प्रदेश ५ को प्रदेशसभा बैठक आज
सारांश
- काठमाडौं २६ मंसिर ।
- प्रदेश ५ को प्रदेश सभा बैठक बुधवार बस्दैछ ।
- गत साउन २४ गते प्रदेशसभाको बजेट अधिवेशन अन्त्य भएको थियो ।
काठमाडौं २६ मंसिर । प्रदेश ५ को प्रदेश सभा बैठक बुधवार बस्दैछ । गत साउन २४ गते प्रदेशसभाको बजेट अधिवेशन अन्त्य भएको थियो । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा अघिल्लो अधिवेशनमा पेश भई प्रदेश प्रमुखबाट प्रमाणिकरण भएका विधेयकसम्बन्धी पत्रहरुबारे जानकारी गराइने छ ।
प्रदेश सरकारले प्रदेशसभामा पेश गर्न चार वटा विधेयक दर्ता गराइसकेको छ । तीमध्ये दुईवटा विधेयक सम्बन्धित मन्त्रालयका तर्फबाट मन्त्रीहरुले पेश गर्ने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयले मंगलबार सार्वजनिक गरेको छ ।
आज बस्ने बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट पेश भएको प्रदेश ५ जाँचबुझ आयोग गठन, काम कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तथा सामाजिक विकास मन्त्रालयले संघसंस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मन्त्रीहरुले पेश गर्नेछन् ।
सभामुखले विषेश अधिकार समितिको सभापति र प्रदेश ५ को नामाकरण र स्थायी राजधानीसम्बन्धी विशेष समितिको संयोजक चयनबारे संसदलाई जानकारी गराउनेछन् ।
प्रतिक्रिया