प्रचण्डभन्दा म नै सिनियर हुँ, पार्टीको कार्यकारी अध्यक्ष पनि हुँ : केपी
सारांश
- काठमाडौँ।
- प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डभन्दा आफू सिनियर रहेको दावी गरेका छन् ।
- हालैको नेकपा सचिवालय बैठकले ओली र प्रचण्डलाई समान वरियता दिँदै प्रचण्डलाई कार्यकारी अधिकार दिने निर्णय गरेको भनिएपनि ओलीले यस्तो दावी गरेका हुन्।
काठमाडौँ। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डभन्दा आफू सिनियर रहेको दावी गरेका छन् । हालैको नेकपा सचिवालय बैठकले ओली र प्रचण्डलाई समान वरियता दिँदै प्रचण्डलाई कार्यकारी अधिकार दिने निर्णय गरेको भनिएपनि ओलीले यस्तो दावी गरेका हुन्। उनले पार्टी अध्यक्ष कार्यकारी नै हुने भन्दै कहिले आफू र कहिले प्रचण्डले बैठकको अध्यक्षता गर्ने पनि बताएका छन्।
शनिबार राति कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम ‘फायर साइड’ लाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले विगतमा सरकारको नेतृत्व आधाआधा गर्ने भएपनि अहिले त्यसलाई संशोधन गरेर पाँच वर्ष नै आफू प्रधानमन्त्री बन्ने समझदारी बनेको बताए । त्यसका लागि पार्टीमा बढी फोकस प्रचण्ड हुने गरी समझदारी गरेको ओलीको भनाइ थियो ।
‘अध्यक्ष कार्यकारी नै हुन्छ । दुबै कार्यकारी अध्यक्ष नै हो । यथार्थमा प्रथम म र द्धितीय उहाँ (प्रचण्ड) हुनुहुन्छ । विगतमा दुई अध्यक्ष भएपनि पार्टी बैठकको अध्यक्षता र सञ्चालन मैले नै गर्थेँ’, उनले भने, ‘अहिले म बढी सरकारको काममा लाग्नुपरेको छ । पहिले पार्टी र सरकारमा बराबर गर्ने पनि भनिएको थियो । बीचमा प्रधानमन्त्री फेर्दा फेरि अस्थिरता हुने देखिएकाले नयाँ समझदारी भएको हो ।’
उनले अहिलेको सन्दर्भमा स्थायित्व अति आवश्यक रहेको बताउँदै उनले अगाडि भने, ‘पाँच वर्षसम्म प्रधानमन्त्री नफर्ने निष्कर्षमा हामी पुग्यौँ । मैले प्रधानमन्त्रीको काममा केन्द्रीत हुने ठानेँ । सरकारको काम पनि मैले सल्लाह नै गरेर गर्छु । पार्टीको काम पनि प्रचण्डजीले मसँग सल्लाह गरेर गर्नुहुन्छ । सिनियारिटीको हिसावमा म सिनियर अध्यक्ष हो उहाँ अर्को अध्यक्ष हो ।’
‘मैले अध्यक्षता नगर्दा म कार्यकारी होइन भन्ने होइन । म पनि कार्यकारी हो उहाँ पनि कार्यकारी हो । पहिले मैलेमात्रै अध्यक्षता गर्थेँ, अब उहाँले पनि गर्नुहुन्छ । कहिलेकाहिँ मैले पनि गर्छु । उहाँले पनि गर्नुहुन्छ’, ओलीले भने ।
प्रचण्ड अरुले देख्दा अफ्ठ्यारो मान्छेजस्तो लागेपनि आफूलाई उनी सजिलो मान्छे लाग्ने उनले बताए । कतिले जंगलमा दुईवटा शेर÷बाघ हुनसक्दैन भनेपनि आफ्नो पार्टीलाई दुई पाइलटले सञ्चालन गर्ने गरेको दोहोर्याए । यद्यपि जसले जे भनेपनि पार्टीमा सिनियारिटी र जुनियारिटी भने हुने उनले स्पष्ट पारे ।
अर्को प्रसंगमा ओलीले कामलाई ताजगी र चलायमान बनाउन मन्त्री परिवर्तन गरिएको बताए । ‘हामी अनवरत रिडरसिप तयार गर्छौँ । यो शीर्ष नेतृत्वको कुरा होइन, मन्त्री सांसदको कुरा हो यसमा त पालो पनि गर्नुपर्छ । कामलाई ताजगी पनि दिनुपर्छ । काम गर्दा शिथिलता पनि आउँछ । त्यो नहोस् भनेर फ्रेसनेस चाहिन्छ ’ मन्त्री फेरबदल गर्नुको कारण खुलाउँदै उनले भने ।
यस्तै प्रचण्डकी बुहारी बिना मगरको कार्यसम्पादन कमजोर हुँदाहुँदै पनि किन हटाउनुभएन भन्ने प्रश्नमा उनले उत्तर दिन चाहेनन् । ‘जुन प्रश्न जसलाई लक्षित गरेर सोध्नु खोज्नुभएको हो उहाँलाई नै गर्दा हुने हो नि’ उनले भने । यद्यपि पार्टीमा थुप्रै नेताहरु भएकाले सबैलाई समेटेर अघि बढ्नपर्ने बाध्यता रहेको उनको भनाइ थियो।
यस्तै समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवसँग छलफल गरेरै मन्त्रालय परिवर्तन गरेको पनि प्रधानमन्त्रीले दावी गरे।
प्रतिक्रिया