जानीजानी गर्छन् त डाक्टरले गल्ती !

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २०, २०७४
|
|
२० पटक हेरिएको
Shares
जानीजानी गर्छन् त डाक्टरले गल्ती !

सारांश

  • काठमाडौं, २० फागुन – २०६८ साउनमा थाइराइड क्यान्सरको शल्यक्रिया (अप्रेसन) गर्न अस्पताल भर्ना भएकी रुपन्देही शंकरनगर–३ की छमकुमारी बोहराको भरतपुर क्यान्सर अस्पतालमा पाठेघरको शल्यक्रिया भयो ।
  • स्त्रीरोग विशेषज्ञ डा.
  • जितेन्द्र परियार नेतृत्वको टोलीले एउटा रोगको उपचार गर्नुपर्ने बिरामीलाई अर्कै उपचार गर्‍यो ।

काठमाडौं, २० फागुन – २०६८ साउनमा थाइराइड क्यान्सरको शल्यक्रिया (अप्रेसन) गर्न अस्पताल भर्ना भएकी रुपन्देही शंकरनगर–३ की छमकुमारी बोहराको भरतपुर क्यान्सर अस्पतालमा पाठेघरको शल्यक्रिया भयो । स्त्रीरोग विशेषज्ञ डा. जितेन्द्र परियार नेतृत्वको टोलीले एउटा रोगको उपचार गर्नुपर्ने बिरामीलाई अर्कै उपचार गर्‍यो । नेपाल मेडिकल काउन्सिलले परियारको चिकित्सक लाइसेन्स ६ महिनाका लागि रद्द गर्‍यो। आजको नागरिक दैनिकमा दीपक दाहालले खबर लेखेका छन् ।

 गत फागुन ११ गते थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा बायाँ घुँडाको लिगामेन्टको उपचारका लागि भर्ना भएकी चितवनकी विन्दु पौडेलको दायाँ घुँडाको शल्यक्रिया भयो । अस्पतालका शल्यचिकित्सक डा. प्रविन नेपाल नेतृत्वको टोलीले गरेको शल्यक्रियामा अस्पताल प्रशासनले गल्ती स्वीकारेर बिरामी पक्षसँग सम्झौता गरिसकेको छ । यो घटनामा पनि काउन्सिलले थप अनुसन्धान जारी राखेको छ।

एकातिर उपचारका क्रममा ‘लापरबाही’ भएको भन्दै चिकित्सकमाथि आक्रमणका घटना बढिरहेका छन् भने अर्कोतिर उपचारका क्रममा हुने असावधानी र समन्वय अभावमा चिकित्सकीय त्रुटि (मेडिकल एरर) का घटना बढिरहेका छन् ।

डाक्टरले जान्दाजान्दै आर्थिक प्रलोभन वा दबाबमा परेर आँखा नदेख्ने र खुट्टा सुकेका बिरामीलाई समेत निरोगिताको प्रमाणपत्र दिलाएका, छोरा जन्माइदिने भन्दै बिरामीको भावनामा खेलबाड गर्दै अनावश्यक औषधि र जाँच थोपरेर आर्थिक शोषण गरेका, बिरामी नहेरीकनै मानसिक समस्या भएको भन्दै गलत रिपोर्ट दिने गरेका तथ्यका आधारमा काउन्सिलले धेरै चिकित्सकमाथि कारबाही गरिसकेको छ ।

स्वास्थ्य क्षेत्रमा भएको प्रविधिको विकास, विशेषज्ञ जनशक्तिको पर्याप्तता र स्वास्थ्य संस्थाको उचित व्यवस्थापनसँगै उपचारमा डाक्टरले गर्ने गल्ची घट्नुपर्ने हो । चिकित्सा क्षेत्रका विज्ञका भनाइमा गलत ठाउँमा शल्यक्रियाका यी दुई घटनाबाहेक अन्य धेरै घटना सार्वजनिक भएका छैनन् । यस्ता घटनाले बिरामीको चिकित्सकप्रति विश्वास घटेको छ । साथै स्वास्थ्य संस्था र डाक्टरमाथिका आक्रमणका घटना बढेका छन् ।  किन हुन्छ त डाक्टरबाट यस्ता गम्भीर त्रुटि ?

