नरेश भट्टमाथि लगाइयो श्रीमती ममता हत्या अभियोग

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २०, २०८१
|
|
२४ पटक हेरिएको
Shares
नरेश भट्टमाथि लगाइयो श्रीमती ममता हत्या अभियोग

सारांश

  • काठमाडाैं।
  • ममता काफ्ले बेपत्ता भएको १२५औं दिनपछि उनका पति नरेश भट्टमाथि हत्या अभियोग लगाइएको छ।
  • प्रिन्स विलियम काउन्टीको निर्णायक मण्डलले भट्टमाथि हत्या र शवलाई शारीरिक रूपमा अपवित्र गरेको दुईवटा आरोपमा अभियोग लगाएको हो।

काठमाडाैं। ममता काफ्ले बेपत्ता भएको १२५औं दिनपछि उनका पति नरेश भट्टमाथि हत्या अभियोग लगाइएको छ। प्रिन्स विलियम काउन्टीको निर्णायक मण्डलले भट्टमाथि हत्या र शवलाई शारीरिक रूपमा अपवित्र गरेको दुईवटा आरोपमा अभियोग लगाएको हो।

श्रीमती हत्यापछि शव लुकाएको आरोपमा गत २२ अगस्टमा पक्राउ परेका उनीमाथि यसअघि हत्या अभियोग लाग्ने-नलाग्ने अन्योल थियो।

प्रहरीसँगको बयानमा भट्टले श्रीमती ममताको हत्या तथा उनको शव लुकाएको कुरा अस्वीकार गर्दै आएका थिए। निरन्तरको इन्कारी बयानका कारण उनी चाँडै प्रहरी हिरासतबाट मुक्त हुने अनुमान गरिएको थियो । तर, हत्या अभियोग लागेसँगै हिरासतमुक्त हुने सम्भावना अब सकिएको छ।

गत १६ साउन (२९ जुलाई)मा अमेरिकाको भर्जिनियाको मनाससस्थित घरबाट ममता बेपत्ता भएकी थिइन्। प्रहरीसँगको बयानका क्रममा उनले श्रीमती ममता जीवितै रहेको दाबीसमेत गरेका थिए । उनको यस दाबीले ममता जीवितै रहेको झिनो आशा त्यसबेला पलाएको पनि थियो।

तर, ममताको हत्या भएको पुष्टि गर्दै उनका पति नरेशलाई सोमबार ग्रान्ड जुरीले हत्याको अभियोग लगाएको हो। मनासस पार्कका प्रहरी प्रमुख मारियो लुगोले सोमबार राति पत्रकार सम्मेलन गर्दै उनी सुत्ने कोठा र स्नानगृहमा भेटिएको रगत ममताको डीएनएसँग मेल खाएको जानकारी दिएका थिए।

बाथरुममा फेला परेको रगत ममताको डीएनएसँग म्याच भएपछि प्रहरीले नरेशमाथि हत्याको अभियोग लगाएको हो। यद्यपि, उनको शव भने फेला परेको छैन। शव फेला नपरे पनि उनका पति भट्टमाथि हत्या अभियोग लगाइएको हो।

ममताको हत्या २९ जुलाई रातिदेखि ३० जुलाई बिहानको बीचमा भएको प्रहरीको अनुमान छ। शयनकक्षमा हत्या गरेपछि ममताको शवलाई बाथरुममा तानेको प्रहरीको आशंका छ । यति मात्रै नभई हत्यापछि ममताको शव टुक्राटुक्रा पारिएको पनि प्रहरीको आशंका छ।

प्रहरी अनुसन्धानका क्रममा भट्टले ३० जुलाईमा स्यानटिलीको वालमार्टबाट तीनवटा चक्कु खरिद गरेको र तीमध्ये दुईवटा फेला नपरेको खुलेको थियो। चक्कु खरिद गरेको भोलिपल्ट उनले अर्को वालमार्टबाट सफाई सामग्री खरिद गरेको पनि भेटिएको थियो। अभियोजनकर्ताले त्यही आधारमा नरेशले ममताको हत्या गरी उनको शरीर टुक्राटुक्रा बनाएर फालेको आशंका गरेका थिए।

