पेशा परिवर्तन गर्न चाहन्छन् वादी समुदायका महिला

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २२, २०७५
|
|
१६ पटक हेरिएको
Shares
पेशा परिवर्तन गर्न चाहन्छन् वादी समुदायका महिला

सारांश

  • घोडाघोडी।
  • नेपालको पिछडिएको समुदाय हो वादी समुदाय।
  • अल्पसङ्ख्यकरुपमा रहेको वादी समुदाय आर्थिक, सामाजिकरुपमा निकै उत्पीडनमा छ।
घोडाघोडी। नेपालको पिछडिएको समुदाय हो वादी समुदाय। अल्पसङ्ख्यकरुपमा रहेको वादी समुदाय आर्थिक, सामाजिकरुपमा निकै उत्पीडनमा छ। यो समुदायका महिलाले लैङ्गिक उत्पीडन भोग्दै आएका छन्। वादी समुदायका महिला बाध्यतावश यौन व्यवसायमा लागेको पाइन्छ। पछिल्लो समय यौन व्यवसायमा लागेका कारण आफूजस्तै आफना बालबच्चाले यो व्यवसाय अँगाल्नु नपरोस् भन्दै पेशा परिवर्तन गर्न चाहेको वादी समुदायका महिलाले बताएका छन्। 
कैलाली जिल्लाका विभिन्न ठाउँमा यो समुदायको बसोबास रहेको छ। जिल्लाको बल्चौर, सत्ती, मुढालगायतका ठाउँमा बसोबास गरिरहेका उनीहरु अवसरको खोजीमा छन्। धेरै नपढेका तथा कैयाैं वर्षदेखि खुलेआम यौन व्यवसाय गर्दै आएका यो समुदायका महिला आजभोलि भने यौन व्यवसाय त्यागेर अरु नै व्यवसाय गर्न चाहेको बताउँछन्। 
कैलालीको मुढामा बसोबास गरिरहेकी ४२ वर्षीया सुमित्रा वादी राज्यले अवसर सिर्जना गरिदिनुपर्ने बताउँछिन्। “पहिलेदेखि नै हाम्रा पुर्खाले यौन व्यवसायलाई आयआर्जनको लागि मुख्य व्यवसाय बनाए र हामी पनि त्यसैमा लाग्याैं, तर अब हाम्रा सन्तान त्यस व्यवसायमा नलागुन् भन्नेमा हामी सचेत छाैं”, उनले भनिन्, “समय परिवर्तन भइसक्यो, अब हाम्रो चेतनास्तर पहिलेका हाम्रा पुर्खाको जस्तो रहेन, त्यसैले यो देहव्यापारको काममा हाम्रा छोरीचेली नलागुन् भन्नेमा हामी लागिरहेका छौँ।”  स्थानीयस्तरमा समेत सरकार आइसकेको स्थितिमा पनि आफूहरूका लागि कुनै उत्पादनमुखी कार्यक्रम राज्यले दिन नसकेको उनले गुनासो गरिन्।
 
मुुढाको वादी बस्तीमै बसिरहेकी एक १५ वर्षीया वादी किशोरीले पढ्ने चाहना हुँदाहुँदै आफूले आर्थिक अवस्थाका कारण पढाइ छाड्नुपरेको बताइन्। पन्ध्र वर्षकै कलिलो उमेरमा घरको आर्थिक अवस्था राम्रो नभएका कारण देह व्यापारमा लाग्नुपरेको उनले बताइन्। “मेरा पनि सपना र चाहना थिए, अभिभावकले अँगालेको पेशा नभएर समुदायबाट शिक्षितको सूचीमा आउने मन थियो, तर सबै चकनाचुर भयो” उनले रुँदै भनिन्, “मेरा साथीभाइ अझै विद्यालय जान्छन्, तर म पाहुना कुर्नुपर्ने स्थितिमा छु, आफूलाई देखेर आफैँसँग लाज लाग्छ।” अझै पनि केही अवसर पाए आफू दिनरात मेहनत गरेर बुबाआमाको र आफ्नो पेट पाल्न लागिपर्ने र देह व्यापारको काम छाड्ने उनले बताइन्।
 
“छोराछोरी ठूला भए, अब त उनीहरुले पनि थाहा पाउँछन्। कहिलेकाहीँ घरमा आउनुभएको को हो हाम्रो ? भनेर समेत सोध्छन्, अनि निशब्द भइन्छ”, अर्की एक वादी महिलाले भनिन्, “श्रीमान् जँड्याहा छन्, पैसा जसरी पनि चाहियो, पैसा नदिए कुट्छन् मर्नेगरी, अनि छोराछोरीको पढाइ खर्चका लागि पनि पैसा चाहियो, मनले मान्दैन तर नगरी हुँदैन । अवसरको खोजीमा छु, शौचालय सफा गर्ने काम भए पनि गर्ने थिएँ, तर के गर्नु हामीलाई काम पनि पाइँदैन।”
 