चिकित्साशिक्षाविद् डा. जगदीशप्रसाद अग्रवाल अनुसार विकसित भनिएका अमेरिका, बेलायतजस्ता देशमा पनि बर्सेनि मेडिकल एररका घटना हुने गरेका छन् । ‘मूल कुरा यस्ता त्रुटि हुँदा अस्पतालकै सिस्टमले पनि पहिल्याउने र समीक्षा गर्छ त ?’ डा.अग्रवाल थप्छन्, ‘हाम्रो कति अस्पतालमा यस्ता त्रुटि जाँच गर्ने प्रणाली लागू भएको छ त ?’ धेरै स्वास्थ्य संस्था र चिकित्सकले यस्ता कुरामा ध्यान नदिएका कारण गल्ती घटना न्यून हुने आधार नरहेको उनी बताउँछन् ।

विज्ञहरुका अनुसार चिकित्सकले दबाब वा प्रभावमा परेर जानाजान गलत गलत उपचार गरेका हुन सक्छन् । त्यसैले यस्ता घटना कम गर्न गल्ती गर्ने चिकित्सकहरुमाथि नियमन र कारबाही बढाउनुपर्छ । गम्भीर चिकित्सकीय त्रुटि निश्चित प्रोटोकलहरुको समुचित प्रयोग, बिरामी पक्षका चिकित्सकसँग समन्वय, उपचारमा संलग्न समूहबीच छलफल आदि कार्यले त्रुटि घटाउन सकिने विज्ञहरुको भनाइ छ ।

नेपाल मेडिकल काउन्सिलका इथिकल कमिटीका सदस्य डा. ढुण्डी पौडेलका अनुसार बिरामी पक्ष सचेत भएका वा बाहिरैबाट देख्न सकिने (घुँडाजस्तो) शल्यक्रियामा भएका त्रुटिमात्रै सार्वजनिक हुने गरेका छन् । तर बिरामीको अज्ञानताको फाइदा उठाएर यस्तै थुपै त्रुटि गुपचुपमै राखिएको हुनसक्ने पौडेल बताउँछन् । ‘बिरामी पक्ष पनि क्षतिपूर्ति लिने र कानुनी प्रक्रियामा नजाने प्रवृत्तिले यस्ता घटना हामीसम्म नआइनपुग्ने अवस्था छ,’ उनले भने । पौडेलका अनुसार नर्भिकको घटनामा पनि पहिलोपटक काउन्सिलले बिरामी पक्षको उजुरीबिना नै चिकित्सकसँग जबाफ लिएर छानबिन जारी राखेको छ ।

किन हुन्छन् गल्ती ?

विज्ञहरुका अनुसार उपचारका क्रममा हुने यस्ता त्रुटि घटाउन बिरामी, उनीहरुका आफन्त र उपचारमा संलग्न समूहबीच अन्तरसंवाद हुनुपर्छ । धेरै डाक्टरहरु जुनियर टिम वा अन्य जनशक्तिले बिरामीलाई लठ्याएपछि शल्यक्रिया थालिहाल्छन् । बिरामीसँग शल्यकक्षमा पुगेपछि पनि रोग वा समस्याबारे राम्ररी कुरा गर्दैनन् । घाँटीको शल्यक्रिया गर्नुपर्ने बिरामीको पाठेघरको शल्यक्रिया गर्नु भनेको डाक्टरले आफ्नो बिरामी नै नचिनेको अवस्था हो । चिकित्सकहरुका अनुसार चिकित्सक वा स्वास्थ्य जनशक्ति धेरै थकान र तनावमा छ भने पनि यस्ता त्रुटि हुन सक्छन् । ‘एउटा डाक्टरले पाँचवटा अस्पतालमा पुगेर शल्यक्रिया गर्छ भने उसले शल्यक्रिया गर्नुपर्ने बिरामी राम्ररी चिनेकै हुँदैन,’ डा.अग्रवाल भन्छन्, ‘अनफेमेलिअर सेटिङ, बिरामी जाँच गर्ने वा शल्यकक्षसम्म जानुअघिका सबै प्रक्रिया पूरा नगरिने संस्थामा पनि यस्ता समस्या आउन सक्छ ।’

चिकित्सकका अनुसार बिरामी रेफर गर्दा, रेडियोलोजीले गलत मार्किङ गर्दा, प्रयोगशालाको रिपोर्टमा हुने त्रुटिले पनि उपचारमा समस्या देखिन सक्छ ।

कसरी घटाउने त्रुटि ?

शल्यक्रिया वा उपचारका क्रममा यस्ता समस्या नआओस् भनेर धेरै अस्पतालका शल्यकक्ष, आइसियूजस्ता संवेदनशील ठाउँमा बेग्लाबेग्लै ‘प्रोटोकल’ बनाएर लागू गरिएको हुन्छ । विकसित देशमा चिकित्सकीय त्रुटि, स्वास्थ्य संस्थाभित्रै हुने संक्रमणजस्ता कुरा पनि छानबिन गरेर बिरामी पक्षलाई जानकारी गराइन्छ । यस्तै अस्पतालका प्रत्येक विभाग वा वार्डमा उपचारमा संलग्न चिकित्सक, नर्स वा अन्य आवश्यक पारामेडिक्सको टिम बसेर बिरामीबारे कुरा गर्ने, प्रत्येक बिरामीको अवस्थाको समीक्षा गर्ने र सामूहिक निर्णय लिने प्रचलनसमेत कतिपय देशमा छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?