त्यस्तै, भट्टले आफ्नो ल्यापटपमा श्रीमती मरेपछि विवाह गर्न लाग्ने समय र श्रीमतीको ऋणका विषयमा गुगलमा खोजी गरेको भेटिएको थियो। नरेशले थुप्रै प्रमाण नष्ट गर्ने प्रयास गरेको पनि बताइएको छ। उनले मनासस पार्कमा रहेको आफ्नो घर बिक्री गर्ने तयारी पनि गरेका थिए। उनले आफ्नो टेस्ला गाडी पनि बिक्री गरिसकेका थिए। उनले छोरीलाई नेपाल फर्काउनका लागि कागजात पनि तयार पारिसकेका थिए।

ममता आफू काम गर्ने भर्जिनिया युनिभर्सिटीको प्रिन्स विलियम मेडिकल सेन्टरमा अन्तिमपटक २७ जुलाईमा देखिएकी थिइन्। उनी २८ जुलाईसम्म साथीहरूसँग सम्पर्कमै रहेको भनिएको थियो। त्यसपछि सम्पर्कमा नआएपछि उनका साथीहरूले प्रहरीलाई खबर गरेका थिए। २ अगस्टमा प्रहरी नरेश र ममता बस्ने मनासस पार्कस्थित घरमा पुगेको थियो । त्यतिबेला घरमा नरेश र उनकी १ वर्षीया छोरी मात्रै थिए।

भट्टले ममता बेपत्ता भएको निवेदन प्रहरीलाई दिन त्यतिबेला अस्वीकार गरेका थिए। ममता त्यसअघि पनि पटकपटक घरबाट बेपत्ता हुने गरेको बताउँदै नरेशले प्रहरीलाई फर्काइदिएका थिए । ममताका साथीहरूको मौखिक उजुरीका आधारमा प्रहरीले अन्यत्र खोजी सुरु गरिसकेको थियो।

५ अगस्टमा मात्रै भट्टले आफ्नी श्रीमती बेपत्ता भएको निवेदन प्रहरीमा दिएका थिए। त्यसपछि प्रहरीले तीन दिनसम्म ममताको व्यापक खोजी गरेको थियो। प्रहरीले उनका साथीहरूसँग सोधपुछदेखि स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका भिडियोहरूलाई पनि मिहीन रूपमा अध्ययन गरेको र सय जनाभन्दा बढीसँग सोधपुछ गरेको थियो। तर, अनुसन्धानको सुई भने नरेशपट्टि नै सोझिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ घर भएका नरेश भट्ट अमेरिका जानुअघि धनगढीमा चिकित्सा प्रतिनिधि (एमआर)को काम गर्दै आएका थिए। धनगढीकै सेती प्रादेशिक अस्पताल लाइनमा रहेका दुई मेडिकलमा उनको लगानी पनि थियो। उनी डीभी परेपछि १४ साउन २०७३ मा अमेरिकाका लागि उडेका थिए।

अमेरिका पुगेपछि केही समय उनले एउटा कम्पनीमा काम गरे। उनी यूएस आर्मीमा भर्ती हुने उद्देश्यसहित अमेरिका गएका थिए। आफ्नो उद्देश्यमा उनी सफल पनि भए । अमेरिका पुगेको एक वर्षपछि २०७४ साल असारमा उनी यूएस आर्मीमा भर्ती भए। यूएस आर्मीमा भर्ती भएपछि नरेश बेलाबेला नेपाल पनि आउथे। उनी यूएस आर्मीको आईटी विभागमा कार्यरत थिए।

५ वर्षअघि अमेरिका बसाइकै क्रममा काभ्रेको पनौती घर भएकी ममतासँग उनको सामाजिक सञ्जालमार्फत चिनजान भयो। सामाजिक सञ्जालबाटै दुईबीच प्रेम सम्बन्ध बढेपछि २५ मंसिर २०७७ मा उनीहरूको विवाह भएको थियो। विवाहको आठ महिनापछि १० साउन २०७८ मा ममता पनि अमेरिकाका लागि उडेकी थिइन्। झन्डै एक वर्षअघि उनले छोरीलाई जन्म दिएकी थिइन्।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    commercial truck scales Iraq

    Dedicated to excellence, BWER offers Iraq’s industries durable, reliable weighbridge systems that streamline operations and ensure compliance with local and global standards.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?