उपराष्ट्रपतिले सम्झिए, दाङबाट एक क्वीन्टलको भारी बोकेका ती दिन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ३, २०७४
|
|
३३ पटक हेरिएको
Shares
उपराष्ट्रपतिले सम्झिए, दाङबाट एक क्वीन्टलको भारी बोकेका ती दिन

सारांश

  • काठमाडौं, ३ फागुन ।
  • उपराष्ट्रपति नन्दबहादुर पुनमगरले बिहीवार दाङबाट एक सय किलोभन्दा बढीको भारी बोकेर रोल्पा पुगेको स्मरण गरेका छन् ।
  • दाङ जिल्ला उद्योग वाणिज्य संघद्वारा आयोजित ‘दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवम् प्रदेशस्तरीय औद्योगिक कृषि प्रदर्शनी– २०७४’को समुद्घाटन मन्तव्य व्यक्त गर्दै उनले आफ्नो विगतलाई यसरी सम्झिएका हुन् ।

काठमाडौं, ३ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनमगरले बिहीवार दाङबाट एक सय किलोभन्दा बढीको भारी बोकेर रोल्पा पुगेको स्मरण गरेका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघद्वारा आयोजित ‘दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवम् प्रदेशस्तरीय औद्योगिक कृषि प्रदर्शनी– २०७४’को समुद्घाटन मन्तव्य व्यक्त गर्दै उनले आफ्नो विगतलाई यसरी सम्झिएका हुन् ।

“दाङ आउँदा मलाई निकै खुशी र गौरव लाग्दछ”, उपराष्ट्रपति पुनमगरले भने, “मैले यहीं भूमिबाट शिक्षा आर्जन गरेँ । राजनीतिका धेरै कुरा मैले यहींबाट सिकेँ । मैले जीवनको एक समय यही भूमिबाट सय केजीभन्दा बढीको भारी पटक÷पटक बोकेर घरसम्म पुगेँ ।” उपराष्ट्रपति पुनमगरले दाङसँग आफ्नो जीवनका अन्य धेरै पाटापक्ष जोडिएको पनि उल्लेख गरे । उनले थपे, “त्यसकारण यो मेरो जन्मभूमिपछिको दोस्रो घर हो । आज यो परिवेशमा गौरवपूर्ण भूमिमा उभिएर यहाँहरुसँग साक्षात्कार गर्न पाउँदा म निकै हर्षविभोर छु ।”

उपराष्ट्रपति पुनमगरको सम्बोधनको पूर्णपाठ :

“यो भव्य समारोहमा उपस्थित आदरणीय दिदी–बहिनी तथा दाजुभाइहरु !
सबै सबैमा मेरो तर्फबाट नमस्कार !

१. एशियाकै ठूलो उपत्यका दाङको घोराहीमा आयोजित ‘दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवम् प्रदेशस्तरीय औद्योगिक कृषि प्रदर्शनी–२०७४’को भव्य उद्घाटनको अवसरमा आदरणीय दाङवासी दिदी–बहिनी तथा दाजुभाईहरुमाझ उपस्थित हुने अवसर दिनुभएकोमा म दाङ जिल्ला उद्योग वाणिज्य संघप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

२. दाङ विशाल छ । भौगोलिक हिसाबले भित्रि मधेसमा पर्ने यो एशियाकै ठूलो उपत्यका भौगोलिक विविधतायुक्त छ । भौगोलिक विविधता सँगै थारुहरुको आदिम भूमी दाङ आज जातीय, भाषिक, सांस्कृतिक विविधताले भरिपूर्ण छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको नेतृत्व र तमाम दाङवासीहरुको अथक प्रयासबाट आयोजित यो महोत्सवको म भव्य सफलताको शुभकामना व्यक्त गर्दछु ।

