सिके राउत बने ओशो सन्यासी : नयाँ नाम ‘आनन्द मैत्रय’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १२, २०७९
|
|
३४ पटक हेरिएको
Shares
सिके राउत बने ओशो सन्यासी : नयाँ नाम ‘आनन्द मैत्रय’

सारांश

  • कुनै बेला तराईलाई छुट्टै देश बनाउने अभियानमा लागेर राज्य द्रोहको मुद्धामा जेल समेत बसेका सिके राउत ओशो सन्यासी बनेका छन् ।
  • बुधबार काठमाडौंमा स्वामी आनन्द अरुणबाट दीक्षा लिएर उनी ओशो सन्यासी बनेका हुन् ।
  • तराईमा क्रियाशील जनमत पार्टीका अध्यक्ष समेत रहेका राउत काठमाडौंको रानीबारीमा रहेको ओशो तपोवनमा ९ दिनसम्म पूर्णरुपमा मोबाइल अफ गरेर ध्यानमा बसे ।

कुनै बेला तराईलाई छुट्टै देश बनाउने अभियानमा लागेर राज्य द्रोहको मुद्धामा जेल समेत बसेका सिके राउत ओशो सन्यासी बनेका छन् । बुधबार काठमाडौंमा स्वामी आनन्द अरुणबाट दीक्षा लिएर उनी ओशो सन्यासी बनेका हुन् ।
तराईमा क्रियाशील जनमत पार्टीका अध्यक्ष समेत रहेका राउत काठमाडौंको रानीबारीमा रहेको ओशो तपोवनमा ९ दिनसम्म पूर्णरुपमा मोबाइल अफ गरेर ध्यानमा बसे । ९ दिन ध्यान पूरा गरेपछि उनले सन्यास धारण गरेका हुन् ।
ओशो तपोवन व्यवस्थापनकी एक सदस्य सोभिता सिंखडाले रातोपाटीसँग भनिन्–‘उहाँले यहाँ ९ दिनको ध्यान पूरा गर्नुभएको हो । मिस्ट्रिक रोज भन्ने हाम्रो एउटा थेरापी हुन्छ । त्यसका लागि पूर्णरुपमा यहाँ १० दिन बस्नुभयो । साउन ११ गते बुधबार साँझ उहाँले सन्यास लिनुभएको हो ।’

सन्यासपछि राउतले नयाँ नाम पाएका छन्–‘आनन्द मैत्रय’ । नाम जस्तै सन्यास धारणपछि सार्वजनिक भएको तस्विरमा उनी निकै आनन्दित देखिएका छन् । गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष भवन भट्ट, पूर्व अभिनेत्री शोभिता सिम्खडाका साथमा सेतो बस्त्र, ओशोको तस्विर रहेको माला लगाएर ‘ग्रीन टि’ पिउँदै गरेको उनको तस्बिर सार्वजनिक भएको छ ।

तपोवनकी सदस्य सिंखडाले भनिन्– ‘सन्यास लिँदा नयाँ जन्म भएको मान्यताको आधारमा नयाँ नाम दिने प्रक्रिया हुन्छ । नयाँ सन्यासलाई हामी नयाँ जन्म भन्छौँ । सन्यासपछि पुरानो नाम छोडेर नयाँ नाम दिइन्छ । आनन्द मैत्रयको रुपमा उहाँको नयाँ जन्म भएको छ ।’ राउतले पहिलेदेखि नै ओशोको पुस्तक पढ्ने र ध्यान गर्ने गरेको उनले बताइन् । उनले राउत पहिलेदेखि नै आध्यात्मिक रहेको बताइन् ।

उनले भनिन्– ‘उहाँलाई नजिकबाट हेर्ने हो भने पहिलेदेखि नै आध्यात्मिक व्यक्ति नै हुनुहुन्छ । पहिले पनि हरिद्वार लगायत नेपाल भारतका विभिन्न गुरुहरुको आश्रममा जानुभएको रहेछ । ओशोको १ सयभन्दा बढी पुस्तक पढिसक्नु भएको रहेछ । आश्रममा पनि बेला बेला आइरहनुहुन्थ्यो त्यही सिलसिलामा अहिले फेरि शिविर बस्न आउनुभएको हो ।’

राउत ओशो सन्यासी बनेपछि राजनीति र पार्टीमा केही असर पर्छ ?

