राष्ट्रिय निकुञ्ज ऐन २०२९ सालमा बन्दा माडीमा अहिलेजस्तो धेरै जनता नभएकोले त्यो ऐनले जनावर देख्ने तर जनता नदेख्ने उहाँको भनाइ थियो । ‘यो ऐन बदलेर यहाँ मान्छे पनि छन् भन्ने देखाउन बहस सुरु गरेको छु । बैठकहरु गरेको छु प्रधानमन्त्रीसँग, वनमन्त्रीसँग, कर्मचारीसँग’ उहाँले भन्नुभयो, ‘राजनीतिक नेतृत्वले भनेको कुरा कर्मचारीतन्त्रले सजिलै मान्दैनन् । कर्मचारीतन्त्र कन्जरभेटिभ हुँदोरहेछ । राजनीतिक नेतृत्व सधैं परिवर्तनको पक्षमा छ ।’
माडीको निम्ति मुख्य समस्या निकुञ्ज ऐन भएको बताउँदै अध्यक्ष प्रचण्डले ऐन परिमार्जनको कुरा लागु हुन नसकेको बताउनु भयो । ‘मैले पटकपटक सम्बन्धित मन्त्रालयको मन्त्रीलाई कर्मचारीलाई ऐन संशोधन गरौं । भोलि के के सामना गर्नु पर्छ म गर्छु भन्दा पनि भएन’ उहाँले भन्नुभयो, ‘मैले प्रधानमन्त्रीलाई माडीका मेयरले अनसन बस्नु पर्दैन, अनसन बस्नै पर्ने भए मै बस्छु भनेँ । अहिले परिस्थिति फेरिएको छ । ऐन संशोधनको कुरा कानुनी समितिमा छलफलमा छ । माडीको जनताको हितको पक्षमा ऐन संशोधन हुनेछ । म आफैं बसेर त्यो काम गर्नेछु ।’
हुलाकी मार्गलाई तटबन्ध र रिंगरोडसँग जोड्ने कामको प्रकृया अगाडि बढिरहेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले सुकुम्बासी समस्या समाधानको निम्ति सरकार गठन भएदेखि नै प्राथमिकतामा राखेर छलफल भइरहेको दाबी गर्नुभयो । सुकुम्बासी सम्बन्धी विधेयक समितिमा दर्ता भइसकेको र छलफलको अन्तिम चरणमा रहेको उहाँले बताउनु भयो । नापी भएको तर लालपूर्जा नपाएकालाई तुरुन्त लालपूर्जा दिने, नापी नभएको तर वर्षौंदेखि खेती गर्दै आएकालाई मिलेसम्म लालपूर्जा दिने र सुरक्षाको हिसाबले लालपूर्जा दिन नमिल्नेलाई स्थानान्तरण गर्ने व्यवस्था विधेयकमा गरिएको उहाँले स्पष्ट पार्नुभयो ।
बाँदरमुढेमा पार्क बनाउन दस करोड रुपैयाँ छुट्याइएको जानकारी दिँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘पीडित जनताको लागि मैले जे प्रतिवद्धता व्यक्त गरेको छु, त्यो अहिलेको बजेटमा व्यवस्था हुनेछ ।’ बहुवर्षीय योजना अन्तर्गत ध्रुवाघाटदेखि वनकट्टासम्म आकाशेपुलको लागि गृहकार्य भइरहेको र बाटो कालोपत्रे तुरुन्तै गरिने उहाँको भनाइ थियो । ‘त्यसका लागि वन मन्त्रालय र अन्तर्राष्ट्रिय संस्थासँग सहमति बनाउनु पर्नेछ । राष्ट्रिय निकुञ्जभित्र संरचना बनाउन सर्वोच्चको फैसलालाई पनि ध्यान दिएर सहजीकरण गर्न निर्देशन दिएको छु ।’
‘हामी प्रदेश र संघको निर्वाचनको क्रममा माडी आउँदा माडीको विकासको परिकल्पना गरेका छौं । रिंगरोड, रिउमा तटबन्ध, कृषिमा आधुनिकीकरण, भरतपुर महानगरलाई जोड्ने आकाशे पुल त्यही परिकल्पनाभित्र रहेका छन्’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अन्तिम चुनावी सभामा पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसामु मैले यही माडीमा उभिएर म उम्मेदवार हुनुको फाइदा सिंगो नेपाल माडीमा आएको छ भनेको थिएँ । माडीलाई सिंगै देशले चिन्यो, माडीका समस्या बुझ्यो, राष्ट्रको दिमागमा चढ्यो भनेको थिएँ ।’
उहाँले अगाडि भन्नुभयो, ‘आज एक वर्षपछि मैले यहाँ बस्दै गर्दा मेरो दुईतिर दुई जना माननीय मन्त्रीहरु शिक्षामन्त्री गिरिराजमणि पौडेल र यातयात मन्त्री रघुवीर महासेठ हुनुहुन्छ । सरकारको नेतृत्व यहाँ केन्द्रित भयो आज । माडी देशको केन्द्रविन्दुमै छ । विकासको केन्द्रविन्दुमै छ । यसको महत्वबारे चिन्तन गर्नुहोस् ।’
प्रतिक्रिया