चिसोले जम्यो खोला, पानीका लागि बरफ पगाल्दै

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ८, २०७५
|
|
२१ पटक हेरिएको
Shares
चिसोले जम्यो खोला, पानीका लागि बरफ पगाल्दै

सारांश

  • काठमाडौं ८ पुस ।
  •  जंगलमा लागेको आगो हेर्न शनिबार बिहान ९ बजेतिर हिँडेका सशस्त्र प्रहरी ३२ नं.
  • गुल्म चामेका डीएसपी नीलकमल आचार्य तलेखु नजिकै रोकिए ।

काठमाडौं ८ पुस । जंगलमा लागेको आगो हेर्न शनिबार बिहान ९ बजेतिर हिँडेका सशस्त्र प्रहरी ३२ नं. गुल्म चामेका डीएसपी नीलकमल आचार्य तलेखु नजिकै रोकिए । मर्स्याङ्दी नदी पारिपट्टिको ठाडोखोला जमेको देखेपछि उनी दंग परे ।

खोला बगेको डोब हेर्दै मर्स्याङ्दी किनारसम्म आँखा डुलाउँदा मर्स्याङ्दी छेउछाउसमेत उनले जमेको देखे। उनीसँगै अन्य प्रहरी अधिकृत तथा जवानसमेत गएर बग्दाबग्दै जमेको छहरा र पानीलाई नजिकबाट नियाले। ‘बग्दाबग्दैको पानी जमेको त पहिलो पटक देखें,’ उनले भने, ‘भरिएको पानी, बाटोको पानी तथा शीत भोलिपल्ट जमेको त देखेकै हो। झर्दाझर्दैको पानी जमेको देखेर पो अनौठो लाग्यो।

चिसोका कारण जमेको पानी बिहान १० बजेसम्म पनि माथिबाट बग्न सकेको थिएन। भित्रभित्रै केही बगिरहेको थियो। बाहिरबाट हेर्दा सबै जमेको। मैले चाख लागेर फोटो पनि लिएँ,’ पानीले खोतलेर बनाएको पोखरीको पानी जमेकाले मान्छे डुब्ने पोखरीमा जुत्ताचप्पल लगाएर हिँड्न र उभिन सकिने उनले बताए। माथिल्लो मनाङस्थित मनाङ सामुदायिक लघु जलविद्युत् आयोजनाको ट्यांकी चिसोका कारण पुरै बरफले भरिएको थियो। स्थानीय मुखिया गोतामे (स्नोमङकी) का अनुसार समितिका सदस्य तथा स्थानीयलाई बरफ फाल्न शनिबार बिहानभर लाग्यो। ‘पाइपबाट आएको पानी ट्यांकीमा जमेको रहेछ। हामीले गल–बेल्चाको सहयोगले फाल्यौं’ उनले भने।

मनाङमा अहिले घरभित्रबाहेक खानेपानीसमेत पाउन मुस्किल छ। बरफ पगालेर खानुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्। उनीहरूका अनुसार वरपरका स–साना पानीका स्रोत सबै जमेका छन्। चिसोका कारण जनजीवन कष्टकर भइरहेका बेला पानीका स्रोतसमेत जमेपछि थप समयस्या भएको छ। सामान्यत: शून्य डिग्रीमा पानी जम्ने भए पनि बग्दै गरेको पानी अत्यधिक चिसो भएमात्रै जम्ने गर्छ। मनाङको तापक्रम रातिको समय माइनस १४ सम्म पुग्ने गरेको प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए। ‘न धारामा पानी आउँछ। न स–साना खोला बगेको देखिन्छ। बग्दै गरेको खोला जमेको देख्छु। मस्र्याङदी त्यत्रो ठूलो खोलाको छेउछेउ त जम्दोरहेछ,’ उनले भने। ‘दिनभर घाम लागे केही राहतको महसुस हुन्छ,’ उनले भने, ‘नत्र अत्यासै लाग्ने रहेछ।’ चिसो बढेपछि कतिपय कार्यालयका प्रमुख तथा कर्मचारी बिदा मिलाएर घर फर्केको देवकोटाले बतए। ‘यहाँ त बस्न सके पो?’ उनले भने।

मौसम निकै चिसो भए पनि स्थानीयलाई भने खासै नौलो भने लाग्दैन। उनीहरू यसलाई प्रकृतिको नियम ठान्छन्। चामेकी मेलिना गुरुङका अनुसार धारामा पानी आउँदैन। भाडामा पानी भरेर घरबाहिर राखे जम्छ। चिसोले कहिलेकाहीं प्लास्टिकका पाइपसमेत फुटाउँछ। चिसो बढेपछि सानो खोला जम्ने गर्छ। मस्र्याङदी किनार पनि जमेको देखिनु कुनै नौलो होइन। ठूलो भएकाले वेगले सबै बगाएर लाने गर्छ। ‘अहिले धेरै चिसो छ। एक/दुई वर्ष होइन, वर्षैपिच्छे हुने कुरा हो। खासै नौलो लाग्दैन,’ उनले भनिन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका संरक्षण अधिकृत बाबुलाल तिरुवाका अनुसार चिसो लागेसँगै चक्रीय अन्नपूर्ण पदमार्ग र गाउँबस्ती सुनसान देखिएको छ। पर्यटकलाई मौसमी अवस्थाबारे जानकारी गराउँदै आएको उनले बताए। कान्तिपुरबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?