शब्दकोषमा हेर्ने हो भने सन्यास शब्दको अर्थ–‘सम्पूर्ण त्याग, परिपूर्ण समर्पण’ भन्ने हुन्छ । सन्यासीको अर्थ ‘सबै कुराको परित्याग गर्नु, बैराग्य, त्यागी, बैरागी, योगी’ भन्ने अर्थ लाग्छ । शब्दकोषमा भएको यो शब्दको माने अनुसार ओशो सन्यासीहरुले घरबार, आफन्त, गरिरहेको पेशा छोड्ने भने गर्दैनन् । ओशो सन्यासी भएपछि उनीहरुले आफूभित्रको इगो छोड्ने तर गरिरहेको अरु काम छाड्न नपर्ने सिंखडाले बताइन् ।

उनले भनिन्–‘सन्यास धारण गर्दैमा उहाँले राजनीति छाड्ने भन्ने कुरा हुँदैन । हाम्रो सन्यासको मतलब के हुन्छ भने आफू भित्र बाटै जाग्ने, बुद्धत्वको खोज गर्ने, अध्यात्मको खोज गर्ने र बाहिरबाट जे काममा लागिरहेको छ, त्यसलाई अझ परिष्कृत अझ राम्रोसँग लिएर जाने हो । आफ्नो इगो छोड्ने सन्यास हो । संसारमा आफूले गरिरहेको काम छोड्ने सन्यास हैन ।’

ओशो सन्यासी भएपछि राउतले गुरुले दिएको माला र सन्यासी पोषाकमा देखिने उनले बताइन् ।

पार्टीको सिद्धान्त नै आध्यात्मिक, पार्टीमा अरु पनि ओशो सन्यासी
अध्यक्ष राउत आध्यात्मिक कर्ममा लागेको यो पहिलो उदाहरण भने हैन । राजनीतिमा आउनुभन्दा अघि पनि उनी अध्यात्ममा लागेका थिए । जनमत पार्टीका नेता वीपी साह भन्छन्– ‘राजनीतिमा आउनुभन्दा पहिलेदेखि नै उहाँ अध्यात्ममा लाग्नुभएको थियो । उहाँको बैरागदेखि बचावसम्म भन्ने आत्मकथा प्रकाशित पनि भएको छ । इन्जिनियरिङमा स्नातक सकेपछि उहाँ बैरागमा जाने भनेर भारतको बैंङलोरको तीर्थयात्रा पनि गर्नुभएको थियो । उहाँको तीर्थयात्राको तस्विर त्यो किताबको कभरमै छ ।’

उनले पहिलेदेखि नै ओशोका किताब पढ्ने गरेको अहिले पनि उनको झोलामा ओशोको किताव नछुट्ने साहले बताए । पार्टीको सिद्धान्त र कार्यनीति हेर्ने हो भनेपनि आध्यात्मिक नै रहेको उनले बताए । साहले भने– ‘हाम्रो पार्टीको कार्यनीतिमा अष्टदल बुद्धको साम्यक सिद्धान्तको अध्यात्म जोडिएको छ । अष्ट दलको नीतिअनुसार पार्टीले अध्यात्मलाई अझ बढी प्राथमिकता दिने नीति छ । हाम्रो पार्टीको सिद्धान्त वौद्धमार्गको सिद्धान्तको वरिपरि नै छ ।

पार्टीको झण्डा हेर्नुहुन्छ भने पनि अष्टकमलको चित्र छ । हाम्रो पहिलेको स्वतन्त्र मधेश गठबन्धनको झण्डा हेर्नुभयो भने ८ वटा धर्सा भएको बुद्धको जुन धम्म हुन्छ, त्यसलाई समावेश गरिएको थियो । जसलाई ओशोका चक्र पनि भनिन्छ । अहिले हाम्रो पार्टीको झण्डामा पनि अष्टकमल छ, बुद्धको मुख्य सिद्धान्त हाम्रो पार्टीको राजनीतिक सिद्धान्त पनि हो ।’

उनले अध्यक्ष राउत ओशो सन्यासी बन्नु पार्टी र कार्यकर्ताका लागि नयाँ कुरा नभएको बताए । पार्टीभित्र अरु नेता कार्यकर्ता पनि ओशो सन्यासी रहेको नेता साहले बताए । उनले आफू पनि पहिले–पहिले ओशो तपोवन जाने गरेको उल्लेख गर्दै सन्यासी भने भइनसकेको बताए । उनले पार्टी अध्यक्ष ओशो सन्यासी बन्दैमा पार्टीको गतिविधिमा कुनै असर नपर्ने बताए ।

