नेपाल र पोल्याण्डबीचको आवागमन प्रक्रिया सरल गर्न रक्षामन्त्री पोख्रेलको आग्रह
सारांश
- काठमाडौं, २२ असोज ।
- उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र पोल्याण्डबीचको आवागमन प्रक्रिया सरल बनाउनुपर्नेमा जोड दिएका छन् ।
- पोल्याण्डका राजदूत आडम बुराखोस्कीले आज अपरान्ह रक्षा मन्त्रालयमा शिष्टाचार भेट गर्दा रक्षामन्त्री पोख्रेलले त्यस्तो जोड दिएका हुन् ।
काठमाडौं, २२ असोज । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र पोल्याण्डबीचको आवागमन प्रक्रिया सरल बनाउनुपर्नेमा जोड दिएका छन् । पोल्याण्डका राजदूत आडम बुराखोस्कीले आज अपरान्ह रक्षा मन्त्रालयमा शिष्टाचार भेट गर्दा रक्षामन्त्री पोख्रेलले त्यस्तो जोड दिएका हुन् ।
भेटका क्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोख्रेलले विगत केही वर्षदेखि पोल्याण्डमा उच्च शिक्षा अध्ययनको साथै रोजगारीको सिलसिलामा समेत जाने नेपालीहरुको तथ्यांकमा उच्च वृद्धि हुँदै गएकोले नेपाली विद्यार्थी तथा युवाहरुको भिसा आवेदन र आवागमन प्रक्रियामा सरलीकरण गर्न आग्रह गरेका हुन् । रक्षामन्त्री पोख्रेलले नेपाल र पोल्याण्डबीच नागरिक आवागमनमा भएको वृद्धिलाई दृष्टिगत गर्दै नेपालमा आवासीय राजदूतको आवश्कयता औंल्याउँदै निकट भविष्यमा पोल्याण्डमा नेपालको तर्पmबाट कन्सुलर नियुक्त गरिने बताए ।
भेटका अवसरमा पोलिस राजदूतले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले गत महिना पोल्याण्डकोे भ्रमण गरेकोमा आभार व्यक्त गरेका थिए । भेटका अवसरमा पोलिस राजदूतले नेपाल र पोल्याण्डबीच सुमधुर सम्वन्ध रहेको र नेपाली सेना र पोल्याण्डको सेनाले विश्व शान्ति कायम राख्न संयुक्तरुपमा काम गरेको कुरा स्मरण गरेका थिए ।
उपप्रधानमन्त्री पोखरेलले पोल्याण्ड स्वतन्त्रताको १०० वर्ष पूरा भएको उपलक्ष्यमा पोल्याण्ड सरकार र पोलिस जनतालाई शुभकामना व्यक्त पनि गरेका थिए । पोलिस राजदुतले यस गौरवपूर्ण सत्वार्षिकीको उपलक्ष्यमा ‘पोलिस हिमालयन एक्सपिडिसन’ कार्यक्रमअन्तर्गत हाल ४०० पोलिस नेपाल भ्रमणमा रहेको र उनीहरुले काठमाडौंदेखि सगरमाथा बेस क्याम्पसम्म यात्रा गर्ने बताएका थिए । यसका अतिरिक्त आगामी दिनमा नेपाल र पोलिस सरकारबीच दुई पक्षीय सम्वन्धमा अन्य सम्भावनाहरु खुला रहेको विचार पनि व्यक्त गरेका थिए ।
प्रतिक्रिया