घर छोडेको अन्तिम रात : महराको सपरिवारले घर छोडेको हृदयविदारक रात पत्रकार डिल्ली मल्लको शव्दमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २५, २०७४
|
|
१८ पटक हेरिएको
Shares
घर छोडेको अन्तिम रात : महराको सपरिवारले घर छोडेको हृदयविदारक रात पत्रकार डिल्ली मल्लको शव्दमा

सारांश

  • डिल्ली मल्ल बिस्तारै झ्याउँकीरी र मच्छेडको संगीतयात्रा शुरु भैसकेको छ ।
  • २०६२ बैसाखको एक साँझ, यतिखेर हामी दक्षिणी पाल्पाको गोठादीको हात्तिलुङमा छौं ।
  •  केन्द्रीय आधारइलाकामा कार्यरत साँस्कृतिक टोली प्रतिरोध साँस्कृतिक परिवार मेची महाकाली साँस्कृतिक प्रतिरोध अभियानको क्रममा गण्डक अभियानको यात्रामा छ ।

डिल्ली मल्ल

बिस्तारै झ्याउँकीरी र मच्छेडको संगीतयात्रा शुरु भैसकेको छ । २०६२ बैसाखको एक साँझ, यतिखेर हामी दक्षिणी पाल्पाको गोठादीको हात्तिलुङमा छौं ।

 केन्द्रीय आधारइलाकामा कार्यरत साँस्कृतिक टोली प्रतिरोध साँस्कृतिक परिवार मेची महाकाली साँस्कृतिक प्रतिरोध अभियानको क्रममा गण्डक अभियानको यात्रामा छ ।

हिजो पश्चिम पाल्पादेखि पूर्वी पाल्पातर्फ थालिएको यात्रा अझैं जारी छ, आज दिनभर बाटोमा हिड्दै गर्दा दिदी प्रगतिसँगको लामो कुराकानी अझैं टुङ्गिएको छैन । र, त फेरि म र दिदी बाँकी कुराकानी पूरा गर्न जुटिरहेका छौं ।

दिदी प्रगति अर्थात् कुश्मा महरा । एक जनकलाकार, सफल गायिका, देश र दुनियाँ बदल्ने महान् यात्रामा यात्रारत् अविचलित योद्धा । 

सायद यतिले मात्रै उनको सबै परिचय पूरा हुदैन । माओवादी नेता कृष्णबहादुर महराकी कान्छी छोरी । वर्गसंघर्षको केन्द्र रोल्पाको महरा परिवार साँच्ची दश वर्षे जनयुद्धको इतिहासमै एउटा आदर्श, उदाहरणीय र सच्चा क्रान्तिकारी परिवार ।

यही नमुना परिवारकी सदस्य प्रगति पारिवारिक जीवनकै एउटा घुम्तीको वास्तविक कथा सुनाइरहेकी छिन् मलाई । जुन दिन उनीहरुले स-परिवार घर छोडे, त्यसपछि त्यो घरमा उनीहरु कहिल्यै फर्किएनन् । 

घर छोडेको त्यो अन्तिम रात, त्यसबखत उनीहरुको हालत कस्तो थियो ? दिदी प्रगति धाराप्रवाह बोलिरहेकी छिन्, म सुनिरहेछु –

समयले नेटो काटेको पत्तै नहुने रहेछ ।  त्यतिबेला म १२ वर्षकी मात्र थिए । मेरो बाल मस्तिष्कले सबै कुरा त बुझ्न सक्दैनथ्यो तर एउटा घटनाले बेला-बेला झस्काउँछ । त्यो अतित वर्तमान बनेर उभिन्छ । त्यो भयानक दृश्य मेरो आँखा वरिपरी घुमिरहन्छ । अहिले पनि विगत सम्झन्छु, एकाएक मनमा प्रश्न उब्जिन्छ- ‘त्यो रात हामीले घर नछोडेको भए…….?’

