पहिरो पीडितको पीडा– टहराको बास र मागेको गाँस कहिलेसम्म ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ९, २०७७
|
|
२२ पटक हेरिएको
Shares
पहिरो पीडितको पीडा– टहराको बास र मागेको गाँस कहिलेसम्म ?

सारांश

  • चारैतिर फैलिएका हरिया पहाड, दायाँ र बायाँतर्फ वर्षात्को भेल उर्लेर आउने ठूलो र सानो खोला ।
  • यही केही भिरालो जमिनमा अवस्थित थियो म्याग्दीको मराङ गाउँ ।
  • म्याग्दीको धौलागिरि गाउँपालिका–६ मा पर्ने मराङ ब्राह्मण, क्षेत्री, दलितलगायत धेरै जनजातिको मिश्रित वसोवास रहेको एक उदाहरणीय गाउँ हो ।

चारैतिर फैलिएका हरिया पहाड, दायाँ र बायाँतर्फ वर्षात्को भेल उर्लेर आउने ठूलो र सानो खोला । यही केही भिरालो जमिनमा अवस्थित थियो म्याग्दीको मराङ गाउँ ।

म्याग्दीको धौलागिरि गाउँपालिका–६ मा पर्ने मराङ ब्राह्मण, क्षेत्री, दलितलगायत धेरै जनजातिको मिश्रित वसोवास रहेको एक उदाहरणीय गाउँ हो । समुद्री सतहदेखि करिब दुई हजार ६०० मिटर उचाइमा रहेका घण्टीबाङ, रिख, अरवाङ, राम्चे, पन्थोक, ठूलो गाउँ, कल्लेनी, गुल र धौलागिरि गाउँपालिकाको वडा नं ५ का मल्काबाङ मराङका छिमेकी गाउँहरु हुन् ।

प्राकृतिक सुन्दरता र जैविक विविधताले भरिपूर्ण यो गाउँ कृषि उपज र वनसम्पदाको पनि उर्वर भूमि हो । मराङ जातीय तथा सांस्कृतिक विविधतामा सिंगारिएकोे पौरखी गाउँ । नेपालको एक पुरानो लोकलय सालैजो भाकाका एक सुप्रसिद्ध गायक खड्ग गर्वुजाको जन्म गाउँ हो मराङ ।

यति सुन्दर यो गाउँ अहिले भौतिक र मानसिक रुपमा पनि क्षत्विक्षत् अवस्थामा छ । गत असार २५ गतेको भिषण पहिरोले यो गाउँमा ल्याएको विपत्तिले यसको सुन्दर र भौतिक बनावटलाई नै घायल बनाएको छ । कुनै युद्धपछि बाँकी रहेको भग्नावशेषजस्तो पहिरोले यो गाउँको भौतिक बनावट त बिगारिदियो नै यसले सिंगो गाउँलाई नै मानसिक रुपमा पनि घाइते बनाइदिएको छ ।

यस्तै अवस्थामा छ मालिका गाउँपालिका वडा नं ७ मा पर्ने बिम गाउँ पनि । यी दुवै गाउँपालिकाका तीनवटा वडामा एकैदिन, एकै समयमा गएको पहिरोमा परेर ३१ जनाको ज्यान गएको थियो भने एक सय जनाभन्दा बढी पूर्णरुपमा विस्थापित भएका छन् ।

पहिरोमा परेर ज्यान गुमाएका त गए नै जीवित रहेका उनीहरुका आश्रित र घर जग्गा गुमाएर विस्थापित बनेकाहरुको अवस्था अहिलेसम्म पनि अत्यन्त दयनीय छ । मनसुन रोकिनुको सट्टा अझै बढ्दै छ, वर्षा जार िछ । पाल र टिनको छाप्रोमुनि दिन विताइरहेका पहिरो पीडितहरु सकसमा छन् । उनीहरुका आँखामा आफन्त र सम्पत्ति गुमाउनु पर्दाको पीडा अझैसम्म पनि छचल्किइरहेको छ ।

