घर–घरमा देउसे पठाउने बली राजा हुन् कि वली राजा !(व्यंग्य)

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २४, २०७५
|
|
३४ पटक हेरिएको
Shares
घर–घरमा देउसे पठाउने बली राजा हुन् कि वली राजा !(व्यंग्य)

सारांश

  • लक्ष्मीपूजाको साँझ घरमा लक्ष्मी भित्र्याउन नपाउँदै लक्ष्मी माग्दै केटाकेटीको हुल आइपुग्यो ।
  • लाज मान्दै एकजना अघि सर्यो र भट्याउन थाल्यो ।
  • ए भनभन भाइ हो : देउसिरे ।

लक्ष्मीपूजाको साँझ घरमा लक्ष्मी भित्र्याउन नपाउँदै लक्ष्मी माग्दै केटाकेटीको हुल आइपुग्यो । लाज मान्दै एकजना अघि सर्यो र भट्याउन थाल्यो ।

ए भनभन भाइ हो : देउसिरे ।

राम्ररी भन : देउसिरे ।
साइकलको घण्टी : देउसिरे ।
छिटो गर्नुस् अन्टी : देउसिरे ।
छानामाथि घिरौँला : देउसिरे ।
कति दिन्छन् हेरौंला : देउसिरे ।
आकुमपाकुम : देउसिरे ।
सेलरोटी चाखुम : देउसिरे ।
हामी त्यसै आएनौँ : देउसिरे ।
बलीराजाले पठाएको : देउसिरे ।
ए साइकलको घण्टी : देउसिरे ।
छिटो गर्नुस् अन्टी : देउसिरे
छानामाथि घिरौंला………..

देउसिरे भन्न जानेको यति नै रहेछ । केटाकेटीले दुई मिनेटमै देउसी सके र त्यही दोहोर्याउन थाले । सकियो त भाइबहिनी हो देउसी भनेर सोधेको, यति हो हामीले जानेको, खै पैसा दिनुस् अर्को घर जान्छौँ भनेर टाउको कन्याए । लौ जाडोमा भाइबहिनीलाई के दुःख दिनु भनेर बिदा गरियो । तँगारोमा पुगेपछि ए आशिष दिन भुलिएछ भन्दै उही भट्याउने केटो अघि सर्यो ।

ए यो घर कस्तो : देउसिरे ।

ए सिंहदरबार जस्तो : देउसिरे ।

ए आँगन कत्रो : देउसिरे ।

आँगन नै रहेनछ, हिँड जाउँ भन्दै केटाकेटी आशिष नै पूरा नगरी दगुर्दै अर्को घरतिर लागे । केटाकेटी निस्केर हिँडेपछि किशोरकिशोरीको अर्को हूल आयो । एक दुईजनाले गितार पनि बोकेका रहेछन् । देउसीको शैली उस्तै छ : साइकलको घण्टी, छानामाथि घिरौंला, आकुमपाकुम, बली राजाले पठाएका…….। गितारसमेत बोकेका उनीहरुले चाहिँ दुई, चारवटा गीत पनि गाए । अनि दानदक्षिणा पाएपछि उही शैलीमा अपुरो आशिष दिएर उनीहरु पनि बाटो लागे ।

उनीहरु हिँडेपछि फेरि अर्को टोली आइपुग्यो । उनीहरुलाई पनि बलीराजाले नै पठाएका रहेछन् । हामी त्यसै आएनौ : देउसिरे । बलीराजाले पठाएका : देउसिरे ।………….

जो आउँछन्, बलीराजाले मात्र पठाएका भन्छन् । बलीराजा पनि कस्ता रैछन्, जति भए पनि नपुग्ने ! अलिअलि भएको पैसा दान दिँदादिँदै सकिन लागिसक्यो । पालैपालो देउसी पठाएर वाक्क पारिसके ।बलीराजाले पठाएका देउसिरेलाई चित्त बुझाउँदा बुझाउँदा पल्लो घरका छिमेकी दाइ पनि वाक्क भएका रहेछन् । उनले सोधे – हैन बली राजा भनेका को हुन् ? हत्तुहैरान पो बनाए त ? कतिलाई दिएर साध्ये लाग्छ ।

खै मलाई पनि के थाहा र ? चिनेजानेका राजा त उहिल्यै हटिसके । यी चिन्दै नचिनेका को हुन् खै बली राजा ?एकछिन घोरिएर दाइले भने – बलीराजाले हैन, वलीराजाले चाहिँ पठाएका हुनुपर्छ । कसैकसैले व लाई पनि ब भन्छन् । वली राजा भन्दा बली राजा भनेका हुन् । व लाई ब त भन्न सक्छन् । बली नभएर वली नै होलान् रे । तर वली त राजा हैनन् नि ? मेरो सिधा मनले भन्यो ।

राजै त हुन् नि । गाउँगाउँमा सिंहदरबार पुगेपछि त्यहाँ त राजारानी पुगिसके । झन् केन्द्रकै सिंहदरबारमा बस्ने मान्छे कसरी प्रधानमन्त्री र अध्यक्ष मात्रै हुन्छ ? वली त राजै हुन् । ती दाइले व्याख्या गरे ।

अनि देउसीको हुल चाहिँ किन पठाएका त ?उनैले भने – वलीको मुख्य सपना सुख र समृद्धि । सुख र समृद्धि कसरी हुन्छ भन्दा हातमा पैसा भएपछि । हातमा पैसा कसरी हुन्छ ? कि कमाएर, नभएर मागेर या चोरेर । चोर्न त डर हुन्छ, त्यसैले माग्नुपर्छ । अरुबेला भन्दा तिहारको बेला माग्दा कात्तिकको दान भनेर सबैले दिन्छन् । अनि माग्ने जति सुखी र समृद्ध हुन्छ । त्यसैले बलीराजा हैन, वलीराजाले नै देउसी खेलेर माग्न पठाएका हुन् ।

माग्ने त सुखी होलान्, तर दान दिइरहने कसरी सुखी र समृद्ध हुन्छ त भन्ने अर्को प्रश्न भूइँमा खस्न नपाउँदै तिनै छिमेकीले तर्क गरे – जसले दिन सक्छ, उसकै घरमा त माग्न जाने हो नि । दिन सक्ने त पहिल्यै सुखी र समृद्ध भैसकेको छ । कथम्कदाचित दिंदादिंदै उ पनि टाट पल्टियो भने जसले धेरै मागेर लगेको छ, उसैकहाँ गएर फेरि देउसी खेल्ने । यसको, उसको, त्यसको, सबैकोमा सबै गएर देउसिरे भन्ने र पैसा जम्मा गर्ने । यति भएपछि सबै सुखी र समृद्ध हुन्छन् ।

ए भनभन भाइ हो : देउसिरे

माग माग भाइ हो : देउसिरे
विदेशीसित माग : देउसिरे

स्वदेशमै माग : देउसिरे

लाज नमानी माग : देउसिरे

लम्पसार पर : देउसिरे

घुँडा टेक : देउसिरे

सपना देख : देउसिरे

सुखी छु भन : देउसिरे

समृद्धि आयो भन : देउसिरे

हामी त्यसै आएनौं : देउसिरे

वलीराजाले पठाएका : देउसिरे ।

(उज्यालाे अनलाइन बाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?