राम्रो नपाएपछि उकुसमुकस भएको छ । ज्ञानुलाई आफ्नो चित्त दुखाइ स्थानीय सरकार र उद्योगीसँग मात्र नभई चिया किसानसँग पनि हो । “आखिर हामी पनि एकजुट हुन नसकेकाले यो समस्या आएको हो”, ज्ञानु भन्छन, “हाम्रा लागि लड्ने त हामी नै त रहेछौँ, हामीले त २० वर्षअघि जति मूल्यमा चियापत्ती बेच्थ्यौँ अहिले पनि त्यही मूल्यमा दिनुपरेको छ ।”

हरियो चियापत्तीको उचित मूल्य नपाएपछि यतिबेला चिया किसान सडकमा छन् । बन्दाबन्दीको समयमा अन्तर्राष्ट्रिय बजारमा हरियो चियापत्ती नबिकेको भन्दै उद्योगीले मूल्य घटाएपछि किसान सडकमा आउन बाध्य भएका हुन् । किसानले आन्दोलनस्वरुप नगरपालिकाभरिका किसान मिलेर सङ्घर्ष गर्ने योजना पनि बनाएका छन् तर एक हुन नसक्दा समस्या आएको छ । “हामी विस्तारै एक हुने क्रममा छौँ । तीन÷चार वडाका किसान त एक भइसक्यौँ”, अर्का चिया किसान डम्बर प्रधान भन्छन, “हामी चिया किसानले चियामा सुधार ल्याउनुपर्ने छ भने हामी ल्याउन तयार छौं तर उद्योगीले उचित मूल्यचाहिँ दिउन् ।” प्रधान भने नगरले तोकेको मापदण्डानुसार उद्योगीले चिया नलिए चिया नै नदिने जिकिर गर्छन् । किसानको उत्पादनको मूल्य कम पारेर उद्योगीले नाफा मात्र कमाएको दाबी गर्दै प्रधानले भने, “हो बन्दाबन्दी छ, चियाको मूल्य उद्यागीले धेरै दिन सक्दैनन् तर नगरपालिकाको मापदण्डमा त टेक्नैपर्छ । नगरको मापदण्डभन्दा धेरैमाथिको मूल्यसमेत हामीले विगतमा पाएका हौँ ।”

‘उद्योग बन्द भए पनि चिया दिँदैनौँ’

सूनपाले तोकेको मापदण्डमा टेकेर चिया उद्योगले हरियो चियापत्तीको मूल्य नदिए उद्योगलाई कुनै हालतमा चिया नदिनेसम्म किसानले बताएका छन् । विषम परिस्थितिको फाइदा उठाउँदै उद्योगले कम भाउ तोके चिया घरमै राख्नेसमेत किसानले बताएका छन् । “हाम्रो पनि श्रमको मूल्य हुनुप¥यो”, चिया किसान साधना फागो भन्नुहुन्छ, “हाम्रो वस्तुको उचित मूल्य नै दिइँदैन भने हामी किन झुक्ने?”

फागोका अनुसार धेरैजसो चिया किसानलाई उद्योगले चियापत्ती ल्याउन अनुरोध गरेको र पछि निर्धारित मूल्यसमेत दिएका छन् । “हामीले पनि त कर तिर्नुपर्छ, घर चलाउनु पर्छ”, फागोले भने “चिया किसानलाई सहुलियत ऋण र तालिम दिनुको सट्टा हाम्रै उत्पादन पनि सस्तो खोज्ने ?”

आर्थिक अभावपछि शिथिल बन्दै आन्दोलन

आन्दोलन चर्काउनकै लागि भनेर पछिल्लो समय नगरभरका किसानको ‘सङ्घर्ष समिति’ समेत कोसिसमा लागेको छ । किसानहरूले नगरका तीन वडामा ‘समिति’ नै गठनसमेत गरेका छन् तर किसानसमेत एकजुट हुन नसक्दा समस्या आएको उनीहरू नै बताउँछन् ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?