भएको जग्गा जमिन, दुःख गरेर आर्जेको घर परिवार र ओतलाग्ने घर समेत पहिरोमा परेर बगेपछि मराङका करिब ७० परिवार सुरक्षित मानिएको अग्लो ठाउँ र जङ्गल नजिकको बस्तीमा पाल टाँगेर र टिनको छाप्रो बनाएर बसेका छन् । सरकार, मनकारी व्यक्ति र देश विदेशमा रहेका विभिन्न संघसंस्थाहरुले दिएको सहयोगका सहारामा दुःखका दिन काटिरहेका छन् ।

पहिरोमा आफ्ना चार सन्तान गुमाएकी मराङ राम्चेकी ४७ वर्षीया चनमति लामगाडे भन्नुहुन्छ “चार सन्तानको सास त दैवले चुड्यो, बाँकी बचेका चार जनाको टहरोको बास र थापेको गासमा चल्दै छ सास ।”

उहाँले मागेको गास र टहरोको बासबाट कहिले मुक्ति पाइएला भनेर प्रश्न गर्नुभयो । उता वडा नं ७ को ताकम र धारापानीको अवस्था पनि त्यस्तै छ । मालिका गाउँपालिकाको बिम र धौलागिरी गाउँपालिकाको मराङ र धारापानीका वासिन्दाहरुले पुनस्र्थापनाको माग गरेका छन् ।

प्रकृतिमा नै आश्रित रहेका यहाँका सर्वसाधारणहरु प्रकृतिकै रिसाहा व्यवहारले वर्षाको झरीसँगै खुल्ला आकाशमा त्रिपालको सहारामा बाँच्न बाध्य छन् । साढे दुई महिनाको नवजात शिशुलाई काखमा च्यापेर रातको समयमा पहिरो छिचोल्दै ज्यान बचाउन सफल मराङको राम्चे गाउँकी सविना विश्वकर्माले राहतभन्दा पनि जतिसक्दो चाँडो पुनर्वासको व्यवस्था गरिदिन सरोकारवालाहरुसँग माग गर्नुभयो ।

पुनर्वासको माग विश्वकर्मा र लामगाडेको मात्रै होइन गत असार २५ गते राति आएको भिषण पहिरोमा आफन्तजन र भएको धन गुमाइ अहिले पाल टाँगेको टहरो र आफन्तकोमा बस्दै आएका पश्चिम म्याग्दीका १ सय जनाभन्दा बढी पहिरो पीडितहरुको सामूहिक माग हो ।

पहिरोले घर बास उठाएको दुई महिना बितिसक्दा पनि मराङ र बिमका पहिरो पीडितहरुको पुनर्वासको प्रबन्ध हुन सकेको छैन । स्थानीय तह, प्रदेश सरकार, जिल्ला भित्रका संघसंस्था, परोपकारी व्यक्ति र मनकारी प्रवासी म्याग्देलीहरुको सहयोगमा उनीहरुलाई खान र लगाउनको समस्या नभए पनि व्यवस्थित बस्ने बास नहुँदा राहतवापत पाएको नगद र खाद्यान्नले मात्र बाढी पहिरो पीडितहरुले चित्त बुझाउन सकेका छैनन् ।

मराङ रिखका धनवहादुर जुग्जालीले विपद्को समयमा मनकारी व्यक्ति, संघसंस्था र सरकारले राहत रकम र सामग्री उपलब्ध गराएको तर अझसम्म पनि टहरो र खुला स्थानमा पहिरो पीडितहरु बस्न बाध्य भएको बताउँदै चाँडै बासको व्यवस्था गरिदिन सम्वन्धित सरोकारवालाहरुलाई अनुरोध गर्नुभयो ।

अहिलेसम्म पनि मराङ र बिमका पहिरो पीडितहरुका गहमा आँशु टिल्पिलाइरहेका छन् । परिवारजन र चलअचल धन एकै पटक गुमाउन पुगेका उनीहरु सुकुम्वासी नै भएका छन् । कतिपयको त घर बनाउने घडेरी समेत छैन ।

धौलागिरि गाउँपालिकाको मराङ, ताकम र धापानी, मालिका गाउँपालिकाको देवीस्थान र बिमका पहिरो पीडितहरुका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट अहिलेसम्म राहत रकम र सामग्रीबाहेक पुनर्वासको विषयमा खासै पहल हुन नसकेको पीडितहरुले बताएका छन् ।

