…पर्यटनमन्त्रीको ‘कमाई’ रोक्न खोजेपछि ‘न्यौपानेलाई दण्ड’
सारांश
- काठमाडौं, १३ माघ ।
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको सरुवा भएको छ ।
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र नारायण देवले न्यौपानेलाई सरुवा गरेर दण्ड दिएका हुन् ।
काठमाडौं, १३ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको सरुवा भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र नारायण देवले न्यौपानेलाई सरुवा गरेर दण्ड दिएका हुन् ।
मन्त्री देवका विवादास्पद निर्देशनलाई सचिव न्यौपानेले असहयोग गर्दै आएपछि मन्त्रिपरिषद्को निर्णयबाट न्यौपानेको सरुवा गरिएको हो । न्यौपाने मन्त्रीको दबाब थेक्न नसक्दा केही दिनदेखि बिदामा बसेका थिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई हटाउनको लागि मन्त्री जितेन्द्र नारायण देवले सचिव न्यौपानेलाई प्रस्ताव राखेका थिए । तर, न्यौपानेले मन्त्री देवको प्रस्ताव ठाडै अस्वीकार गरे ।
आफूलाई मन्त्रीले फोन गरेर गौतम हटाएर आचार्यलाई महानिर्देशक बनाउने प्रस्ताव बनाउन भनिएको न्यौपानेको भनाई छ । यतिबेला मन्त्री देवको प्रस्ताव सचिव न्यौपानेले अस्वीकार गरेको भनेर हटाएको आरोप छ ।
गौतम हटाउने प्रस्ताव प्रधानमन्त्री कार्यालयको मुख्य सचिवालयले मन्त्रिपरिषद्को वैठकमा पेस गर्न अस्वीकार गरेको थियो । त्यसलगत्तै मन्त्री देवको ठाडो प्रस्तावमा सचिव न्यौपानेको सरुवा भएको हो । सचिव न्यौपानेको ठाउँमा सार्वजनिक खरिद कार्यालयका सचिव कृष्ण देवकोटालाई मन्त्रालयमा ल्याइएको छ ।
मन्त्री देवले गत भदौ २७ गते मन्त्रीस्तरीय निर्णयबाट प्राधिकरणमा महानिर्देशक सञ्जीव गौतमलाई हटाउने योजनासहित ११ बुँदे स्पस्टीकरण सोधेका थिए । यहीबाट मन्त्री र सचिवबीच विवाद सुरु भएको थियो ।
मन्त्री देवले गौतमबाट आएको स्पष्टीकरण चित्तबुझदो नरहेको भन्दै फेरि असोज पहिलो साता गौतमसँग २४ घण्टे स्पष्टीकरण माग गरेका थिए ।
गौतमको जवाफ पुनः चित्तबुझ्दो नरहेको भन्दै मन्त्री देवले मन्त्रालयमा तीन सदस्यीय एक कार्यदल गठन गर्दै संयोजक बनाएर गौतमलाई हाजिर हुन पत्र काटेका थिए । तर, मन्त्रीको निर्णयलाई निर्वाचन आयोगले बदर गरेको थियो ।
मन्त्री देवले विमानस्थल स्तरोन्नतिमा लापरबाही गरेपछि ठेक्का रद्द गरिएको स्पेनिस निर्माण कम्पनी सान्जोसेको विषयमा हात हालेका थिए ।
मन्त्री देवले सान्जोसेले सिंगापुरमा दर्ता गराएको मुद्दामा नेपाललाई हराउँदै सात अर्ब हत्याउने योजनाअनुसार ‘सेटिङ’ मिलाएर आर्चायलाई महानिर्देशक बनाउन लागिपरेका थिए । नेपालले मुद्दा हारेको अवस्थामा सान्जोसेलाई सात अर्ब क्षतिपूर्ति व्यहोर्न पर्नेहुन्छ ।
मुखले ठिक्क, व्यवहारले दिक्क
मन्त्री देवले शुक्रबार एक कार्यक्रममा अवैधानीक रुपमा कार्य गर्ने जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याउन आफू तयार रहेको बताएका थिए । उनले आफू काममा विश्वास गर्ने, भाषणवाजीमा नलाग्ने समेत बताएका हुन् ।
कार्यक्रममा पर्यटन क्षेत्रको समसामयीक समस्याका सम्बन्धमा एक हप्ताभित्र पर्यटनसँग सरोकार राख्ने संघ संस्थाबीच गम्भीर छलफल गरेर पर्यटनको गति र दिशा निर्धारण गर्न पर्यटन बोर्डलाई निर्देशन समेत दिएका थिए ।
तर, उनले बोलेका कुराहरु बाहिर देख्दा जति नै व्यवहारिक भएपनि भित्रभित्रबाट अनेकौं धन्दा गरिरहेको प्रष्ट हुन्छ । देश र जनताको लागि सधैं लड्न तयार रहेको बताउँदै आएका मन्त्री देव स्वयंम् यस्ता गलत क्रियाकलापमा संलग्न हुनु कत्तिसम्मको जायज हो ?
प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाप्रति व्यंग्य गर्दै ‘नेता पत्नी नेताभन्दा अगाडि हुनु नहुने’ यदि त्यस्तो भएमा भ्रष्टाचार मौलाउने बताएका मन्त्री देव सात अर्ब हत्याउने योजनाअनुसार ‘सेटिङ’ मिलाएर आर्चायलाई महानिर्देशक बनाउन लागिपरेको प्रष्ट हुन्छ ।
स्रोतका अनुसार मन्त्रीको सबै काम गैरकानूनी रहेको ठहर गर्दै सचिवले असहयोग गरेपछि न्यौपानेलाई सरुवा गरिएको हो ।
प्रतिक्रिया