अवश्य हामीले घर छोडिसकेका थियौं । कहिले फर्किने ? त्यो पनि निश्चित थिएन । बाध्यताको बन्धनभित्र जेलिएर अनिश्चितताको कालो बादलमुनि हराउँदै हामी निस्कियौं ।

सदरमुकाम लिवाङकै छेउमा हाम्रो घर थियो । बुवा कम्युनिष्ट भएकै कारण तत्कालिन सरकार र प्रशासनको आँखाको कसिंगर बन्नुभएको थियो । जनयुद्धको शुरुवात हुनुपूर्व नै बुवा भूमिगत बस्नुपर्ने बाध्यता भयो । जनयुद्धको थालनी भैसकेपछि त झन् पुलिसको बिगविगी बढ्न थाल्यो । त्यसपछिका दिनहरु यति कष्टप्रद बिते कि, मैले शब्दमा व्यक्त गर्न नै सक्दिन ।

मेरो भाई निर्माण, दाजु निर्मल र दिदी उन्नतिको पढाई बिग्रदै गयो । बुवा घरमा आउने स्थिति नै रहेन । दुश्मनले हप्तामा ३ पटकभन्दा बढी खानतलासी लिने गथ्र्यो । घरमा आमा र हामी चार भाईबैनी गरी ५ जनामात्रै थियौं ।

सभामुखका उम्मेदवार तथा माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महराको रोल्पा लिवाङस्थित घर । जुन घरबाट महराको सिङ्गो परिवार २०५४ साउन २९ गते शुक्रवार राति निस्किएको थियो ।

हाम्रो लागि पुलिसको गालीगलौज, कुटपीट र धाकधम्की त सामान्य भैसकेका थिए । दानवहरुको हुलले कहिले मध्यरातमा आएर ढोका हान्थे, कोठा-कोठा, बुइगल र भकारी जम्मै हेर्थे । अन्नपात जहाँतही पोखिदिन्थे, केही नभेटेर रीसले मुर्मुरिदै फर्किन्थे । कहिलेकाँही एक दुइजना मात्रै साधारण भेष गरेर आउँथे ।

भाइ र मलाई चकलेट, बिस्कुट, कापी, कलम ल्याएर राख्न भन्थे तर हामी केही पनि राख्दैनथ्यौं । त्यसपछि उनीहरु एकआपसमा कानेखुसी गर्दै भन्थे- ‘माओवादीका बच्चाबच्चीहरु कति बाठा हुन्छन्, यी सालाहरु पनि ठूलो भएपछि माओवादी बन्ने त होलान् यीनलाई……।’

हामी यसरी बाँचिरहेका थियौं कि मृत्यू हरपल आँखै अगाडि घुमिरहन्थ्यो । कतिबेला घरमा आगो लगाइने हो ? कतिबेला गोलीले उडाइने हो ? सन्त्रास र भयको कालो बादल सधैं मडारिरहन्थ्यो । तारबारको जेलभन्दा पनि अझ कठोर जेलमा कैद थियौं हामी । सधैं दुश्मनका भरौटेहरु आएर शारीरिक तथा मानसिक यातना दिइरहन्थे ।

जब सूर्य अस्ताउँदै पश्चिममा हराउँथ्यो र कालो रातले पृथ्वीलाई छोप्दै ल्याउँथ्यो, हाम्रा मनहरुमा पनि सन्त्रासको कालो बादलले छोप्दै ल्याउँथ्यो । जब बिहान हुन्थ्यो, मन केही हलुका त हुन्थ्यो तर घरको भित्तामा मृत्यूपुर्जी टाँसिएको हुन्थ्यो ।

कहिलेकाँही अज्ञात स्थानबाट बुवाले पठाएका पत्रहरु आउँथे । हामीलाई ती पत्रले मार्गदर्शन गरिरहन्थे । पत्रहरु प्रेरणा बन्दथे, दुश्मनद्वारा लुछिएका, चुडिएका तनमनहरुमा मल्हमपट्टी हुन्थे ।

