निर्माण कम्पनीको लापरबाहीले धारापानी सिँचाइ योजना अलपत्र

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ३, २०७५
|
|
१५ पटक हेरिएको
Shares
निर्माण कम्पनीको लापरबाहीले धारापानी सिँचाइ योजना अलपत्र

सारांश

  • भीमदत्तनगर, ३ मंसिर।
  •  निर्माण कम्पनीको बेवास्ताका कारण कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लामा रहेको धारापानी सिँचाइ आयोजना अलपत्र परेको छ।
  •  सिँचाइ आयोजना सम्पन्न गर्न ठेक्का पाएको आशिष कन्स्ट्रक्सन धनगढीले दुई पटक समयसीमा थप गर्दा पनि काममा ढिलाइ गरेपछि योजना नै अलपत्र परेको हो।

भीमदत्तनगर, ३ मंसिर। निर्माण कम्पनीको बेवास्ताका कारण कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लामा रहेको धारापानी सिँचाइ आयोजना अलपत्र परेको छ। सिँचाइ आयोजना सम्पन्न गर्न ठेक्का पाएको आशिष कन्स्ट्रक्सन धनगढीले दुई पटक समयसीमा थप गर्दा पनि काममा ढिलाइ गरेपछि योजना नै अलपत्र परेको हो। दोस्रो पटक काम गर्न थप गरिएको समय सकिएर आठ महिना बितिसक्दा पनि योजनाको काम निर्माण कम्पनीले अटेर गरेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भीमदत्तनगरले जनाएको छ।

‘आशीष कन्स्ट्रक्सनलाई दोस्रो पटक काम सक्ने गरी गत फागुन १० गतेसम्म म्याद दिइएको थियो’, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भीमदत्तनगरका सूचना अधिकृत इञ्जिनीयर ग्रीष्मा ठगुन्नाले भने, ‘कार्यालयबाट पनि मौखिक र लिखित रुपमा ताकेता गर्दा पनि निर्माण व्यवसायी सम्र्पकमा आएनन्।’ सिँचाइ आयोजनाको नहर, कल्र्भटलगायत अन्य पूर्वाधार निर्माणका लागि उक्त निर्माण कम्पनीसँग २०७२ असार २५गते रु चार करोड १५ लाखका सम्झौता भएको इञ्जिनीयर ठगुन्नाले जानकारी दिए। ‘शुरुवातमा सम्झौता गर्दा २०७३ असोज महिनासम्मको म्याद थियो’, उनले भने, ‘तोकिएको मितिमा काम नसक्ने भएपछि पुनः २०७४ फागुन २७ गतेसम्मको म्याद दिइएको थियो।’

दुबै म्याद सकिएको आठ महिना बितिसक्दा निर्माणका चासो नदेखाएपछि कार्यालयबाट लिखितरुपमा ताकेता गरिएको थियो। ‘निर्माण कम्पनीले करीब ६० प्रतिशत काम सकेर रकम भुक्तान समेत भइसकेको छ’, ठगुन्नाले भने, ‘४० प्रतिशत काम अझै गर्न बाँकी नै छ।’ उनका अनुसार हालसम्म गरेको कामबापतको रु दुई करोड ६७ लाख भुक्तानसमेत भइसकेको छ। सो क्षेत्रको तीन सय हेक्टर जमीनमा सिँचाइ पुग्ने गरी निर्माण गर्न लागिएको योजना समयमा पूरा नहुँदा स्थानीयवासी भने चिन्तित बनेका छन्। ‘ठेकेदारले नहर बनाउन ल्याएका सामान समेत धारापानी क्षेत्रमा अलपत्र छन्’, दोमिल्लाका स्थानीय भीमदत्त भट्टले भने।

दुई प्याकेजमा निर्माणको ठेक्का दिइएको उक्त सिँचाइ योजनाको कामको जिम्मा पाएको भीमदत्तनगरस्थित पृथ्वी महरा जेभीले समयमै काम सम्पन्न गरेर हस्तान्तरण गरिसकेको छ। पृथ्वी महरा जेभीले रु एक करोड २० लाख बढीको काम गत २०७३ असोजमै सम्पन्न गरिसकेको थियो। खानेपानीको समस्या समेत रहेको दोमिल्ला क्षेत्रमा स्थानीयवासी दशकौंदेखि आकाशको पानीको भरमा खेती गर्दै आएका छन्। उनले मूल नहर निर्माणसँगै सिँचाइ पु¥याउन बनाउन पर्ने शाखा नहर निर्माणका लागि सर्वे हुन नसकेको बताए।

पानीको मुहानमै नहर निर्माणको काम हुन नसकेको बताउँदै उनले तत्काल नहर निर्माणका लागि सम्बन्धित निकायलाई पहल गरिदिन आग्रह गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?