पेट्रोलियम पदार्थको मूल्य नघटदा उपभोक्ता मारमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १, २०७९
|
|
३२ पटक हेरिएको
Shares
पेट्रोलियम पदार्थको मूल्य नघटदा उपभोक्ता मारमा

सारांश

  • काठमाडौँ।
  • पछिल्लो दुई महिनादेखि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार ओरालो लागिरहेको छ।
  • रुस-युक्रेन युद्धका कारण विश्व बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको थियो।

काठमाडौँ। पछिल्लो दुई महिनादेखि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार ओरालो लागिरहेको छ। रुस-युक्रेन युद्धका कारण विश्व बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको थियो। सन् २०२१ को जुन महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको औसत मूल्य प्रतिव्यारेल ७१.३५ अमेरिकी डलर थियो।

रुस र युक्रेनबीच युद्ध सुरु भएपछि कच्चा तेलको मूल्य अस्वाभाविकरूपमा वृद्धि भयो। सन् २०२२ को जुनमा क्रुड र प्रशोधित तेलको मूल्य ह्वात्तै बढेर प्रतिव्यारेल ११९.५५ अमेरिकी डलर पुग्यो। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भयो।

पछिल्लो दुई महिनायता भने विश्वबजारमा कच्चा तेलको औसत मूल्यमा निरन्तर गिरावट आइरहेको छ। सन् २०२२ को जुलाई १६ तारिखमा कच्चा तेलको मूल्य प्रतिव्यारेल १०७.४० अमेरिकी डलर र अगष्ट १६ तारिखमा कच्चा तेलको मूल्य प्रतिव्यारेल ९९.७२ अमेरिकी डलरमा झरेको छ। कच्चा तेलको मूल्य घट्न थालेसँगै विश्व बजारमा प्रशोधित तेलको मूल्य पनि लगातार घटिरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र प्रशोधित तेलको मूल्य लगातार घटिरहँदा इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट पेट्रोलियम पदार्थ खरिद गरिरहेको नेपाल आयल निगमले भने अझै पनि मूल्य घटाएको छैन। पेट्रोलियम पदार्थको खरिद मूल्य घटेर आउनाका साथै केहीमा नाफा हुँदासमेत निगमका अधिकारी मूल्य घटाउने पक्षमा देखिएका छैनन्।

अझै पनि मासिक रु ६२ करोड घाटा, रु २३ अर्ब बढी बक्यौता र रु १० अर्ब ऋण तिर्न बाँकी रहेकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा नेपालमा पनि मूल्य घटाउन सक्ने अवस्था नरहेको निगमका अधिकारीको भनाइ छ।

निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानी आइओसीबाट मूल्य घटेर आए पनि मासिक घाटा तथा इन्धन खरिदवापतको रु २३ अर्ब र रु १० अर्ब ऋण भुक्तानी बाँकी रहेकाले मूल्य समायोजन गर्न नसकिएको बताउँछन्।

आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ ७४ पैसा नाफा तथा डिजेलमा प्रतिलिटर चार रुपैयाँ ५० पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर चार सय ९९ रुपैयाँ ५७ पैसा घाटा छ।

पछिल्लो तीनपटकमा आइओसीबाट केही मूल्य घटेर आएको छ, तर अझै निगमलाई मासिक रु ६२ करोड ५८ लाख घाटा छ, आइओसीलाई रु २३ अर्ब बक्यौता भुक्तानी तथा विभिन्न समयमा लिइएको रु १० अर्ब ऋण तिर्न बाँकी छ-, उनले भने, आपूर्ति व्यवस्थालाई सहज बनाउन पेट्रोलियम पदार्थको थोक तथा खुद्रा बिक्री मूल्यमा कुनै समायोजन गर्न सक्ने अवस्था छैन।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदै जाँदा नेपालमा सोही ढङ्गबाट मूल्य समायोजन नहुँदा घाटा बढ्दै गएको उनले बताए। बक्यौता र ऋण चुक्ता नहुँदासम्म पेट्रोलियम पदार्थको बिक्री मूल्य यथावत राखेर जाने निगमको रणनीति छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेको छ, यसबाट बक्यौता र ऋण भुक्तानीमा सहज हुने ठानेका छौँ, उनले भने।

अहिले नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ८१, डिजेल-मट्टितेलको मूल्य प्रतिलिटर रु एक सय ७२, हवाई इन्धन (बाह्य) को प्रतिकिलोलिटर एक हजार छ सय ४५ अमेरिकी डलर, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर रु एक सय ९० र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार आठ सय छ।

सञ्चित बचत शून्यमा पुगेको र घाटा बढ्दै जाँदा आपूर्ति व्यवस्थामा नै समस्या आउने सक्ने भन्दै निगमले गत असारमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको थियो। निगमले गत असार ५ गते पेट्रोलमा प्रतिलिटर रु एक सय ९९, डिजेल-मट्टितेलमा रु एक सय ९२, हवाई इन्धन (बाह्य)को प्रतिलिटर १.६४५ अमेरिकी डलर, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर रु एक सय ८५ ले वृद्धि गरेको थियो।

