दश वर्षपछि काठमाडौं–राजविराज नियमित हवाई उडान
सारांश
- राजविराज, १० असार ।
- श्री एयरलायन्सले काठमाडौँ–राजविराज–काठमाडौँ नियमित उडान शुरु गरेको छ ।
- वर्षौदेखिको प्रतीक्षापछि राजविराज विमानस्थलबाट आजदेखि श्री एयरलायन्सको जहाजले नियमित उडान शुरु गरेको हो ।
राजविराज, १० असार । श्री एयरलायन्सले काठमाडौँ–राजविराज–काठमाडौँ नियमित उडान शुरु गरेको छ ।
वर्षौदेखिको प्रतीक्षापछि राजविराज विमानस्थलबाट आजदेखि श्री एयरलायन्सको जहाजले नियमित उडान शुरु गरेको हो । काठमाडौँबाट ४६ यात्रु बोकेर राजविराज अवतरण गरेको उक्त विमान काठमाडौँका लागि २२ यात्रु बोकेर उडेको थियो ।
पचास सीट क्षमताको उक्त जहाजले हप्ताको पाँच दिन काठमाडौँ–राजविराज–काठमाडाँै उडान भर्ने श्री एयरलाइन्सले जनाएको छ । आइतबार, सोमबार, बुधबार, बिहीबार र शुक्रबार गरी सातामा पाँच दिन काठमाडौँ–राजविराज–काठमाडाँै उडान भर्ने श्री एयरलाइन्सको राजविराज शाखा प्रबन्धक सुरेश मल्लिकले जानकारी दिए ।
उक्त जहाजले काठमाडौँबाट अपरान्ह १ः१५ र राजविराजबाट अपरान्ह २ः१० मा उडान भर्ने तालिका सार्वजनिक गरिएको छ । काठमाडौँबाट उडेको जहाज करीब २५ मिनेटको अवधिमा राजविराज विमानस्थल पुग्नेछ । जहाजको सस्तो भाडादर न्यूनतम रु ३ हजार ५०० र अधिकतम रु ६ हजार २०० तोकिएको छ ।
तत्कालीन यातायात मन्त्री गणेशमान सिंहले वि.सं २०१६ सालमा विमानस्थलको शिलान्यास गरेका थिए । केही समयपछि कच्ची धावनमार्ग र अन्य प्राविधिक समस्या देखाउँदै विमानस्थल बन्द भएको थियो । एक दशक अगाडिसम्म पनि विमान सन्चालन भइरहेकोमा त्यसपछि पुनः बन्द भएको थियो । हाल करीब रु ३० करोड ३० लाखको लागतमा विमानस्थल निर्माण गरिएको बताइएको छ ।
नागरिक उड्डययन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलका अनुसार विमानस्थलमा उडान÷अवतरणका लागि आवश्यक पूर्वाधार र कर्मचारी परिचालन गरिसकिएको छ ।
विष्णुपुर गाउँपालिकामा अवस्थित उक्त विमानस्थलमा १ हजार ५०० मिटर लम्बाई र ३० मिटर चौडाइको पक्की धावनमार्ग निर्माण सम्पन्न भएपछि गत जेठ १० गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थलको उदघाटन गरेका थिए । मन्त्री अधिकारीले असार १ गतेभित्रै राजविराज विमानस्थलबाट नियमित हवाई सेवा शुरु हुने बताए पनि आवश्यक तयारीका कारण हवाई सेवा सञ्चालनमा ढिलाई भएको विमान कम्पनीले जनाएको छ ।
प्रतिक्रिया