बुवाले पत्रमा लेख्नुभएको हुन्थ्यो- ‘अथाह दुःखकष्ट र अप्ठेरोको बीचबाट मात्रै हामी क्रान्तिकारी बन्न सक्छौं । सजिलोमा जो पनि बाँच्न सक्छ, रमाउन सक्छ तर कठिन अवस्थामा पनि जीउन सक्नुपर्छ । अवश्य दुश्मनले बेला-बेलामा सताउँछ होला, झुकाउन प्रयास गर्ला तर दुःखमा नआत्तिनु, दुश्मनसँग कहिल्यै झुक्नुहुदैन ।’

हामी बुवाले लेखेका पत्रहरु धेरैपल्ट दोहोर्‍याई तेहेर्‍याई पढ्थ्यौं र दुश्मनले नभेट्टाउने ठाउँमा लुकाएर राख्थ्यौं । हाम्रो बुवासँगको भेटघाट त्यही पत्रहरु नै हुन्थे ।

२०५४ साउन २९ गते शुक्रबारको दिन, वर्षायाम भए पनि त्यसदिन पानी परेको थिएन । साँझपख केहीछिन आँधीहुरी चल्यो । आकाशमा कतै-कतै बादलका छिर्काहरु देखिन्थे । घाम नअस्ताउँदै सदरमुकाम लिवाङ सुनसान भैसकेको थियो । कारण साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म कथित् कफ्र्यू आदेश जारी गरिएको थियो । हामी सधैंझैं त्यस साँझ पनि सबेरै खाना खाएर सुतिसकेका थियौं ।

त्यो रात मेरो मानस्पटलमा अझैं पनि ताजै छ । सायद, मेरो मस्तिष्क चलचित्रको चक्का हो । चक्का निरन्तर घुम्दै जान्छ अनि हरक्षण र ती दृश्यहरु मेरो आँखामा क्रमैसँग आउँछन् ।

हामी ओछ्यानमा पल्टिएपनि निदाइसकेका थिएनौं । एक्कासी ‘ढ्याम्म’ कसैले ढोकामा जोडले लात्ती बजार्‍यो । ढोका हानेको आवाजसँगै ‘ए राँडी ढोका खोल ।’ को एउटा कर्कश मानवरुपी पशुको आवाज पनि आयो ।

‘उफ्’ लामो सुस्केरा हाल्नुभयो आमाले । फेरि पनि कुकुरहरु आए, अब के-के हुने हो ? हाम्रो मनमा सन्त्रास, भय र आक्रोश एकैपटक उब्जियो । बाहिर झ्याल, ढोकामा लात्तीले हिर्काउने काम जारी थियो । अश्लिल शब्द बोल्दै राक्षसहरु आँगन, करेसा सबैतिर होहल्ला गरिरहेथे । यसबाट पनि स्पष्ट हुन्थ्यो कि दुश्मनहरु धेरै आएका छन् ।

आमाले बत्ती बाल्नुभयो । हामी चार भाइबैनी पनि उठिसकेका थियौं । अझ यसो भनौं हामी सबै दुष्टहरुको कुटाइको लागि तयार हुदैछौं । ‘गल्र्याम्म’ ढोका ढलेको आवाज आयो र आवाजसँगै मैमत्त दानवहरु ग्वारग्वारती भित्र छिरे । कोठा, भकारी, बुइगल, भान्साकोठा सबैतिर तलासी लिए ।

पहिलेभन्दा त्यसदिन आएका दुष्टहरु बेग्लै थिए । कपडा पनि टाटेपाटे, अनुहार देख्दैमा डरलाग्दो मान्छे खाने दानवजस्तो । ३/४ जना आएर आमालाई झम्टे, कपाल लुछ्दै राइफलको कुन्दाले हिर्काउन थाले ।

अरु २ जना आएर हामी ४ भाइबैनीलाई पनि गालामा बेस्सरी हिर्काए । भाई डाँको छोडेर रुन थाल्यो । दुष्टहरुले भाइलाई झन् अरु कुटे । दिदी, दाई र म चुपचाप उभिइरह्यौं । आवाज निकालेर रोयो भने झनै कुटाइ खानुपथ्र्यो । मन रोइरह्यो, आँखाभरी आँशु भरिएका थिए । दुष्टहरुले आमालाई कुटिरहेको हामीले मुकदर्शक बनेर हेरिरहनुपर्ने भयो ।

