प्रचण्डले चितवनमा दुई वटा रेल गुड्ने बताए

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २८, २०७४
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट दुई वटा रेल गुड्ने बताएका छन् ।
  • विजयी र्‍यालीमा सहभागी हुँदै भरतपुर ९ वडा कार्यालयमा पुगेका प्रचण्डले चितवनवासीको रेलको सपना पूरा हुने बताए ।
  • उनले भने, ‘लुम्बिनीबाट आउने एउटा रेल पूर्वतर्फ लाग्छ र अर्को रेल चितवनबाट काठमाडौँ जान्छ ।

पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट दुई वटा रेल गुड्ने बताएका छन् । विजयी र्‍यालीमा सहभागी हुँदै भरतपुर ९ वडा कार्यालयमा पुगेका प्रचण्डले चितवनवासीको रेलको सपना पूरा हुने बताए । उनले भने, ‘लुम्बिनीबाट आउने एउटा रेल पूर्वतर्फ लाग्छ र अर्को रेल चितवनबाट काठमाडौँ जान्छ ।अव चितवनबाट दुई वटा रेल गुड्छन् ।’

अध्यक्ष प्रचण्डले चुनावको बेला आफूले गरेको प्रतिबद्धताहरु पूरा गर्ने बताए । उनले भने, ‘मैले गरेको प्रतिबद्धताहरु अन्तिमसम्म पूरा गर्न युद्धस्तरमा होमिनेछु, तपाइँहरुले देखाउनुभएको विश्वासमाथि कुनै हालतमा कुठाराघात गर्ने छैन ।’

विजयीपछि तीन दिनको स्वागत कार्यक्रमबाट आफू निकै उत्साहित भएको बताउँदै अध्यक्ष दाहालले भने, ‘आफूले गरेको प्रतिबद्धता पूरा गर्न खरो रुपमा म उत्रनेछु । तपाइँहरुले देखाउनुभएको बाटोघाटोको समस्या पूरा गर्न निरन्तर लाग्नेछु ।’

धन्यवाद दिन घरदैलो

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूलाई विजयी बनाउने जनताको घरदैलोमा पुगेका छन् । चुनाव अघि भोट माग्न घरदैलो पुगेका प्रचण्ड अहिले भने तीनै जनताबीच चुनाव जिताएको भन्दै धन्यवाद दिन गइरहेका छन् । प्रचण्ड वुधबार माडी क्षेत्र पुगेका थिए । माडी क्षेत्रका स्थानीयले उनलाई चुनाव अघि गरिएको प्रतिबद्धता पूरा गर्न आग्रह गरे ।

चितवनमा आमसञ्चार प्रतिष्ठान

अध्यक्ष प्रचण्डले चितवनमा मिडिया एकेडेमी अर्थात् आमसञ्चार प्रतिष्ठान बनाउन प्रतिबद्धता जनाएका छन् । केही समय पहिलेदेखि नै पत्रकार महासंघ चितवन शाखाले यस जिल्लामा आमसञ्चार प्रतिष्ठान बनाउन माग गर्दै आएको थियो ।

पत्रकार महासंघ चितवनले गरेको निर्वाचित प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यहरुलाई विहिबार बधाई तथा शुभकामना कार्यक्रममा निर्वाचित सबै प्रतिनिधिहरुको उपस्थितिमा चितवन क्षेत्र नम्बर ३ बाट भारी मत ल्याई विजयी भएका प्रचण्डले चितवनमा आमसञ्चार प्रतिष्ठान बनाउने प्रतिबद्धता जनाएका थिए ।

‘म चितवन जिल्लामा आमसञ्चार प्रतिष्ठान बनाउन पहल गर्छु, अब बन्ने सरकारमा पनि म कुरा गर्छु र चितवनमै प्रतिष्ठान बनाउन प्रतिबद्धता गर्दछु’ चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित पूर्वप्रधानमन्त्री प्रचण्डले भने । उनले मिडियाले सहयोग नगरेको भए यो चुनाव सम्भव नभएको बताए । उनले भने, ‘वामपन्थीको सरकारले तपाइँहरुको मागलाई पूरा गर्छ, त्यसको लागि म पहल गर्छु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?