प्रचण्डको चुनावी एजेण्डाले दुई महिनामै निरन्तरता पायो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ११, २०७४
|
|
३७ पटक हेरिएको
Shares
प्रचण्डको चुनावी एजेण्डाले दुई महिनामै निरन्तरता पायो

सारांश

  • चितवन, माघ ११ ।
  • बाँदरमुढे घटना पीडितको समस्या समाधानसहित राहत एवं क्षतिपूर्तिका लागि गठित समितिले काम थालेको छ ।
  • माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालको संयोजकत्वमा गठित समस्या समाधान समितिले घटना पीडितको लगत संकलन गर्न थालेको हो ।

चितवन, माघ ११ । बाँदरमुढे घटना पीडितको समस्या समाधानसहित राहत एवं क्षतिपूर्तिका लागि गठित समितिले काम थालेको छ ।

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालको संयोजकत्वमा गठित समस्या समाधान समितिले घटना पीडितको लगत संकलन गर्न थालेको हो । समितिका सदस्य एवं बाँदरमुढे घटनापीडित संघर्ष समितिका अध्यक्ष मुक्तिप्रसाद न्यौपानेले हिजोको विवादलाई थाती राख्दै लगत संकलन थालिएको बताए ।

संघ तथा प्रदेशसभा निर्वाचनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पीडितपक्षले गरेको सहमतिअनुसार अहिले लगत संकलनको काम सुरु भएको हो । केही पीडित भने सो सहमतिमा सहभागी भएका थिएनन् । ‘विगतको हाम्रो लडाइँ जारी छ तर पनि राहतका लागि पहल त गर्नुप¥यो,’ अध्यक्ष न्यौपानेले भने, ‘अब हिजो वार्तामा भएका र नभएका यावत समस्यालाई लिएर छलफल अगाडि बढाउनुपर्छ ।’

गएको मंसिरमा माओवादी केन्द्र र पीडित परिवारबीच भएको तीनबुँदे सहमतिमा मृतकका परिवारमध्ये काम गर्न सक्नेलाई स्वरोजगार र नसक्नेलाई जीवनवृत्ति तथा बालबालिकालाई पठनपाठनको व्यवस्था गर्ने, घाइतेको औषधि उपचारसँगै काम गर्न सक्नेलाई रोजगार र स्वरोजगार तथा नसक्नेलाई जीवनवृत्तिको व्यवस्था गर्ने उल्लेख थियो । यस्तै घटनास्थलको १० बिगाहा क्षेत्रमा स्मारक र नमूना संग्रहालय बनाइने तथा माडीमा चिडिया घर निर्माण गरी पर्यटकीयस्थल बनाउने सम्झौतामा भनिएको थियो ।

यो पनि पढ्नुहोस्

बाँदरमुढे घटनाका पीडितसँग प्रचण्डले गरे तीनबुँदे सहमति

 

ती सहमति कार्यान्वयनका लागि पीडित, माओवादी केन्द्र र माडी नगरपालिका सम्मिलित एउटा समिति बनाएर छानबिन गरी सोही समितिको निर्णयअनुसार काम गर्न अहिले माडी नगर प्रमुख ढकालको नेतृत्वमा समितिले काम थालेको हो । सो समितिमा माओवादी केन्द्रका तीनजना र पीडितका तर्फबाट तीनजना सहभागी छन् । समितिले घर घर पुगेर पीडितको अवस्था र चाहनाबारे अध्ययन गरेर प्रतिवेदन बनाई केन्द्रमा पेश गर्ने स्थानीयवासी गोविन्द न्यौपानेले जानकारी दिए ।

२०६२ जेठ २३ गते दक्षिण चितवनको माडीस्थित बाँदरमुढे खोलामा यात्रुबाहक बसमा भएको बम विस्फोटमा ३८ मृत्यु र ७२ जना घाइते भएका थिए भने उपचारका क्रममा थप चारजना घाइतेको समेत ज्यान गइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?