आमालाई कुटेर बेहाल बनाइसकेका थिए । एकछिन कुट्न छोडे ।

अनि शुरु भयो बकबास ।
‘तेरो पोइ कहाँ छ ?’ – ‘थाहा छैन’
‘छिटो भन् कहाँ छ ?’ – ‘थाहा छैन के भनुँ ?’
‘माओवादीका नेता कहाँ बस्छन् ?’ -’था छैन’
‘तेरो राँडो कहाँ बस्छ ?’ – ‘था छैन’

फेरि शुरु भयो बुट र कुन्दाको काम । केहीछिनपछि बाहिरबाट अर्को राक्षस आयो । सायद त्यो अलि ठूलो हुनुपर्छ । ‘केटाहरु हो, यसले भन्दिन । आज यो राँडीलाई नै सुट गर्नुपर्छ, अनिमात्र सबै कुरा ठिक हुनेछ ।’

ए राँडी कपडा लगा । केही भन्नु छ भने तेरा छाउरा छाउरीलाई भन, केही दिनुछ भने पनि दिए हुन्छ । अब फेरि तेरो यिनीहरुसँग कहिल्यै भेट हुदैन बुझिस् । आमातर्फ फर्केर ठूलो दानव करायो । आमा मौन रहिन् ।

‘छिटो गर’

आमाले कपडा लगाउनुभयो । कम्मरमा बाँधेको पर्स फुकाल्नुभयो र दिदीको हातमा राखी दिनुभयो ।

हुनसक्छ आमा अब कहिल्यै फर्किनु हुनेछैन ।

हामीबाट आमाको न्यानो काख र माया जबर्जस्ती खोसिदैछ । मैले आमाको आँखामा हेरे । आँसु छचल्किएका थिए । सहजै अनुमान गर्न सकिन्थ्यो आमा आफ्ना प्यारा छोराछोरीप्रति जीवनभरिकै असिम माया ममता पोखिरहनुभएको थियो ।

मलाई झट्ट बुवाको याद आयो । बुवा अहिले कहाँ के गर्दै हुनुहुन्छ होला ? हाम्रो यो हालत, आमाको यस्तो अवस्था… मुटु भक्कानिएर आयो तर के गर्ने ? आमाको अंगालोमा झुण्डिएर बेस्सरी रुन मन नलागेको कहाँ हो र ? तर, बीचमा दुष्ट दानव उभिएको थियो ।

आमाले धौ-धौसँग भन्नुभयो- ‘राम्रोसँग बाँचेर बसे । नराम्रो काम कहिल्यै नगरे…’ आमाको गला अवरुद्ध भयो ।

बोल्दाबोल्दै दिदी प्रगतिले लामो सास फेरिन् । सायद उनलाई आमाको त्यो शब्द अहिले भर्खर भनेजस्तो लागिरहेछ । मानौं, उनी अहिले दुष्टको पञ्जामा परेकी आमाको अगाडि निरिह भएर उभिरहेकी छिन् । धाराप्रवाह उनको बोलीमा केही भिन्नता आएको छ अहिले । एकपटक खोकिसकेपछि उनले बाँकी वृतान्त फेरि शुरु गरिन्-

दुष्टहरुले आमालाई घिसार्दै बाहिर लिए । ‘आमा ऽऽ’ भाइ जोडले चिच्यायो । तर, हाम्रो वेदना सुनिदिने कोही थिएन । पत्थरको जस्तो मुटु भएका दुष्टहरुलाई के मतलब आमाको माया कति हुन्छ ?

