जाम (लघु-कथा)

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ९, २०७५
|
|
२१ पटक हेरिएको
Shares
जाम (लघु-कथा)

सारांश

  • अफिसको विशेष कामका कारण साँझ निस्कन थोरै ढिला भो ।
  • घडि ७ बजाएर अघि बढिसकेको थियो ।
  • गाडी नपाउने समस्या थिएन ।

अफिसको विशेष कामका कारण साँझ निस्कन थोरै ढिला भो । घडि ७ बजाएर अघि बढिसकेको थियो । गाडी नपाउने समस्या थिएन । बसपार्क सम्म त जुनै पनि जान्थे । धुमबाराही चोकमा उभिएर गाडि कुरिरहेको थिएँ । एउटा बस आयो र मेरो ठड्याएको देब्रे हातको कदर गर्दै अघि आएर तेर्सियो।
‘बसपार्क ?’ मैले सोधेँ ।

‘हो हो आउनु ।’ परीचालकले ढोका भित्रैबाट आमन्त्रण ग¥यो । म गाडीको भित्र पसेँ । गाडी लगभग आधा भरिएको थियो । म सरासर पछाडीबाट दोस्रो सिटमा गएर बसेँ । खाली अगाडी पनि थियो तर मलाई एक्लै बस्न मन भयो । एक मिनेट पनि नचल्दै गाडी जाममा प¥यो । गाडीमा हिँड्दा किताब पढ्ने मेरो बानी छ । आधाआधी सकिएको एउटा उपन्यास झोलाबाट झिकेँ र पढ्न थालेँ । ड्राइभरले गाडीको इन्जिन बन्द गरेपछि जाम केही लामै भएको अनुमान लगाएँ । गाडीका मान्छे छटपटाइ रहेका थिए । रातिको बेला हतार सबैलाई थियो । त्यस्तै धेरै हतार हुनेहरु ओर्लेर हिँड्न थाले अघि अर्को पाउने आशमा । चक्रपथ वारी झर्नेलाई पहिले नै परीचालकले भनिसकेको थियो, झर्नु भनेर । सबै कुराले मेरो ध्यान विकेन्द्रित गरिरहेको थियो । त्यसैले पढ्न खोलेको किताब पुनः झोलामै राखेँ ।
मैले एक नजर आफ्ना सहयात्रीहरु तर्फ दौडाएँ । बसमा सबैखाले मान्छे थिए । मेरो सिट भन्दा अघि बसेको मान्छे मलाई सबैभन्दा डरलाग्दो लाग्यो । हातमा लामो रड, कपाल जिंरिङ्ङ, फोहोर कपडा । सजिलै अनुमान लगाउन सकिन्थ्यो कि उ कुनै निर्माण क्षेत्रमा काम गर्ने मजदुर हो । मेरो सिधा पारी एकजना पुरुष एकजना महिला । सायद श्रीमान श्रीमति थिए । हैन भने बस त्यत्रो खालि हुँदा एकैठाउँमा बस्दैनथे होला । अगाडी क्याविनमा तिन जना थिए । मलाई बा आमा र छोरा जस्तो लाग्यो।

मेरो पछाडीबाट एकजना अर्को पात्र निस्कियो । र अगाडी जगल्टेसँग गएर बस्यो । पात्र सादा थिायो । सामान्य लवाई । कपाल निकै सानो बनाएर काटेको । गाडी गड्यो । अघि झरेर हिँडेकाहरु केही अगाडी भेटिए । छोडिए । अलि पर गएर फेरी रोकियो । १५ मिनेटको आराम पछि बल्ल बल्ल केही मिटरको यात्रा तय गरेको थियो गाडीले तर फेरी रोकियो । अघि छोडिएका पैदल यात्रीले पुनः अग्रता लिए ।
पात्र जगल्टेको सिटबाट उठेर लालजोडिको पछि गएर बस्यो ।
‘दाई यो कुन ठाउँ हो ?’ उसले मै तिर हेरेर सोध्यो ।
‘चक्रपथ’ मैले भन्न नपाउँदै आफ्नो अघिल्तिरबाट उसले उत्तर पायो । सायद सुनेन फेरी सोध्यो ‘के भन्छ यो ठाउँलाई ।’
‘चक्रपथ’, फेरी अघिकै ठाउँबाट उत्तर आयो ।
पात्र मतिर हेरेर हाँस्यो । खिल्लीको हाँसो । उ जवाफ कर्तालाई ब्यंग्य गर्दै थियो, मुहारभावले । सायद नसोधेको मान्छेले उत्तर दिएकाले होला । ‘के भो दाई ?’ उसले सोध्यो उही लाल जाडीको नरलाई । किन के भो र ? अलि उत्तेजित हुँदै उसले भन्यो ।
‘के भन्नुभको अगि ?’ पात्र थोरै जंगिँदै बोल्यो ।

