कार्यकारी अधिकार पाएपछि सक्रिय बन्दै प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १३, २०७६
|
|
१८ पटक हेरिएको
Shares
कार्यकारी अधिकार पाएपछि सक्रिय बन्दै प्रचण्ड

सारांश

  • काठमाडौं।
  • सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष प्रचण्डले कार्यकारी भूमिका पाएलगत्तै ‘पावर एक्सरसाइज’ को तयारी थालेका छन्।
  • उनले लामो समयदेखि बस्न नसकेको केन्द्रीय समिति र स्थायी कमिटी बैठक बोलाउन आन्तरिक छलफल थालेका छन्।

काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष प्रचण्डले कार्यकारी भूमिका पाएलगत्तै ‘पावर एक्सरसाइज’ को तयारी थालेका छन्। उनले लामो समयदेखि बस्न नसकेको केन्द्रीय समिति र स्थायी कमिटी बैठक बोलाउन आन्तरिक छलफल थालेका छन्।

पार्टी अध्यक्षसमेत रहेका केपी शर्मा ओली अस्वस्थ भएको र उपनिर्वाचन नजिकिएका कारण उनले बैठकको तयारीलाई केही दिन पर धकेलेका छन्। यद्यपि, चाँडै केन्द्रीय समिति र स्थायी कमिटी बैठक बोलाउने स्रोत बताउँछ।

तत्कालीन नेकपा एमाले र तत्कालीन माओवादी केन्द्रबीच एकता भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को स्थायी कमिटीको बैठक एकपटक मात्र बसेको छ भने केन्द्रीय समिति बैठक एकपटक मात्रै। लामो समयदेखि केन्द्रीय कमिटी बैठक बस्न सकेको छैन। स्रोतका अनुसार अध्यक्ष दाहाल केन्द्रीय समिति र स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्र सबै निकायलाई चलायमान बनाउन चाहन्छन्। लामो समयदेखि सचिवालय बैठकमार्फत नै पार्टीका निर्णय हुँदै आएकोमा दाहालले अब केन्द्रीय समिति र स्थायी कमिटीमार्फत पार्टीका औपचारिक निर्णय प्रक्रिया हुने परिपाटी विकास गर्न चाहेका हुन्।

तीन तहको सरकारमार्फत मुलुकको शासनसत्तामा महवपूर्ण भूमिका पाएको नेकपाले जनताको अपेक्षाअनुसार परिणाम दिन सकिरहेको छैन। जनतामा बढ्दो असन्तुष्टि कम गर्दै तीनै तहका सरकारका कामलाई प्रभावकारी तुल्याउन केन्द्रीय समिति र स्थायी कमिटी बैठकमा गम्भीर छलफल गराउने प्रचण्डको योजना रहेको स्रोत बताउँछ।

प्रचण्ड स्वयंले पनि सार्वजनिक रूपमै आफूले देश भ्रमणका क्रममा जनताको गुनासो सुन्ने गरेको, जनताका आकांक्षाहरू पूरा हुन नसकेको स्वीकार गर्दै आएका छन्। सचिवालय बैठकमार्फत पार्टीको कार्यकारी भूमिका पाएपछि दाहालले आफ्नो पार्टी नेतृत्वमा रहेका तीनै तहका सरकारलाई पार्टीगत रूपमा आवश्यक निर्देशन दिनेगरी पहिलोपटक ‘पावर एक्सरसाइज’ गर्न खोजेको स्रोतको भनाइ छ।

यसका लागि उनले पार्टीका महासचिव विष्णु पौडेलसँग विभिन्न चरणमा छलफल गरिसकेको बताइन्छ। ‘दुई अध्यक्षमध्ये एउटाले सरकार र अर्कोले पार्टीको जिम्मेवारी वहन गर्ने भनिसकेपछि अब पार्टी कसरी सञ्चालन गर्ने र सरकार कसरी सञ्चालन गर्ने भन्नेमा विवाद रहेन,’ एक नेताले भने, ‘पार्टीको जिम्मेवारी वहन गर्नेले पार्टीलाई कसरी लोकप्रिय बनाउने भन्ने चिन्ता स्वाभाविक रूपमा राखेको हुन्छ भने सरकारको जिम्मेवारी वहन गर्नेले सरकारका काम कारबाही कसरी लोकप्रिय तुल्याउने भन्ने सवालमा ध्यान केन्द्रित गरेको हुन्छ।’

अध्यक्ष प्रचण्डले लामो समयदेखि निष्क्रिय रहेका केन्द्रीय समिति र स्थायी कमिटीलाई चलायमान बनाउँदै पार्टीका कमीकमजोरी समीक्षा गर्ने, आफ्नो पार्टी नेतृत्वको सरकारका काम कारबाही मूल्यांकन गर्ने र आवश्यक सुझाव दिने उद्देश्यले बैठक बोलाउने तयारी गरेको उनको भनाइ थियो। प्रधानमन्त्रीको अस्वस्थताका बीच बैठक बोलाउन उचित नहुने भएर केही दिनका लागि दाहालले बैठक बोलाउने योजना पर सारेको स्रोतको भनाइ छ। सम्भवतः उपनिर्वाचनलगत्तै पार्टीको बैठक बोलाइने र गम्भीर छलफल हुने बताइएको छ।

नेकपामा प्रचण्डले अब आफूलाई अध्यक्षका रूपमा कसरी सक्रिय गराउलान् भन्ने चासो पार्टीभित्र र बाहिर पनि बढेको छ। पूर्वएमालेहरू दाहालका छुट्टै कार्यकारी अधिकार नरहेको र ओलीको सहमति अनिवार्य रहेको बताउँछन्। उता, पूर्व–माओवादीहरू भने पार्टी एकतायता हालसम्म ओलीले पार्टीमा प्रयोग गरेको अधिकार दाहालले प्रयोग गर्न सक्ने बताउँछन्। दाहालले पार्टीको पछिल्लो निर्णयपछि आफूलाई पनि पार्टीको अध्यक्षजस्तो अनुभूति भएको बताएका छन् तर उनको सक्रियतामा कुनै नयाँ निर्णय भएको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?