३. यस्ता महोत्सव तथा मेलाहरु नेपाली संस्कृतिकै रुपमा विकास भएका छन् । महोत्सव तथा प्रदर्शनीहरुले हाम्रो अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै नयाँ सम्भावना र अवसरहरु सिर्जना गरिरहेका छन् । स्थानीय उत्पादनहरुको बजारीकरण तथा प्रवद्र्धन, कृषिको व्यवसायीकरण, पर्यटनको प्रवद्र्धन गरिरहेको यस प्रकारका महोत्सवहरुले राष्ट्रिय अर्थतन्त्रमा त महत्वपूर्ण योगदान पु¥याईरहेको छ नै हाम्रो मौलिक कला संस्कृतिको संरक्षण तथा सम्बद्र्धनमा महत्वपूर्ण योगदानसमेत दिईरहेका छन् ।

४. हाम्रो नीजि क्षेत्रले खेलिरहेको यसप्रकारको नेतृत्वदायी भूमिका अत्यन्त स्रहानीय र प्रशंसनीय छ । मलाई विश्वास छ, यो महोत्सवले दाङको समग्र क्षेत्रको विकास गर्दै यहाँको गरिमालाई अझै माथि त उठाउने छ नै दाङको समृद्धिमा ऐतिहासिक योगदान पु¥याउनेछ । म ऐतिहासिक कामको नेतृत्व गरिहरकोमा दाङ जिल्ला उद्योग वाणिज्य संघलाई हृदयदेखि धन्यवाद दिन चाहान्छु ।
आदरणीय दिदी–बहिनी तथा दाजुभाईहरु

५. दाङ आउँदा मलाई निकै खुशी र गौरव लाग्दछ । मैले यहीं भूमिबाट शिक्षा आर्जन गरेँ । राजनीतिका धेरै कुरा मैले यहींबाट सिकेँ । मैले जीवनको एक समय यहीं भूमिबाट सय केजी भन्दा बढीको भारी पटक÷पटक बोकेर घरसम्म पुगेँ । दाङसँग मेरो जीवनका अन्य धेरै पाटा पक्ष जोडिएका छन् । त्यसकारण यो मेरो जन्मभूमीपछिको दोस्रो घर हो । आज यो परिवेशमा गौरवपूर्ण भूमिमा उभिएर यहाँहरुसँग साक्षात्कार गर्न पाउँदा म निकै हर्षविभोर छु ।

६. आजको दाङ बन्न धेरैको त्याग, तपस्या र वलिदान छ । विकास र समृद्धिको प्रचुर सम्भावना बोकेको दाङ द्रुत्तर आर्थिक विकासको गतिमा अगाडि बढिरहेको मैले पाएको छु । झण्डै ८० प्रतिशत नागरिक कृषिमा निर्भर रहेको यो भूमि विस्तारै औद्योगिकता तर्फ लम्कन खोजिरहेको छ । पाँच नं. प्रदेशका अन्य जिल्लाको तुलनामा दाङका नागरिकको प्रतिव्यक्ति आय केहीं बढी देखिन्छ र अहिले लगभग एघार सय २७ अमेरिकी डलर पुगेको छ । दाङको अर्थतन्त्रको यो सकारात्मक पक्षका बाबजुद राष्ट्रिय अर्थतन्त्रको प्रभाव यहाँ पनि परिरहेको छ र यो पूर्ण आत्मनिर्भर हुन सकिरहेको छैन ।

७. मैले प्राय कार्यक्रममा भन्ने गरेको छु, कुनै पनि देशको आर्थिक उन्नतीको दिशानिर्देश त्यस देशले गर्ने निर्यात व्यापारले गरेको हुन्छ । जुन देशको निकासी बलियो हुन्छ, त्यस देशको आर्थिक समुन्नती छिट्टै हुने गर्दछ । तर, आर्थिक समृद्धिलाई मुख्य एजेण्डा बनाएका हामीले निरन्तरको आयात वृद्धि र त्यसबाट बढीरहेको व्यापार घाटाको चुनौती व्यहोरिरहेका छौँ । चालु आर्थिक वर्षको छ महिनामा हाम्रो व्यापार घाटा वृद्धि भएर पाँच खर्व पुगेको छ । आर्थिक वर्षको अन्त्यसम्म हाम्रो यो वर्षको कुल वार्षिक बजेट बराबरको व्यापार घाटा व्यहोर्नुपर्ने संकेत देखा परेको छ । यो ज्यादै चिन्ताको विषय हो ।