“अब जाडो शुरु हुन थाल्यो, पुस माघ तिर यहाँ हिउँ पर्छ, त्यतिन्जेलसम्म पनि बासको व्यवस्था भएन भने हामी त जाडोले कठ्याङ्ग्रियर नै मर्छौं” धवलागिरि गाउँपालिका ७ ताकमका मनबीर विटालुले भन्नुभयो “खान नपाए बरु मागेर गुजारा चलाउला, बस्ने वासै नभए पछि त कसरी बाँच्नु र ?”

पहिरो पीडितलाई वासको व्यवस्था गर्न स्थानीय तहका जनप्रतिनिधिहरु पनि लागि परेका छन् । तर उनीहरुको पहलमा मात्रै यतिधेरै पहिरो पीडितहरुलाई व्यवस्थित गर्न समस्या भएको छ । जनप्रतिनिधिहरु भन्छन् “वस्ने बासको मात्रै कुरा भएन, खानेपानी, शौचालय, हिड्ने बाटोलगायतका अन्य संरचनाहरु पनि आवश्यक पर्छन्, उपयुक्त स्थानको हामीले खोजी गरिरहेका छौँ ।”

धौलागिरि गाउँपालिका ६ मराङका वडाअध्यक्ष राजाराम सुवेदीले पहिरो पीडितहरुका लागि एकीकृत पुनर्वासको व्यवस्था गर्ने की अलग अलग ठाउँमा राख्ने भन्ने कुरामा नै अन्योल भएको बताउनुभयो । उहाँका अनुसार कतिपय पहिरो पीडितहरुको घडेरी समेत नभएकाले एकीकृत पुनर्वासको अवधारणा ल्याइए पनि कतिपय आफ्नै घडेरीमा बस्न चाहेकोले समस्या भएको छ । घडेरी समेत नभएकाहरुका लागि उचित स्थानको खोजी भइरहेको उहाँको भनाइ छ । उहाँका अनुसार मराङमा मात्रै ६ सय रोपनीभन्दा बढी खेतीयोग्य जमिन पहिरोले पुरेको छ । त्यसैगरी पूर्ण क्षति भएका ३० परिवार, आंशिक क्षति भएका १७ र ११० घर परिवार अझै पनि उच्च जोखिममा रहेका छन् । अझैसम्म पनि वास्तविक क्षतिलाई आर्थिक रुपमा मूल्याङ्कन गर्न नसकिएको उहाँले बताउनुभयो ।

सोही गाउँपालिकाका अध्यक्ष थमसरा पुनले पहिरो पीडितहरुको अवस्था देखेर आफूलाई रातदिन पिरलिरहेको बताउँदै समस्या समाधानका लागि पहल भैरहेको तर टुंगोमा पुग्न नसकिएको बताउनुभयो । उहाँले यही असोज ९ गते गाउँपालिकामा यही विषयमा छलफल हुने र एउटा टुंगोमा पुग्ने जानकारी दिनुभयो ।

उता मालिका गाउँपालिका ७ बिमका वडाअध्यक्ष रेशम जुग्जालीले पहिरोमा घर र आफन्त गुमाएका पीडितहरुलाई अझै केही दिन धैर्य गर्न अनुरोध गर्दै वर्षा सकिएलगत्तै पीडितहरुलाई बासको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले तत्कालका लागि गाउँपालिकाको पहिलो प्राथमिकता बिम र देविस्थानका पहिरो पीडितहरुका लागि पुनर्वासको व्यवस्था नै रहेको बताउनुभयो । “पहिरो पीडितहरुको समस्या समाधानमा हामी लागि परेका छौँ, आर्थिक स्रोत र जग्गा व्यवस्थापनको काम हुँदैछ, उहाँहरुको समस्या समाधान गर्छौँ” अध्यक्ष रोकाले भन्नुभयो ।

