चार बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन सम्पन्न
सारांश
- काठमाडौं ।
- चार बुँदे घोषणापत्र जारी गर्दै टुरिष्ट गाइड एसोसियसन अफ नेपाल (टुर्गान) को तेस्रो राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन सम्पन्न भएको छ ।
- मंगलबार कमलादीस्थित सिडब्लु पार्टी हलमा आयोजित उक्त सम्मेलनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र नारायण देवले गरेका थिए ।
काठमाडौं । चार बुँदे घोषणापत्र जारी गर्दै टुरिष्ट गाइड एसोसियसन अफ नेपाल (टुर्गान) को तेस्रो राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन सम्पन्न भएको छ । मंगलबार कमलादीस्थित सिडब्लु पार्टी हलमा आयोजित उक्त सम्मेलनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र नारायण देवले गरेका थिए ।
सम्मेलनमा टुर्गानका अध्यक्ष नगेन्द्र चन्दद्धारा प्रस्तुत घोषणा पत्रमा टुरिष्ट गाइडहरुको पेशालाई सम्मानित र मर्यादित तुल्याउन राज्यस्तरबाट पहल गरिनुपर्ने, टुरिष्ट गाइडहरुको समयसापेक्षित पारिश्रमिक वृद्धि गर्नुपर्ने, पर्यटन क्षेत्रमा हुने अवैध गाइडिङलाई रोक्नका लागि लाइसेन्स् चेकिङलाई सशक्त बनाउनुपर्ने, हरेक पर्यटकीय गन्तव्यहरुमा टुर्गानको शाखा विस्तार गर्ने जसको लागि पोखरा च्याप्टरको तयारी भइरहेकोलगायतका बुँदाहरु समेटिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटनमन्त्री देवले देशमा लोकमानसिंह कार्की प्रवृति हावी भएको भन्दै त्यस्तो प्रवृतिको अन्त्य गर्नुपर्नेमा जोड दिए । एक प्रसङ्ग कोट्याउदै मन्त्री देवले भने, ‘मन्त्रालयमा एउटा राम्रो निर्णय गरेको थिएँ, तर त्यो निर्णय कुनै पार्टीमा आबद्व मन्त्रालयकै एक कर्मचारीलाई मन नपरेपछि सिधै उनीसँग सम्बन्धित पार्टीको शीर्ष नेतालाई फोन गरेर कार्यान्वयन नगराउन दबाब दिइयो ।’
उनले आफ्नो कार्यकालमा धेरै नै योजनालाई अघि बढाएको र सोचेको भन्दा बढी काम गर्ने प्रतिबद्वता जनाए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको निजगढ विमानस्थललाई विशेष प्राथमिकतामा राखेर काम अघि बढाइरहेको पनि बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलिया, राष्ट्रिय पर्यटन व्यवसायी संघ (निट)का अध्यक्ष दीपक महत, नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा, गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ–नेपाल)का अध्यक्ष कमल सापकोटा, नेपाल योग एसोसिएशनका अध्यक्ष मोहन लम्साल, टुर्गानका पूर्व–अध्यक्ष हरेराम बराललगायतले आआफ्नो धारणा राखेका थिए ।
सो अवसरमा विभिन्न विधाबाट पर्यटन क्षेत्रमा योगदान पुर्याउने व्यवसायी तथा पत्रकारहरुलाई सम्मान गरिएको थियो । सम्मान पाउनेहरुमा निलहरी बास्तोला, नारायण कृष्ण श्रेष्ठ, विक्रमराज प्रधान, कृष्ण कुमार गुरुङ, गंगाप्रसाद नेपाल, दावा छिरि शेर्पा, रिकु प्रधान, सतिश शाक्य, गुनुमुनु शाक्य, सूर्यदिप प्रसाद श्रेष्ठ, शिव भक्त शुखपायो, बुड कार्भिस इन्ड्रष्टिज पाटनलगायत छन् ।
त्यस्तै पत्रकारहरुमा नेपाल टेलिभिजनका बरिष्ठ समाचारदाता राजु सिलवाल र न्यूज २४ टेलिभिजनका समाचारदाता संगम बानियाँलाई पनि सम्मानित गरियो । सम्मेलन आयोजना गर्नको लागि टुर्गानका द्वितिय उपाध्यक्ष भाइकृष्ण खड्काले कार्यक्रम संयोजकको भूमिका निर्वाह गरेका थिए ।
प्रतिक्रिया