सुदूरपश्चिम प्रदेशकी वादी समुदायकी एक्ली प्रदेशसभा सदस्य उमादेवी वादीले सरकारले पाँच वर्षअघि वादी समुदायका लागि ल्याएको जनता आवास कार्यक्रम हुनेखानेले धमाधम घर बनाउन थाले पनि हुँदा खानेहरूको पुरानै स्थिति रहेको बताइन्। सरकारले विभिन्न चरणमा ल्याएका विभिन्न सीपमूलक कार्यक्रमले पनि वादी महिलाले पुस्तौँदेखि अँगाल्दै आएको यौन पेशालाई प्रतिस्थापन गर्न नसकेको उहाँको भनाइ छ। “अहिले पनि धेरैले बाध्यकारी यौन पेसा अँगाल्दै आएका छन्, अन्य कुनै विकल्प छैन। राज्यले योजना बनाएर आयआर्जनको गतिलो व्यवस्था गरिदिए आफ्नो शरीर हाम्रा दिदीबहिनीले बेच्नुपर्ने थिएन”, उनले भनिन्, मेरो एउटै धोको छ, यौन पेशामा लागेका वादी महिलालाई त्यो पेशाबाट अलग गरेर समाजमा आत्मसम्मानका साथ पुनःस्थापना गर्ने।”
नेपाल सरकार मन्त्रिपरिषद्को २०६५ पुस २३ गतेको बैठकले यौन पेशामा लागेका वादी महिलालाई आत्मसम्मानका साथ पुनःस्थापना गर्ने निर्णय गरे पनि आयआर्जनको विकल्प नभएका कारण महिलाले यो पेशा छाड्न सकेका छैनन्। कानूनीरुपमा यहाँ यौन व्यवसाय गर्न समस्या भएपछि यस समुदायका किशोरी भारतका विभिन्न स्थानमा गएर देह व्यापार गर्न बाध्य छन्। आफूहरुले बारम्बार आयआर्जनको विकल्प दिन सरकारसँग माग गरेको भए पनि कसैले आफूहरुको कुरा नसुनेको वादी महिलाले दुखेसो पोखे। अहिले आर्थिकरूपमा आत्मनिर्भर बन्ने र पुरानो पेशालाई त्याग्ने सोचमा वादी समुदायका महिला रहेका भए पनि आयस्रोतको गतिलो माध्यम नभएका कारण समस्या हुने गरेको वादी महिला बताउँछन्। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा प्रहरी
गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा प्रहरी
प्रचण्डको जवाफ वाईसीएललाई– झुकेर एकता गरिँदैन, जनयुद्ध छाडिदैन
प्रचण्डको जवाफ वाईसीएललाई– झुकेर एकता गरिँदैन, जनयुद्ध छाडिदैन
मंसिर १४ गते आइतवारको राशिफल यस्तो छ
मंसिर १४ गते आइतवारको राशिफल यस्तो छ
रामचन्द्र पौडेललाई लक्षित गरी बम प्रहार
रामचन्द्र पौडेललाई लक्षित गरी बम प्रहार
नवप्रवर्तनमुखी कृषि प्रणालीको खाँचो छ : प्रधानमन्त्री
नवप्रवर्तनमुखी कृषि प्रणालीको खाँचो छ : प्रधानमन्त्री
बोर्डिङ स्कुलको चर्को ‘फी’ विरुद्ध सरकारी वकीलले मुद्दा दर्ता गर्न मानेनन्
बोर्डिङ स्कुलको चर्को ‘फी’ विरुद्ध सरकारी वकीलले मुद्दा दर्ता गर्न मानेनन्
रुट र बटलरले शतक बनाउँदा पनि पराजित भयो इंग्ल्याण्ड, पाकिस्तान जितको ट्रयाकमा
रुट र बटलरले शतक बनाउँदा पनि पराजित भयो इंग्ल्याण्ड, पाकिस्तान जितको ट्रयाकमा
मनसुनपछिको विपद्‍मा परी ७४ जनाको मृत्यु, ८८ घाइते
मनसुनपछिको विपद्‍मा परी ७४ जनाको मृत्यु, ८८ घाइते
रुसले निर्माण गरेको कोरोना भ्याक्सिन स्पुतनिक भी नोभेम्बर महिनादेखि प्रयोगमा आउने
‘अवैज्ञानिक कर फिर्ता गर’
‘अवैज्ञानिक कर फिर्ता गर’

तपाईंले छुटाउनुभयो कि?