स्थानीय जनप्रतिनिधि पुनर्वासको व्यवस्था मिलाउन लागिपरेका भए पनि प्रदेश र सङ्घीय सरकार भने उदासिन देखिएको बाढी पहिरो पीडितहरुको भनाइ रहेको छ । सरकारले केही दिन अघिमात्र मालिका र धवलागिरि गाउँपालिकाका बाढी पहिरो पीडितहरुका लागि रु ३५ लाख राहत उपलव्ध गराएको छ ।

सरकार र दाताहरुले दिएको राहत सामग्री र बजारमा किनेको खाद्यान्नले खानेकुराको समस्या नभए पनि सुत्केरी र नवजात शिशुहरुलाई पोषणयुक्त खानाको अभाव भने यथावत नै छ । मराङको एउटै गाउँमा चार जना सुत्केरी महिलाको घर र जग्गा पहिरोले बगाएको छ । पोषणयुक्त खानेकुरा खान नपाउँदा उनीहरु कुपोषणको शिकार हुने खतरा रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।

“यहाँ न फलफूल पाइन्छ, न तरकारी र दही दूध नै । राहतस्वरुप प्राप्त गरेको पैसा भएर पनि किनेर खुवाउन सकिएको पनि छैन, घरमा उत्पादन गर्ने न घर छ, न त जग्गा नै” मराङ राम्चेकी साढे दुई महिनाकी सुत्केरी सविना विश्वकर्माले भन्नुभयो ।

साँघुरो पालभित्र चार÷पाँच जना जाहान परिवारको साथमा असजिलो गरी बस्नुपर्दा पीडितहरु निसास्सिएका छन् । यसरी बस्न थालेको पनि दुई महिना बढी भएको छ । लामखुट्टे र किरा फट्याङ्ग्राहरुको टोकाइबाट बच्न सानो झुल टाँगेको ओछ्यान र ओछ्यानकै एक छेउमा खाना पकाउने भाँडाकुँडा र अगेनो छ ।

“नजिकै रहेको अस्थायी शौचालयबाट ह्वास्स गन्ध आउँछ, खाना खानै मन लाग्दैन, वरिपरि केटाकेटीहरुले दिशा पिसाब गरेर दुर्गन्धित बनाएका छन् । न गतिलो बास, न त गतिलो खाना । कति दिन चल्ला यसरी ?” टहरामा बस्दै आएका मनवीर विटालुले सुनाउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जानकी मन्दिरलाई ५ अर्व र मुक्तिनाथ मन्दिरलाई २ अर्ब दिने मोदीको घोषणा !
जानकी मन्दिरलाई ५ अर्व र मुक्तिनाथ मन्दिरलाई २ अर्ब दिने मोदीको घोषणा !
कपिलको शोमा कोही पनि कलाकार आउन चाहँदैन थिए किन?
कपिलको शोमा कोही पनि कलाकार आउन चाहँदैन थिए किन?
अयोग्य लडाकुको राहतका लागि प्रारम्भिक प्रक्रिया बुधबारदेखि
अयोग्य लडाकुको राहतका लागि प्रारम्भिक प्रक्रिया बुधबारदेखि
भरतपुर महानगरपालिकामा पुन मतदान गर्ने कि नगर्ने भन्नेबारेमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई ६ दिनका लागि रोकियो
भरतपुर महानगरपालिकामा पुन मतदान गर्ने कि नगर्ने भन्नेबारेमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई ६ दिनका लागि रोकियो
कोरोनाका कारण सोमबार ८ जनाको मृत्यु
जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी भोली पोल्याड जाँदै
जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी भोली पोल्याड जाँदै
विदेशमा नेपाली महिलाको हारगुहार
विदेशमा नेपाली महिलाको हारगुहार
मन्त्री व्यवस्थापनमा सत्ता गठबन्धनलाई सकस, चाहिने २५, आकांक्षी तेब्बरभन्दा बढी
मन्त्री व्यवस्थापनमा सत्ता गठबन्धनलाई सकस, चाहिने २५, आकांक्षी तेब्बरभन्दा बढी
पूर्वराजाले गरे प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना
पूर्वराजाले गरे प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना
प्रतिनिधिसभामा सांसदले रासायनिक मल खोजेपछि …

तपाईंले छुटाउनुभयो कि?