८. हाम्रो अर्थतन्त्रमा विविध चुनौती र अप्ठ्यारा छन् । तर, हामी यहीं अप्ठ्याराहरुका बीच आर्थिक समृद्धिको मार्गमा अगाडि बढिसकेका छौँ । राजनीतिक रुपमा संक्रमणको अन्त्य हुँदै स्थिरताको सुरुवात हुँदैछ । यसै वर्ष नेपाली राजनीतिक संघर्षको उपलब्धीहरुलाई संस्थागत गर्न संघीय, प्रदेश र स्थानीय तहको निर्वाचन भव्यतम रुपमा सम्पन्न भएका छन् । र, सबै तहमा सरकार बनिरहेका छन् । सामाजिक रुपमा विभिन्न कालखण्डका ऐतिहासिक उपलब्धीका रुपमा शासन सत्तामा सबै समुदायको पहुँच पुगेको छ र विभेदहरु कम हुँदै गएका छन् ।

९. अब सबैको ध्यान समृद्ध नेपाल निर्माण गर्न केन्द्रित हुनुपर्दछ । प्रत्येक नेपाली नागरिकको आर्थिक तथा सामाजिक रुपान्तरणसहितको समृद्ध नेपाल निर्माण गर्न सबै अगाडि बढ्नुको विकल्प हामीसँग छैन । हाम्रो भौगोलिक अखण्डता, सार्वभौमिकता, राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रतालाई अझै बलियो बनाउँदै समृद्ध राष्ट्र निर्माण गर्न सबै पक्षको बलियो हातेमालोको खाँचो छ । म समृद्ध नेपालका लागि बलियो साझेदारी गर्न सरकार, नीजि क्षेत्र, सहकारी र अन्य सबै क्षेत्रलाई यो सभामार्फत अपील गर्दछु ।

१०. हामीसँग समृद्धिका लागि प्रशस्तै आधार छन् । प्राकृतिक स्रोत साधनमा हामी अत्यन्त धनी छौँ । प्रकृतिको अनुपम उपहारको रुपमा रहेको हाम्रो प्राकृतिक स्रोत साधनको उच्चतम सदुपयोगबाट हामीले छोटै समयमा समृद्धि हाँहिल गर्न सक्छाँै । जलविद्युत, कृषि, पर्यटन, खनिज पदार्थ, जडिबुटी, उद्योग कलकारखाना तथा भौतिक पूर्वाधारको विकासका माध्यामबाट नेपाललाई छिट्टै विकसित मुलुकको सूचीमा उभ्याउन सक्छौँ ।

११. यी क्षेत्रबाट लाखौँका लागि रोजगारी सिर्जना गरी गरिवी न्यूनीकरण गर्न सक्छौँ र रोजगारीको लागि विदेशीनुपर्ने बाध्यातालाई रोक्न सक्दछौँ । निर्यात व्यापारलाई उल्लेख्यमात्रामा वृद्धि गरी व्यापार घाटालाई सन्तुलनमा ल्याउन सक्छौँ । लाखौँ वाह्य पर्यटक भित्र्याई वैदेशिक मुद्रा आर्जन गर्न सक्छौँ । र, नेपाललाई समृद्ध बनाउन सक्छौँ ।