प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गत असार १० गते सरकारले पेट्रोलियम पदार्थमा लिँदै आएको विभिन्न शीर्षकको करमा ५० प्रतिशतले छुट दिएर जनतालाई राहत दिन निर्देशन दिएको थियो। सोही निर्देशनका आधारमा निगमले असार ११ गते पेट्रोलिय पदार्थको मूल्य घटाएको थियो।

सरकारले विभिन्न शीर्षकमा लिएको कर समायोजन निर्णय गरे पनि अझैसम्म करको विषय नटुङ्गिएको कार्यकारी निर्देशक थानीको भनाइ छ । करका विषयमा केही भएन, मासिक रु १० अर्ब घाटा रह्यो, उहाँले भन्नुभयो, कर समायोजनका विषयमा सरकारसँग निरन्तर छलफल भइरहेको छ।

निगम आइओसीलाई रु २३ अर्ब भुक्तानी गर्नुपर्ने दबाबमा छ । सरकारले दिएको रु सात अर्ब र राष्ट्रिय वाणिज्य बैंकबाट लिएको रु तीन अर्ब ऋण तिर्न बाँकी नै रहेको उहाँले बताउनुभयो । आइओसीको बक्यौताका साथै सरकार र बैंकबाट लिएको ऋण तिनुपर्ने अवस्था छ, उनले भने।

सञ्चित बचत सकिएपछि सरकारले निगमलाई पेट्रोलियम पदार्थ खरिद गर्न भनेर रु सात अर्ब ऋण दिएको थियो। सो ऋणले पनि नपुगेपछि निगमले टेकुस्थित केन्द्रीय कार्यालय रहेको जग्गा धितो राखेर राष्ट्रिय वाणिज्य बैंकबाट रु तीन अर्ब ऋण लिएको थियो। सरकारले दिएको ऋण पाँच वर्षभित्र चुक्ता गरिसक्नुपर्ने छ।

सो ऋणको पाँच प्रतिशतले ब्याज र त्रैमासिक किस्ता तिर्नुपर्ने निगमले जनाएको छ। “विभिन्न ऋणको व्याज मात्रै मासिक रु १४ करोड तिर्नुपर्छ”, कार्यकारी निर्देशक थानीले भने।

निगमका उपकार्यकारी निर्देशक नागेन्द्र साह सञ्चित घाटा पूर्ति नहुँदासम्म मूल्य समायोजन गर्न नसकिने जिकिर गर्छन्। “रु ३३ अर्बको दायित्व बाँकी नै छ”, उनले भने, “यही अवस्थामा मूल्य घटाउँदा झन् घाटा बढ्छ।” निगम विगतमा रु ३७ अर्ब नोक्सानीमा थियो। अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दै जाँदा निगमले सो घाटा पूर्ति गरी अतिरिक्त बचत गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना संक्रमण रोक्नेबारे जी ७ का नेताहरुले छलफल गर्ने : आबे
कोरोना संक्रमण रोक्नेबारे जी ७ का नेताहरुले छलफल गर्ने : आबे
माओवादीको निष्कर्ष: सबैतिर अनुपस्थित र असफल भइसकेको ओली सरकार उल्टो दिशातिर हिँडिरहेको छ
माओवादीको निष्कर्ष: सबैतिर अनुपस्थित र असफल भइसकेको ओली सरकार उल्टो दिशातिर हिँडिरहेको छ
एसिसी महिला एसिया कपः नेपाल पाकिस्तानसँग पराजित
एसिसी महिला एसिया कपः नेपाल पाकिस्तानसँग पराजित
नेपालीकांग्रेस एक हुने संकेत !
नेपालीकांग्रेस एक हुने संकेत !
वैज्ञानिकहरू कोरोना भाइरसको खोप बनाउन सक्रिय, भाइरसबाट मृत्यु हुनेको संख्या ८०० बढी
वैज्ञानिकहरू कोरोना भाइरसको खोप बनाउन सक्रिय, भाइरसबाट मृत्यु हुनेको संख्या ८०० बढी
बैठक सञ्चालनका लागि सदस्य अनुमोदन
बैठक सञ्चालनका लागि सदस्य अनुमोदन
अध्यक्ष दाहालद्वारा स्वास्थ्यलाभको कामना
अल्बानी मधेशी समाजले न्युयोर्कमा छठकाे अायाेजना गर्ने
अल्बानी मधेशी समाजले न्युयोर्कमा छठकाे अायाेजना गर्ने
दसैँअघि काठमाडौंमा मेलम्चीको पानी आउँदैछ रे !
दसैँअघि काठमाडौंमा मेलम्चीको पानी आउँदैछ रे !
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपतिलाई बधाई तथा शुभकामना
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपतिलाई बधाई तथा शुभकामना

तपाईंले छुटाउनुभयो कि?