प्रदेश संसद् बैठकका लागि नमुना अभ्यास
सारांश
- काठमाडौं, २२ माघ- प्रदेश ४ को ऐतिहासिक पहिलो प्रदेश संसद् बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।
- सोमबार ११ बजे बस्ने संसद् बैठकका लागि आइतबार नमुना अभ्यास (रिहर्सल) समेत गरी तयारी पूरा गरेको हो ।
- ६० जना सांसदमध्ये ५७ जनाले संसद् भवनमै उपस्थित भएर रिहर्सल गरे ।
काठमाडौं, २२ माघ- प्रदेश ४ को ऐतिहासिक पहिलो प्रदेश संसद् बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको छ । सोमबार ११ बजे बस्ने संसद् बैठकका लागि आइतबार नमुना अभ्यास (रिहर्सल) समेत गरी तयारी पूरा गरेको हो । ६० जना सांसदमध्ये ५७ जनाले संसद् भवनमै उपस्थित भएर रिहर्सल गरे ।
पोखरा–लेखनाथ महानगरपालिका–३ नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाहलमा बैठक बस्दै छ । बैठकमा कुनै कमजोरी नहोस् भनेर आइतबार नै नमुना अभ्यास (रिहर्सल)समेत गरिएको प्रदेश मुख्यसचिव लक्ष्मण अर्यालले बताए । सोमबार हुने पहिलो प्रदेश संसद् बैठकको अध्यक्षता संसद्का ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठ गर्नेछन् आजको नयाँपत्रिका दैनिकमा खबर छ।
सभामुख र उपसभामुखको निर्वाचन तोकिँदै
प्रदेश ४ को सभामुख र उपसभामुखको निर्वाचन मिति सोमबार तोकिने भएको छ । पहिलो संसद् बैठक बस्नुभन्दा १ घन्टाअगाडि बस्ने तय भएको सर्वदलीय बैठकले सभामुख र उपसभामुखको निर्वाचन मिति तय गर्ने संसद् सचिवालयले जानकारी दिएको छ ।
प्रदेश संसद्को सुरक्षा दुई तहमा
प्रदेश संसद्को सुरक्षा प्रहरीले गर्ने गरी व्यवस्था मिलाइएको छ । संसद् भवनमा दुईतहको सुरक्षा व्यवस्था गरिएको छ । भित्र मर्यादापालकले र बाहिर प्रहरीले सुरक्षा दिनेछन् । सभाहलमा दर्शकदीर्घामा बस्ने दर्शक, आमन्त्रित व्यक्तित्व, प्रदेश सरकारका कर्मचारी र पत्रकार बस्ने गरी व्यवस्थापन भएको छ । संसद् सचिवालयमा मिडिया सेन्टर स्थापना गरिएको छ । संघीय संसद्मा गरिएका अभ्यासहरू सबै प्रदेश संसद्मा रहेको मुख्यसचिव लक्ष्मण अर्यालले जानकारी दिए ।
१६ जना मर्यादापालक खटिए
संसद्को पहिलो बैठकका लागि १६ जना मर्यादापालक खटिँदै छन् । जसमा १२ पुरुष र ४ महिला छन् । प्रहरी निरीक्षक लिलाराज लामिछानेको नेतृत्वमा मर्यादापालक टोली खटिएको छ । टोलीमा १ जना प्रहरी सहायक निरीक्षक र ७ प्रहरी हवल्दार र ६ जना जवान खटिँदै छन् । यसअघि ३० जना मर्यादापालक खटाउने तयारी भए पनि सामान्य अवस्थामा संसद् चल्ने अनुमान गरी संख्या घटाइएको हो ।
प्रतिक्रिया