उनले भने– ‘यो भनेको स्थानीय चुनावपछिको कार्यव्यस्थताको बीचबाट निकालिइएको समय र प्रतिनिधिसभा चुनाव तयारी भन्दा अगाडिको १० दिनको विश्रामको समय मात्र हो । उहाँले भोलिदेखि नै पार्टी कार्यालयमा आएर राजनीतिक काम गर्नु थाल्नुहुन्छ । यसबाट उहाँलाई काम गर्न थप जोश जाँगर थप्छ होला ।’

के रोकिएला अब विगतको जस्तो हिंसात्मक आन्दोलन ?

सिके राउत अध्यक्ष रहेको जनमत पार्टीले विगतमा मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा हिंसात्मक गतिविधि समेत गरेको थियो । मधेश प्रदेशका ६ जिल्लामा जनमत पार्टीले अनिश्चितकालीन आम हड्ताल गर्ने क्रममा २०७८ साल पुसमा सो दलका कार्यकर्ताहरूले धनुषा र सिरहामा दुईवटा ट्रकमा आगो लगाएर ध्वस्त बनाएका थिए ।

यस्तै खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहलाई कालोमोसो दल्नुका साथै हिलो छ्यापेर जनकपुर शहर परिक्रमा गराएका थिए । विगतमा उनीहरुले कटबाँस लिएर सडक प्रदर्शन समेत गर्ने गरेका थिए । अब पार्टी अध्यक्ष सिके राउत ओशो सन्यासी ‘आनन्द मैत्रय’ नै बनेपछि सो दलले आगामी दिनमा पनि यस्तै गतिविधि गर्छ वा शान्तिपूर्ण राजनीति गर्छ त्यो भने हेर्न बाँकी नै छ ।

राउत ओशो तपोवनमा १० दिनको ध्यान पूरा गरेर सन्यास बनेपछि जनकपुर फर्किदैछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइयो जमुनाह नाकामा
सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइयो जमुनाह नाकामा
प्रधामन्त्री ओलीको दावीः मेलम्चीको पानी काठमाडौँ आउन १ वर्ष पनि नलाग्ने
प्रधामन्त्री ओलीको दावीः मेलम्चीको पानी काठमाडौँ आउन १ वर्ष पनि नलाग्ने
देउबा र पौडेलको किन मच्चियो रस्साकस्सी ?
देउबा र पौडेलको किन मच्चियो रस्साकस्सी ?
बच्चा जन्मदर्ता मावलीका थरबाट गर्न सकिने
बच्चा जन्मदर्ता मावलीका थरबाट गर्न सकिने
सांसद पद खारेजपछि बादल गृहमन्त्री रहेनन्, उपप्रधानसहित गृहमन्त्रीका रुपमा सपथको तयारी
सांसद पद खारेजपछि बादल गृहमन्त्री रहेनन्, उपप्रधानसहित गृहमन्त्रीका रुपमा सपथको तयारी
धुलिखेल अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी एकान्तबासमा,अत्यावश्यक सेवाबाहेक अन्य बन्द
धुलिखेल अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी एकान्तबासमा,अत्यावश्यक सेवाबाहेक अन्य बन्द
एन. बी दाहालको पहिलो पहिलो भेटमै कस्तो माया बस्यो
एन. बी दाहालको पहिलो पहिलो भेटमै कस्तो माया बस्यो
शनिबारको राशिफल
शनिबारको राशिफल
पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठान द्वारा तीन महिला सगरमाथा आरोही अभिनन्दित !
पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठान द्वारा तीन महिला सगरमाथा आरोही अभिनन्दित !
पैसा दिएर भर्ना भएपछि एमबीबीएसको प्रमाणपत्र पाउने ग्यारेण्टी भएर बाहिर गएका हुन् : गगन थापा (भिडियोसहित)
पैसा दिएर भर्ना भएपछि एमबीबीएसको प्रमाणपत्र पाउने ग्यारेण्टी भएर बाहिर गएका हुन् : गगन थापा (भिडियोसहित)