‘के भने ?’ लाले दोब्बर जंगियो । उसकी संगीनीले नबोल्नु को संकेतमा उसको हात तानी ।
‘ए केही होइन दाई, यतै हो ।’ पात्र लुस्कियो ।
त्यो मान्छेको क्रियाकलाप असामान्य थियो । एकै छिनमा रिसले मुर्मुरिए झैँ गर्ने अर्को छिनमा डराएर लुसुक्क पर्ने । बोल्ने शैली पनि फरक थियो । नम्र बोलि नभएर भनेको होइन । उसको बोल्ने शैली नै लचकदार थियो, एकदमै फरक पहिलो वाक्य भन्दा दोस्रो, दोस्रो भन्दा तेस्रो । त्यो मान्छे बारम्बार मतिर हेरेर फिस्स हाँस्दा म आफैलाई पनि असहजता महसुस हुन थाल्यो ।
बसिरहेको ठाउँबाट उ उठ्यो । म बसेको सिटमा पनि एकजनाको लागि खाली ठाउँ थियो । मलाई लाग्यो कि अब उ मतिरै आउँदैछ, तयार भएर बस्नुपर्छ । तर उ मेरो सिटमा आएन, म भन्दा अगाडी जगल्टेको सिटमा बस्न गयो । मलाई त्यहाँ उत्पन्न हुन सक्ने असामान्य स्थितिको पूर्वाभास हुन थाल्यो । सायद जामले आत्तिएर होला, जगल्टे ओर्लियो । नजगल्टे अझ फैलिएर बस्यो ।
‘के हेरेको ?’ लालेको चर्को बोलीले थाहा भो कि नजगल्टेले उसकी पत्नीलाई हेरिरहेको छ ।
नजगल्टे, मौन । लाले फेरी सोध्यो बोलीमा बाक्लो क्रोध घोल्दै, ‘कसलाई हेरेको ?’ नजगल्टे मौन । लालेकी श्रीमतीले पतिलाई नबोल्न अह्राइ । डराए जस्तो गरेर । अब लाले मौन । तर उसका आँखाले अझै झम्टिरहेका थिए । नजगल्टे अझै मौन ।

यति त पक्का थियो कि उ नसामा छ । तर त्यो नसा पानीको थियो, धुवाँको थियो या पिठो, सियो केको थियो थाहा भएन । मलाई त्यहाँ बस्नु नै ठिक लागेन, बरु त्यहीँ ओर्लेर चक्रपथ पारीबाट गाडी चढ्नु उचित होला जस्तो लाग्यो । फेरी गाडी पनि त आधा घण्टादेखि एउटै बिन्दुमा थियो । अगाडी गएँ । मलाई नजगल्टे भन्दा टाढा बस्नु थियो । म बारबार पाइन्टको देब्रे खल्ती मुसारीरहेको थिएँ । जहाँ मेरो पहिलो महिनाको तलब थियो । त्यो चोरी हुने हो कि भनेर म चिन्तित थिएँ । अनि नजगल्टेसँग भाग्नुको कारण त्यो पनि थियो । परिचालकले मैले दिएको सयको नोट साट्दासाट्दै जाम खुल्यो । मेरो झर्ने योजना रद्द भयो ।