सबै दुष्टहरु बाहिर निस्किए । हामीलाई भित्रै थुनेर दुष्टहरु बाहिर निस्किए । एकैछिनपछि ढोकाको साङ्लो (चुकुल) लगाएको आवाज सुनियो । अब सबै कुरा खतम भइसकेको थियो ।

हामी परिस्थितिले लत्याइएका बेसहारा ४ प्राणी घरभित्रै बेस्सरी रोयौं, करायौं । बाहिर दुश्मनहरु होहल्ला गरिरहेथे ।

एक्कासी एउटा करायो- ‘भागी, भागी ए त्यो रण्डी भागी ।’ अर्को आवाज आयो- ‘ठोक ठोक सालेलाई ।’

‘ड्याङ ऽऽ’ राइफल पडि्कएको आवाज आयो ।

आमा ऽऽ हामी घरभित्रैबाट जोडले चिच्यायौं । आकाश खसेर थिचेझैं भयो । खैं त्यो बेलाको पीडा मैले कसरी भनुँ ? हामी भित्रै छटपटाइरह्यौं । बाहिर राइफल पटि्करहेको आवाज बढिरहेको थियो । कोही मकैबारीमा दौडिरहेको आवाज पनि आइरहेको थियो ।

दिदीले शंका गर्दै भन्नुभयो- ‘आमा भाग्नु भएजस्तो छ, आमा भागेको भए उल्टो रिसले हामीलाई नै मार्छन् दुष्टहरुले बरु हामी पनि भागौं ।’

हामी चारै भाइबैनी घरको पछिल्लो ढोकाबाट सुस्तरी बाहिर निस्कियौं । घरको करेसा हुँदै माथिल्लो बारीमा उक्लियौं र कान्ला-कान्लाबाट लुक्दै पर डाँडामा पुग्यौं । दुष्टहरु घर अगाडि र वरपर नै हल्ला गरिरहेथे ।

हामी दुष्टहरुको घेराभन्दा बाहिर निस्किसकेका थियौं ।

साउनको महिना भएपनि आकाशमा बादल देखिदैनथ्यो । डाँडोमा एकछिन सुस्तायौं । जलजलाबाट बहेको चिसो सिरेटोले मुटुसम्म छोएर र्फकन्थ्यो ।

आकाशमा लाखौं ताराहरु टिलपिल-टिलपिल गरिरहेथे । जूनको धिमा प्रकाश धर्तीमा छरिएको थियो ।

हाम्रो त्यो बेहाल ती निर्जीव जूनताराबाहेक अरु कसैले देखेन ।

घरबाट त निस्कियौं तर कहाँ जाने ? रातको करिब २ बजेको छ । ‘रानो बिनाका मौरीझैं’ हाम्रो बेहाल थियो । आमालाई के भयो होला ? कतै दुष्टले…? हाम्रो यो हालत, बुवा कहाँ हुनुहुन्छ होला ?

हामी ४ भाइबैनीको त्यो बेलाको अवस्था तपाइसँग कुन शब्दले अभिव्यक्त गरुँ ?

केही उपाय नआएर त्यसै बसिरहेका थियौं, जूनको मधुरो प्रकाशमा नजिकै एउटा कालो वस्तु हिडिरहेको देख्यौं । शुरुमा त पुलिस आयो भनेर झस्किर्यौं तर अलि नियालेर हेर्दा हतियार पनि छैन ।

पुलिस नभएको निश्चित भएपछि आमा हुनुहुन्छ कि भनि त्यही कालो वस्तुको पछि-पछि दौड्यौं । हामी दौडेको आवाज सुनेर त्यो झन् दौड्यो ।

दौडाइ आमाको जस्तै लागेर दिदी कराइन् आमा ऽऽ तर त्यो झन्-झन पो दौड्यो । दिदी फेरि पनि कराइन् ।

‘को हो ?’- प्रत्युत्तरमा दौडिने वस्तु करायो ।

त्यो अरु कोही नभएर आमा नै हुनुहुन्थ्यो । हामी आमा भएतिर हाम फाल्दै गयौं र अंगालोमा बाँधियौं ।

आमालाई छोपेर लगिसकेपछि हामीले फेरि मिलनको आशा त के कल्पनासमेत गरेका थिएनौं । कहिलेकाही चान्स पनि कस्तो अचम्मको हुँदो रहेछ । दुष्टहरुको घेराबन्दीबाट हामी सबै सकुशल बाहिर निस्किसकेका रहेछौं ।

