प्रचण्डलाई प्रधानमन्त्री बनाउँदै सभामुख र राष्ट्रपतिको टुङ्गो लागिसकेको छ, कांग्रेसले आस नगरे हुन्छ : गोकर्ण विष्ट
सारांश
- काठमाडौं ।
- नेकपा एमालेका सचिव गोकर्ण विष्टले वर्तमान सत्ता गठबन्धनलाई गठबन्धन दल भित्र भएको सहमतिबाट तल माथि गर्ने छुट नभएको बताउनुभएको छ ।
- जनादेश अनुसार बनेको सत्ता गठबन्धनले राजनीतिक अस्थिरताको अन्त्यको लागि काम गर्नुपर्ने विष्टले बताउनुभयो ।
काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले वर्तमान सत्ता गठबन्धनलाई गठबन्धन दल भित्र भएको सहमतिबाट तल माथि गर्ने छुट नभएको बताउनुभएको छ ।
जनादेश अनुसार बनेको सत्ता गठबन्धनले राजनीतिक अस्थिरताको अन्त्यको लागि काम गर्नुपर्ने विष्टले बताउनुभयो । बुधबार प्रेस चौतारी नेपाल रामेछापले मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सचिव विष्टले भन्नुभयो ‘यो गठबन्धनलाई फेरी पनि स्थापित गर्ने र जनताको समस्या समाधान गर्ने तर्फ केन्द्रित गर्नुपर्ने छ ।’
नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिएको प्रति कांग्रेसकै नेताहरूले प्रश्न उठाइरहेका बताउँदै विष्टले त्यस प्रति एमालेले कुनै प्रतिक्रिया व्यक्त गर्नु आवश्यक नरहेको बताउनुभयो । प्रधानमन्त्रीलाई पर्याप्त बहुमतको आधार हुँदा हुँदै किन विश्वासका मत दियो भन्ने प्रश्नको जवाफ कांग्रेसले नै दिनु पर्ने विष्टले बताउनुभयो । ‘हामीले समर्थन गर्नुभएको प्रधानमन्त्रीले पर्याप्त विश्वासको मत प्राप्त गर्नुभएको छ, यो हाम्रोलागि गौरवकै कुरा हो’, उहाँले भन्नुभयो ।
माओवादी अध्यक्षलाई प्रधानमन्त्री बनाउँदा नै सभामुख र राष्ट्रपतिको विषय टुङ्गो लागिसकेकोले त्यसमा कांग्रेसले आस राख्नुको कुनै अर्थ नरहेको उहाँले प्रष्ट पार्नुभयो । ‘प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई समर्थन गर्दाकै बखत राष्ट्रपति, उपराष्ट्रपति, सभामुख लगायतका संवैधानिक पदमा कुन पार्टीले जिम्मेवारी लिने सन्दर्भ उच्च तहमा टुङ्गिएको छ, राजनीतिमा यस्ता खालका समझदारीले अर्थ राख्दछ’, उहाँले भन्नुभयो ।
मिलेर सरकार गठन गर्दा कहिलेकाहीँ साझेदार दल भित्र देखा परेका समस्याको जिम्मेवारी ठुलो दलको हैसियतले लिनु पर्ने बताउँदै विष्टले सरकारमा सहभागी भएका कतिपय मन्त्रीको विषयमा उठेको प्रश्नको जिम्मेवारी एमालेले पनि बेहोर्नु पर्ने बताउनुभयो । तर जनता प्रति सबै राजनीतिक शक्तिले आफैले गम्भीरताका साथ ध्यान दिनु पर्नेमा उहाँले जोड दिनुभयो । जनताले प्रश्न नउठाउने गरी व्यवहारमा ध्यान दिन उहाँले सत्ता साझेदार दल र मन्त्रीहरूलाई आग्रह गर्नुभयो ।
वर्तमान सरकारको मुख्य भूमिका संविधानको प्रभावकारी कार्यान्वयन, राजनीतिक स्थिरता र विकास रहेको उहाँले बताउनुभयो । यस तर्फ जिम्मेवार पार्टीको हिसाबले एमालेले आजको वस्तुगत परिस्थितिलाई बुझेर जिम्मेवार भूमिका निर्वाह गर्ने विष्टले बताउनुभयो ।
निर्वाचनले मिलेर काम गर भन्ने आदेश दिएको उहाँले बताउनुभयो । सत्ता साझेदार दलको न्यूनतम साझा कार्यक्रममा टेकेर सरकार अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
राजनीतिक अस्थिरताले देशमा उत्पन्न निराशा कम गर्नको लागि सबैको ध्यान जानु पर्ने उहाँले बताउनुभयो । सबै राजनीतिक दलले देश र समाजको परिवर्तनको लागि भूमिका निर्वाह गर्नु पर्नेमा उहाँको जोड छ । ‘आधारभूत वर्गको जीवनलाई माथि उठाउने र सामाजिक न्याय प्रदान गर्ने गरी यो सरकारले काम गर्नुपर्ने छ’, उहाँले भन्नुभयो ।
प्रतिक्रिया