नजगल्टे अगाडी सिटमा आयो । बेलाबेलामा मतिर हेर्दै हास्दै गथ्र्यो । जुन मलाई एक रति मन परिरहेको थिएन । गाडीले चक्रपथको चोक काटेर ओरालो झर्नासाथ मानिसको ओइरो लाग्न थाल्यो । खाली बस एकैछिनमा भरियो । मानिस उभिनुपर्ने भयो । सामान्यतः म अरु उभिएको बेला कोही वृद्धा या महिलालाई बसालेर आफू उभिने गर्छु तर त्यस दिन भोको पेट र थकित शरिर मेरो आदर्शमाथि हावी भयो । केही महिलाहरु उभिएको देखेर पनि सिट छोडिन ।
नजगल्टेले परिचालकलाई भाडा दियो ।

‘कहाँ झर्ने ?’ परिचालकले मेरो प्रश्न सोधिदियो । मेरा कान ठाडा भए ।
‘बसपार्क ।’ लु खत्तम । उ पनि त्यहीँ झर्ने रहेछ जहाँ म झर्दैछु । मलाई थप अरु बेचैनी भयो । उतिर हेर्दिन भन्थेँ तर आँखा उतै पर्थे । अनि हरेक पल्ट मेरो आँखा उतिर पर्दा उसले मलाई नै हेरिरहेको हुन्थ्यो । सामाखुशीसम्म आइपुग्दा धेरै मानिसहरु झरिसकेका थिए । उ पनि उठ्यो । ढोका छेउ उभियो । नसामा भएकाले ठाउँ ठम्याउन नसके जस्तो लाग्यो । बस गोंगबु चोकमा रोक्दा उ पनि झ¥यो । परिचालकको शैलिमा । मलाई उ फेरी गाडीमा नचढिदिए हुन्थ्यो जस्तो लागिरहेको थियो ।
गाडीले थोरै गति लियो । उ बाहिरै थियो । परिचालक चढ्यो । गाडीको गति क्रमश बढ्न थाल्यो । उ अझै बाहिर थियो । गाडीले गोंगबु छोड्यो । म त्यो मान्छे झ¥यो या झरेन हेर्न खोजिरहेको थिएँ । असह्य भएपछि अनुमति नलिइ बसको ढोकामा गएँर हेरेँ । उ त्यहीँ झरेको थियो ।
‘दाई झर्ने हो ?’ परिचालकले सोध्यो । म झस्किएँ । बल्ल बल्ल छुटेको थियो नजगल्टे । अब फेरी किन झर्थेँ । हैन भनेर फेरी सिटमा गएर बसेँ ।

बल्ल ढुक्क भएँ, उ झरेकोमा । तर अझै आउने हो कि भनेर मनको एउटा कुनो अझै अँध्यारो थियो । बस बिजी मल अगाडि रोकियो । अलि पर झर्नुपर्ने भएपनि म त्यहीँ ओर्लेँ । यता उता हेरेँ । त्यो हेराई उही नजगल्टेका लागि नै थियो । तर यो पटक उ टाढाटाढा सम्म कतै देखिएन । बल्ल ढुक्क भयो । एकपटक फेरी खल्ती मुसारेँ । माटाई उही थियो खल्तीको । पैसा यथावत भएको पाएँ ।

घडी हेरेँ, मिनेट सुईले अब केही चक्कर मात्र काट्न बाँकि थियो नौ बजाउनका लागि । बिजी मल अगाडीको चौतारीमा अझै पनि धेरै मान्छे बसिरहेका थिए । १८÷२० वर्षको एकजना केटा, रातो कपाल च्यातिएको पाइन्ट । मैलाई हेरिरहेको थियो । अरु पनि पाएँ, मेरा दर्शक । टिकट काउन्टर अघि मःम बेचिरहेको व्यापारी, माथि उभिएको सुरक्षाकर्मी, बारमा अडिएर धुवाँतानीरहेको मान्छे । सबैले मलाई हेरिरहे जस्तो लाग्यो । एकपटक कसैले थाहा नपाउने गरी खल्ती छामे । अहिले सम्म त ठिकै थियो । पानी परिरहेको थियो, सिमसिम । छाता थियो तर निकाले र ओड्ने बेलासम्म थोरै भएपनि अघि पुग्ने ठानेर अघि बढेँ । कतै नहेरी पाइला छिटोछिटो चाल्न थालेँ ।

(मुक्ति)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?