दुश्मनद्वारा घरबास लुटिदा, तनमन चिथोरिदा पीडा त अवश्य थियो तर मृत्यूको मुखबाट फर्किएर आएझैं आमालाई पाउँदा खुसीले बेसरी रोयौं । घरमा भने दुष्टहरु आतंक मच्चाइरहेथे । सामानहरु यत्रतत्र फालेको मधुरो आवाज सुनिन्थ्यो ।

घर छोड्यौं । कहिले फर्किने अनिश्चितताको बन्धनले बाँधेको छ । बिल्कुल थाहा छैन । म भर्खर १२ वर्षकी थिए, भाइ त झन् ९ वर्षको मात्रै थियो । अब हामी कहाँ जाने ? के गर्ने ? तर, एउटै उपाय बाँकी रहेछ ।

हो, लिवाङस्थित हाम्रो त्यो सानो घर, जसलाई सधैंको लागि छोडेर हिड्यौं । त्यो भन्दा कैयौं गुणा विशाल घर, लाखौंलाख उत्पीडित, उपेक्षित जनसमुदायको आस्था र विश्वासको धरोहर महान् क्रान्तियात्राको विशाल घर । जहाँ सधैं सन्त्रासको घेराभित्र बाँचिरहनु पर्दैन, खुल्ला आकाशमा पखेटा फट्फटाउँदै उड्ने पंक्षीजस्तै स्वतन्त्र जीउन सकिन्छ ।

त्यही विशाल घरको बाटो रोज्यौं ।

माडी आफ्नै धुनमा बगिरहेथ्यो । जलजलाको चिसो सिरेटोले मुटुसम्म छोएर फर्किन्थ्यो । लाखौं ताराहरु हाम्रो अथाह पीडा र क्रन्दनमा असिम माया र सहानुभूतिसहित शीतका थोपा खसालिरहेथे ।

जूनको मधुरो प्रकाशमा तनमन चिथोरिएका, घरबास लुटिएका हामी ५ प्राणी अस्तित्व, मुक्ति र स्वतन्त्रताको खोजीमा विशाल घरको बाटोतिर हिडिरह्यौं ।’

उनले यति कुरा भनि सिध्याउँदासम्म रातको करिब ९ बजिसकेको थियो । बाल्यकालमा उनको जीवनमा घटेको घटनाको वृतान्त सुन्दासुन्दै म त कतिपटक रोए, रोए । त्यसबखत जूनको मधुरो प्रकाशमा मैले देखेँ उनको आँखाबाट पनि थोपा-थोपा अश्रुदाना झरिसकेका थिए ।

२०६२ बैसाख १३, गोठादी पाल्पा

(लेखक मल्ल नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष तथा प्रेस सेन्टर दाङका अध्यक्ष हुन् ।)

यो पनि पढ्नुहोस्

https://shikharkhabar.com/2018/03/09/55336/

यो पनि पढ्नुहोस्

https://shikharkhabar.com/2018/03/09/55332/

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    KS Gyalvo

    बिभिन्न घटना परीघटना भयेकै होला त्येसलाइ सजवाट गिरी जे जस्तो बर्नन गरे पनि हिजोको महर जि को घर र आर्थिक स्तिथी र आजको आर्थिक स्थिती र जिवन सैलीको फरक देख्दा जो कोइले येसैलाइ मिलायेर बुझे हुन्छ केका लागी र के रहेछ भनेर

    Comment Author

    Yadu Krishna Devkota

    यस्ता वास्विकतासंग जोडिएका जिन्दगीका कथाहरु मानवाधिकारवादीहरु र अन्य खाले नामी वेनामी सामाजिक संघ संस्थाहरुले जनसमक्ष ल्याउने चेष्टासम्म गरेनन बरु बखेडा खोज्न छाडेनन

    Comment Author

    Hari Prasad Bhandari

    ओइगात पदलोलुप महरा

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?