आदरणीय महानुभावहरु
१२. नेपाल समृद्ध बन्न दाङ समृद्ध बन्नुपर्दछ । छोटो समयमा समृद्ध बन्न दाङसँग प्रशस्त आधारहरु छन् । कृषिको लागि अत्यन्त उर्वर भूमी छ । सिंचाईको लागि माडी वा सारदा नदिलाई ल्याएर वा राप्तीबाट लिफ्टिङ गरेर नेपालकै सबैभन्दा बढी कृषि उत्पादन हुने क्षेत्र बनाउन सकिन्छ । यहीं बग्ने स–साना खोलालाई वृहत् सिंचाई आयोजनामार्फत पूर्वदेखि पश्चिमसम्म बाँध बनाएर पानी जम्मा गरी एक अर्कामा लिंकेज गरेर कृषि उत्पादन बढाउन सकिन्छ । आधुनिक तथा व्यवसायिक कृषि प्रणालीका माध्यामबाट उत्पादनमा गुणात्मक वृद्धि ल्याउन सकिन्छ । यहाँ उत्पादित कृषिजन्य वस्तु अन्तर्राष्ट्रिय बजारमा पुग्न सकोस् । र, कृषिमार्फत दाङमा ठूलो मात्रामा वैदेशिक मुद्रा भित्र्याउन सकियोस् ।

१३. यहाँको चक्रपथ निर्माणको कुरा धेरै वर्ष पहिलेदेखि चर्चामा छ । अब हामीले केहिं वर्षभित्रै चक्रपथ निर्माण गर्नुपर्दछ । अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माणलगायत अन्य भौतिक पूर्वाधार निर्माणले दाङको समृद्धिमा योगदान पु¥याउन सक्दछन् । यहाँ औद्योगिक क्षेत्रको विकास गर्न सकिन्छ ।

१४. यहाँका विभिन्न समुदायका मौलिक भेषभुषा, संस्कार संस्कृति, रितिरिवाजले पर्यटकहरुलाई आकर्षण गर्नसक्दछ । राप्ती लुम्बीनी पर्यटन करिडोर अन्तर्गत बौद्धिष्टहरुको अन्तर्राष्ट्रिय धरोहर आस्थाको केन्द्र लुम्बीनी आएका पर्यटकलाई दाङको धारपानी, बाह्रकुने, चौघेरा र अम्बिकेश्वरीलगायत तथा प्यूठानको स्वर्गद्वारी हुँदै रोल्पाको जलजलासम्म पु¥याउन सकिन्छ । भारतसँग जोड्ने दाङको एकमात्र नाका कोइलावासलाई व्यवस्थित भन्सारको रुपमा स्तर उन्नती गरी भारतसँगको निर्यात आयात व्यापारमा वृद्धि ल्याउन सकिन्छ ।

१५. यहाँको कृषि उत्पादन, पूर्वाधार निर्माण, औद्योगिक विकास, पर्यटन प्रवद्र्धनलगायतका क्षेत्रमा राज्यको उच्च ध्यान जानुपर्दछ । यसका साथै दाङको समृद्धिका लागि यहाँका राजनीतिक दल, नेता गणहरु, जनप्रतिनिधि, कर्मचारी, उद्योग व्यवसायी, नागरिक समाज, सामाजिक संघ संस्था र आम जनता एक ढिक्का भएर लाग्नुपर्दछ । मलाई विश्वास छ, अब दाङले ५ नं. प्रदेशकै समृद्ध जिल्ला बन्नका लागि प्रतिस्पर्धा गर्नेछ । यहाँका स्थानीय तहहरुले पनि समृद्धिका लागि प्रतिस्पर्धा गर्नेछन् । र, दाङले देशको समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउनेछ ।

अन्त्यमा, मलाई यो महत्वपूर्ण कार्यक्रममा आमन्त्रण गर्नुभएकोमा दाङ जिल्ला उद्योग वाणिज्य संघ तथा प्रदर्शनी मूल आयोजक समितिलाई हृदयदेखि धन्यवाद दिन चाहान्छु । महोत्सव भव्य रुपमा सफल होस्, मेरो पुनः शुभकामना छ ।
धन्यवाद/नमस्कार

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Prashant Banjade

    सम्झियर के गर्नु आफू उच्च पदमा पुग्दा पनि रोल्पा लाई बिकास गर्न सकेनौ क्यारे…

    Comment Author

    Dipak Gi

    सहित काे सपना पुरागर्न बिप्लब पाटिमा समाबेसि भय हुन्छ भुपु कार्य सम्झनु भावुक हुनु ब्यकारछ कम्रेड।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?