प्रचण्डले देखे, राजनीति र कर्मचारीमा छोटे राजाको प्रवृत्ति
सारांश
- काठमाडौं, १९ माघ ।
- पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले राजनीति र कर्मचारीमा पनि छोटे राजाको प्रवृत्ति कायम रहेको बताएका छन् ।
- शुक्रबार दिउँसो नेपाल ह्याचरी उद्योग संघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले त्यस्तो धारणा राखेका हुन् ।
काठमाडौं, १९ माघ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले राजनीति र कर्मचारीमा पनि छोटे राजाको प्रवृत्ति कायम रहेको बताएका छन् । शुक्रबार दिउँसो नेपाल ह्याचरी उद्योग संघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले त्यस्तो धारणा राखेका हुन् ।
“राजनीति र कर्मचारीमा पनि छोटे राजाको प्रवृत्ति कायम थियो”, प्रचण्डले भने, “त्यो संस्कारकै रुपमा हुर्कियो ।” हिजो राजा महाराजाहरुले तलैसम्म त्यस्तै सिष्टम बसाएको र यस्ता नीति नियममा परिवर्तन नगर्ने हो भने, पुरानो सोंचका विरुद्ध नलड्ने हो भने सुशासन कायम गर्न नसकिने प्रष्ट पारे । उनले भने, “यसका लागि राज्यको बलियो हात चाहिन्छ ।”
“घोषणा ठूलो कुरा होइन, कार्यान्वयन ठूलो कुरा हो”, अध्यक्ष प्रचण्डले भने, “अहिलेका ऐन, कानून, नीति, नियम र कर्मचारीको सोच्ने तरिका तपाई हामीसँग मिल्दैन ।” अध्यक्ष प्रचण्डले सुशासनबिना विकास र समृद्धि सम्भव नहुने बताउँदै समृद्धि र सुशासनका लागि राज्यको दह्रो हात बनाएर प्रभावकारी कार्यान्वयनमा जानुपर्ने आवश्यकता औंल्याए ।
“हामीले विकास र समृद्धिको कुरा गरेका छौं । तर, सुशासन बिना विकास र समृद्धि सम्भव छैन । राज्यको दह्रो हात बनाएर कार्यान्वयनमा प्रभावकारी रुपमा नजाने हो भने सुशासन स्थापित हुँदैन । सुशासन नभइकन विकास र समृद्धि हासिल गर्न पनि सकिँदैन ।”
“नेपाललाई आत्मनिर्भर बनाउन सकिन्छ । मुख्य रुपमा हामीमा इच्छाशक्ति हुनुपर्छ”, प्रचण्डले थपे, “पोल्ट्री व्यवसाय नेपालमा आत्मनिर्भर भएको छ । कृषि र कृषिमा आधारित क्षेत्रहरुलाई मात्रै आत्मनिर्भर बनाउन सक्यौं भने विकासको आधार त्यहीं हुन्छ । अब तपाई हामी सबैको ध्यान त्यतातिर जानुपर्छ ।”
प्रतिक्रिया